माघ १९ ले मेरो जीवनमा उछिट्याएको कालो

जयप्रकाश आनन्द

हातको औँलामा लाउनुभएको औँठी घुमाउँदै देउवाजीले अघिल्लो साँझ राजासँग भएको कुराकानी सुनाउनुभयो । भ्रष्टाचार बढेर संसदीय व्यवस्था नै कमजोर भएकोमा राजा ज्ञानेन्द्र बडो चिन्तित छन् रे ! अख्तियार कारबाही गर्न उद्यत भएको छ रे ! तपार्इं चार÷पाँच जना मन्त्रीहरूले राजीनामा गरिदिनुप¥यो भन्ने राजाको सुझाव छ रे ! राजाले भनेको रे ‘पिएम, आईदर दे रिजाइन और दे सुड प्रिपेयर टु फेस प्रिजन !’ देउवाजीमार्फत सुनेको राजाज्ञाबाट म स्तब्ध भएको थिएँ ।

साल त विसं ०५९ हो । गते याद भएन, शुक्रबारको दिन थियो । हरेक बिहीबारको दिन अपरान्ह प्रधानमन्त्री र राजाका बीच भेट हुने नियमितता थियो । यसको भोलिपल्टको कुरा हो । प्रधानमन्त्री शेरबहादुर देउवाको बोलाहटमा हामी केही मन्त्रीहरू बालुवाटार पुगेका थियौँ । खुमबहादुर खडका, चिरञ्जीवी वाग्ले, विजय गच्छदार, बलबहादुर केसी र म, पूर्णबहादुर खडका पनि आइपुग्नुभएको थियो ।

हातको औँलामा लाउनुभएको औँठी घुमाउँदै देउवाजीले अघिल्लो साँझ राजासँग भएको कुराकानी सुनाउनुभयो । भ्रष्टाचार बढेर संसदीय वयवस्था नै कमजोर भएकोमा राजा ज्ञानेन्द्र बडो चिन्तित छन् रे ! अख्तियार कारवाही गर्न उद्यत भएको छ रे ! तपार्इं चार÷पाँच जना मन्त्रीहरूले राजीनामा गरिदिनुप¥यो भन्ने राजाको सुझाव छ रे ! राजाले भनेको रे ‘पिएम, आइदर दे रिजाइन और दे सुड प्रिपेयर टु फेस प्रिजन !’ देउवाजीमार्फत सुनेको राजाज्ञाबाट म स्तब्ध भएको थिएँ ।

हामी सबै स्तब्ध भयौँ । केही सातादेखि हामी राजा र देउवाका हिमचिम विचारिरहेका थियौँ । नेपाली कांग्रेसको विभाजनमा सहभागी भएर हामीबाट ठूलो गल्ती भएको आभास हामीलाई भइरहेको थियो । राजा र देउवाका बीच बन्न लागेको यस गठबन्धनलाई मलजल पु¥याउनु हुन्न भनेर हामी मध्येका केही मन्त्री मित्रहरूले राजीनामा दिन मानेनौँ । चिरञ्जीवीले त देउवालाई षड्यन्त्रकारी भन्दै संसदीय व्यवस्था नै खतम बनाउने राजाको प्यादा भएको आरोप लगाए ।

दिन नबित्दै चिरञ्जीवी वाग्लेलाई अख्तियारको पत्र आयो । यसको संकेतका साथ दरबारीया पत्रिकाहरूले पहिले नै समाचार दिएको थियो । महिनाहरू नबित्दै राजाले देउवालाई असक्षम भनी पदच्यूत गरे । हामी सबै अख्तियारको फन्दामा प¥यौँ । बाग्लेजी पछि म, र खुमबहादुरजी शाही फन्दामा पारियौँ । केही साथीहरू यस चक्रब्यूहबाट निस्के, राजासँग कुरा मिलाए । यो बुद्धिमानी ठिक थियो ।

मैले त्यस अवसरको उपयोग गर्न जानिनँ । राजनीतिक जीवन नै समाप्त पार्नेगरी भ्रष्टाचारको मुद्दा चलाइयो । तैपनि सोचे–एक न एक दिन शाही सत्ताको अन्त्यसँगै मेरो यस कालरात्रीको पनि अन्त्य हुन्छ भन्ठानेको थिएँ । तर त्यसो भएन, शाही सत्ताको समाप्तिपछि स्वयं सर्वाधिकारपति गिरिजाबाबुले समेत हामीउपर भएको शाही उपक्रमलाई विशुद्ध भ्रष्टाचारको निराकरणकै रूपमा लिनुभयो । जल प्रपातमा भाँस्सिदाँको झैं गिरिजाबाबुतिर हात हल्लाई हल्लाई उद्धारका लागि चिच्याइरहेँ, क्रमशः क्षीण हुँदै गएको मेरो र मै जस्ताको आवाज उहाँबाट श्रवण भएन । टेक्ने समाउने कतै ठाउँ नभएको म नराम्रो गरी फसेँ । मुद्दा झेलेँ । ‘अन्त भला तो सब भला’ भने झैं अपमान र अवसादका केही वर्षपछि विशेष अदालतले मलाई सफाइ दियो । हिसाब गरेर मेरो सम्पति आयभन्दा बढी नरहेको भन्यो । राजनीतिका लागि मन मरी नै सकेको थियो । तैपनि लाग्यो, अब कमसे कम इज्जतका साथ बाँच्न त पाइएला ।

मुलुककै इतिहासमा पहिलोपटक संविधानसभाको निर्वाचन हुने भयो । अनिच्छापूर्वक उम्मेदवारी दिए । म फेरी चुनाव जितेँ । सप्तरी जिल्लाबाट ०५१ र ०५६ पछि लगातार तेस्रोपटक बिजयी भएको थिए । जनताले न्याय गर्नुभएको थियो । मैले त राजनीति गर्नेको लागि अदालत वा न्यायालय भन्दा पनि जनताको मतदानलाई नै न्याय ठानेको थिएँ ।

मैले नगर्नुपर्ने काम गर्न पुगेँ । पुष्पकमल दाहाल प्रचण्डको पहिलो गणतान्त्रिक सरकारमा मन्त्री भएँ । यो अर्को ठूलो गल्ती मैले गरेँ । यसपछि मैले नाइँ भन्दाभन्दै प्रम प्रचण्डजीले संवैधानिक परिषद्को सदस्य तोकिदिनुभयो । यो परिषद्ले संवैधानिक पदहरूमा नियुक्तिको सिफारिस गर्दछ ।
पहिलो बैठकमै सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्तिको सवाल आयो । प्रम प्रचण्डले मलाई खिलराज रेग्मीको नाम सिफारिस गर्न भन्नुभयो । न्यायाधीशहरूको वरीयता क्रममा खिलराज तेस्रो हुनुहुन्थ्यो । पहिलोमा मीनबहादुर रायमाझी र दोस्रोमा अनुपराज शर्मा हुनुहुन्थ्यो । रामचन्द्र पौडेल संसद्मा विपक्षी दलको नेता भएकोले संवैधानिक परिषद्को सदस्य हुनुहुन्थ्यो । उहाँ अनुपराज शर्माको पक्षमा रहनुभएको थियो । प्रचण्डजीले मलाई खिलराज रेग्मीसँग भेट गराउनुभयो र उहाँ पछिसम्म सहयोग गर्नुहुने भएकोले प्रधानन्यायाधीशमा सिफारिस निम्ति सहयोग माग्नुभयो ।

म ठूलो दबाबमा परेँ । पहिलो दिनको बैठकमा म जानाजान अनुपस्थित भएँ, फलतः सो बैठकबाट निर्णय हुन सकेन । प्रचण्डजीले चित्त दुखाउनु भयो । मैले उहाँलाई सम्झाउने प्रयत्न गरेँ । अन्ततः मेरा हठका कारण पहिलो वरीयतामा रहनुभएका मीनबहादुर रायमाझीको नाम नै सिफारिश भयो । रामचन्द्र पौडेलजीले त अनुपराज शर्मालाई सिफारिस गरी बीचको बाटो रोजौँ भन्नुभयो । तर, परम्परा मिचिएपछि अनुपराज किन ? खिलराज किन नाई ? यसको हेक्का पछि मात्र उहाँलाई भयो । मीनबहादुरजीकै नाम सिफारिस भयो । त्यस बखत सर्वोच्चका केही न्यायाधीशहरूले मलाई बडो प्रशंसाका साथ धन्यवाद दिनुभएको थियो, मीन बहादुरजीको भावुक धन्यवाद म आज पनि संझिरहेको छु । अनुपराज जी रिसाउनु भएन, तर खिलराजजी रिसाएको कुरा सुन्न थालियो ।

