विराट गोल्ड कपको विजेताले २० लाख पाउने

विराटनगर । मोफसलको चर्चित र लोकप्रियमध्ये विराट गोल्ड कपको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । आयोजक विराट गोल्ड कप ट्रष्टले गत वर्षभन्दा पुरस्कार राशिमा वृद्धि गरेको हो । गत वर्षको विजेताले १५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

यसपल्टको विजेताले २० लाख १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलन गरी घोषणा गरेको छ । उपविजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गर्ने र हरेक दिनको प्लेयर अफ दि म्याचलाई ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

विराटनगरको शहीद रंगशालामा ९ चैतदेखि १६ चैतसम्म रात्रीकालिन समयमा हुने गोल्डकपको तयारी पनि पूरा भएको आयोजकले जनाएको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्ड कपको नाममा हुँदै आएको छ । यो छैटौं संस्करण हो ।

शहीद रंगशालाको मैदान मर्मत, प्यारापिट लगायतका कामहरु पूरा भइसकेको आयोजकले जनाएको छ । ८ दिनसम्म सञ्चालन हुने गोल्डकपमा नेपालका ए डिभिजन क्लबसहित भारत र भुटानको समान एक टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जावलाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब रहनेछन् ।

दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम झिकेपछि उनको स्थानमा ड्रक लायुल फुटबल क्लब भुटानलाई समावेश गरिएको आयोजकले जनाएको छ । केरलामा रहेको लुका सकर क्लब आउने पक्का छ । यो भारतमा दोस्रो डिभिजन खेलिरहेको क्लब हो ।

आयोजकले यसअघि नै गोल्ड कपको ट्रफी सार्वजनिक गरी विभिन्न स्कुल तथा कलेजमा प्रदर्शनी गरिसकेको छ । टिकेटिङ पार्टनरको रुपमा ‘खल्ती एप’सँग साझेदारी गरिसकेको आयोजकले जनाएको छ । क्वाटरफाइनल सम्मको २ सय र सेमिफाइनल र फाइनल खेलको ४ सय र ५ सय रुपैया निर्धारण गरिएको छ ।
गोल्ड कप आयोजना गर्न कम्तीमा २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको र राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकारका साथै विराटनगर महानगरपालिका र नीजि क्षेत्रबाट सहयोगको हुने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया