नेपालले भियतनामविरुद्ध २२ र २५ मा खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटमा भियतनामसँग दुई खेल खेल्ने भएको छ ।
नेपाल रहेको समूह ‘सी’ बाट अन्तिम समयमा अफगानिस्तानले आफ्नो नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि प्यालेस्टाइनले पनि आफ्नो नाम फिर्ता लिएको थियो ।

समूह ‘सी’ को छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नयाँ तालिका अनुसार नेपाल र भियतनामबीचको पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ । खेल साँझ ६ बजेपछि हुनेछ । भियतनामको टोली चैत २० गते नेपाल आइपुग्ने एन्फाका प्रवक्त सुरेश शाहले जानकारी गराए ।
पहिलो राउन्डमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । अफगानिस्तान, प्यालेस्टाइन र श्रीलंकाले आफ्नो नाम फिर्ता लिएका छन् ।

उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो राउन्डको लागि छनोट भइसकेका छन् । दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । एक उत्कृष्ट दोस्रो हुने टोली तेस्रो राउन्डलाई छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।

छनोटका लागि एन्फाले एमडिएसी स्पोर्ट्स प्रालिसँग मार्केटिङ र ब्रोडकास्टिङको अधिकारको लागि सम्झौता गरिसकेको छ । सम्झौता रकम २० लाख रुपैयाँ रहेको छ । अनुमाति बजेट ४३ लाख रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
एन्फाले साधरण पारापिटतर्फ ३ सय र भिआइपीतर्फ १ हजार रुपैयाँ टिकटदर तोकेको छ । टिकट खल्ती एप र रंगशालामा रहने खल्तीका स्टलबाट लिन सकिनेछ ।

ओलम्पिक छनोटका लागि एन्फाले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै फागुन १९ बाट नै बन्द प्रशिक्षण शुरु गरिसकेको छ । टोलीलाई मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रशिक्षण दिइरहेका छन् । चोटका कारण डिफेन्डर गीता रानालाई टोलीमा समावेश गरिएको छैन ।

ओलम्पिक छनोटको तयारीकै लागि नेपालले गत मसहना भारतसँग उसकै भुमिमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल २–२ गोलको बराबरीमा सकिदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया