खरेल र ज्ञवाली पुरस्कृत

काठमाडौं । नेपाली मुक्तक क्षेत्रमा योगदान दिएको भन्दै मुक्तककारद्वय यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत भएका छन् । नेपाल मुक्तक प्रतिष्ठानले दशौं वार्षिकोत्सवको अवसर पारेर ५१ हजार राशीको ‘भीमदर्शन मुक्तक पुरस्कार’ मुक्तककार खरेल र ३१ हजार राशीको ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ ज्ञवाली (रुपन्देही) लाई प्रदान गरिएको हो । दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्वकुलपति वैरागी काँइलाले प्रदान गरे ।

दुवै पुरस्कारका संस्थापक तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा भएको कार्यक्रममा सो संस्थाले प्रकाशित गरेको ‘स्मारिका’ पनि विमोचन गरिएको थियो । कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले मुक्तक रचना विधान र पुरस्कृत व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

यसैगरी, कार्यक्रममा प्रमुख अतिथि काँइला, अध्यक्ष रामकाजी कोने, पुरस्कृत खरेल र ज्ञवालीले मन्तव्य राखेका थिए । यसैगरी मुक्तककार निर्मलरमण पराजुली, रामजीप्रसाद आचार्य, विष्णु विवश पोखरेल र सुनिल अधिकारीले समेत मुक्तकका बारेमा चर्चा गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा संस्थाका सदस्य राधेश्याम लेकाली, सल्लाहकार उषा शेरचनले संस्था र पुरस्कृत व्यक्तित्वका बारेमा चर्चा गरे ।

प्रतिक्रिया