बित्थडचिरका अध्यक्षलाई अनेरास्ववियुले बुझायाे ११ बुँदे ध्यानाकर्षण पत्र

बझाङ । जिल्लाको बित्थडचिर गाउँपालिकामा मनोमानीरुपमा करार शिक्षक हटाएर विद्यार्थीको पढाई प्रभावित भएको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गाउँपालिका अध्यक्ष अमर महरको ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियुले शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष महरलाई ११ बुदे ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल शिक्षक भर्ना गर्नुपर्ने र विद्यार्थीहरुको पठनपाठनका लागि व्यवस्थापन मिलाउनुपर्ने माग राखेको छ ।


गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको मनोमानीले शैक्षिक क्षेत्रमा नकारात्मक विकृति पैदा गरेकोे र कर्मचारी भर्नामा नीति नियम विपरीत स्वच्छाचारिता अपनाएको अनेरास्ववियुले आरोप लगाएको छ । अनेरास्ववियुका जिल्ला सचिव गोविन्द ढाँट, प्रदेश कमिटी सदस्य योगेन्द्र बोहरा, लगायतको टोलीले गाउँपालिका अध्यक्ष महरलाई ध्यानार्कषण पत्र बुझाएको हो ।

अनेरास्ववियुले आफ्ना मागहरु तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने बाध्य हुने चेतावनी दिएको छ । अनेरास्ववियुले हटाएका शिक्षकहरु तत्काल भर्ना गर्नुपर्ने, स्वयंसेवक शिक्षकहरुको पारिश्रमिकको उचित व्यवस्थापन गर्नुपर्ने, सुनकुडा माविमा गाणित र विज्ञान विषयको पठनपाठन तत्काल व्यवस्थापन गर्नुपर्ने, भगवती माविमा लेखापाल तत्काल भर्ना गर्नुपर्ने जस्ता माग राखेको छ ।

यस्तै राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमहरुमा भएको कमिसनको लेनदेन स्पष्ट पार्नुपर्ने, आवश्यकताको आधारमा योजनाहरु छनोट गर्नुपर्ने, प्राविधिक कर्मचारी भर्नामा देखिएको विवाद तत्काल समाधान गर्नुपर्ने, सुनकुडा क्याम्पसको परीक्षा केन्द्रको व्यवस्थापन गर्नुपर्ने, उपभोक्ता समितिमा स्वच्छाचारी ढंगले कार्यकर्तालाई सिफारिस गर्ने र सुनकुडाधारी बागथाला सडकको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने जस्ता मागहरु अघि सारेर ध्यानार्कषण गराइएको छ । ध्यानाकर्षण पत्र बुझ्दै पालिका अध्यक्ष महरले सम्बन्धित सरोकारवालसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया