‘विकसित देशको कसिलो मौद्रिक नीतिबाट कम विकसीत मुलुक प्रभावित’

काठमाडौंँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेले अर्थमन्त्री पौडेलले विकसित देशहरूले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको बताएका छन । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरबीच बुधबार भेटवार्तामा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन । उनीहरु बीच नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अर्थ मन्त्री पौडेलले गतवर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइएको स्मरण गरेका थिए ।

नेपालले सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको उनले बताए ।

उनले विश्वको साझा समस्याको रूपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेको बारे पनि प्रशासक पावरलाई जानकारी गराएका थिए । अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरुको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए । उनले निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोतको विकासका क्षेत्रमा दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको धारणा राखेका थिए ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा बताएका थिए । नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उनको भनाइ छ । सो अवसरमा प्रशासक पावरले अमेरिकासँग नेपालमात्र सरकार–सरकारको तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताए ।

प्रतिक्रिया