मीनबहादुरजी, अनुपराज शर्मा र तत्पश्चात उनै खिलराज रेग्मी प्रधानन्यायाधीश हुनुभयो । रेग्मीको नजरमा मैले यसअघि प्रधानन्यायाधीश बन्नमा सहयोग नगरेको कुरा मेट्न सकेन । बास्तवमा उहाँले चाहेको बेला प्रधानन्यायाधीश बन्नुभएको भए रेग्मी नेपालकै इतिहासमा सबभन्दा लामो समयसम्म सो पदमा रहने व्यक्ति दरिनुहुन्थ्यो । यसबाट उत्पन्न दुःखलाई उहाँले बिर्सनु भएन ।

मधेसी मोर्चा र माओवादीको सरकार गठन भयो । विशेष उद्देश्यका खातिर यो सरकार बनेको थियो । म पनि मन्त्री भए । मेरो दुर्भाग्य, म फेरि संवैधानिक परिषद्को सदस्यमा मनोनीत भए । प्रम डा.बाबुराम भट्टराईले मलाई मनोनीत गर्नुभएको थियो । प्रधानन्यायाधीश खिलराज रेग्मी पनि सदस्य हुनुहुन्थ्यो । मेरो मुद्दा पुनरावेदनको क्रममा सर्वोच्च अदालतमा विचाराधीन थियो । न्यायाधीश तपबहादुर मगरको इजलासमा हेर्दाहेर्दैको स्तरमा थियो मेरो मुद्दा । मेरो समेतको उपस्थितिमा संवैधानिक परिषद्को दुई वटा बैठक भइसकेको थियो । कुनै अन्यथा प्रश्न उठेको थिएन । मलाई सबै कुरा सहज लागेको थियो ।

तर, मेरो निम्ति सहज रहेन । बिना मौसमको बाँसुरी बजेकोझै अंग्रेजी समाचार दैनिक ‘दी हिमालयन टाइम्स’को मुख्य पृष्ठमा यौटा समाचार छापियो । समाचारको सार थियो– ‘जेपी गुप्ताको भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ र यिनै जेपी गुप्तासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश संवैधानिक परिषद्मा बस्नुपरेको छ । यसबारे प्रधानन्यायाधीशले प्रधानमन्त्रीसँग आफ्नो असन्तुष्टी जनाउनुभएको छ ।’ मैले यस समाचारका वारेमा ‘दी हिमालयन टाइम्स’मा बुझे, प्रधानन्यायाधीशका प्रेस सल्लाहकार थिए एक जना विमल नामका, उहाँले नै सो समाचार दिएको र छापिदिन अनुरोध गरेकोले छापिएको बताए ।

म फेरि जालझेलमा पर्न लागेको थिएँ । मेरो मुद्दा अदालतमा विचाराधीन रहेकै बेला यसअघि म संवैधानिक परिषद्को सदस्य थिएँ । केदार गिरी प्रधानन्यायाधीश हुनुहुन्थ्यो । त्यसबखत यस्तो सवाल उठेको थिएन । ऊ बेला न्यायाधीश खिलराजजीले पनि असहज मान्नुभएको थिएन । उहाँले त मलाई भेटेरै आफ्नो नामको सिफारिसका लागि अनुनयविनय गर्नुभएको थियो । यतिबेला उहाँकै शहबाट यो प्रश्न उठेकोमा मलाई कुनै द्विविधा थिएन । मैले आसन्न संकटबाट डर मानेँ । यस बिषयमा कुनै झंझट लिन चाहिनँ ।

प्रधानन्यायाधीशको अनिच्छा हुदाँहुदै म त्यस परिषद्मा बसिरहन उचित देखिनँ । प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर प्रधानन्यायाधीशजीको इच्छा जान्न अनुरोध गरेँ र भने यदि रेग्मीजी चाहनुहुन्छ भने म राजीनामा दिन्छु, कृपया सोधीदिनोस् । दुई दिनपछि प्रमजीलाई भेटे, उहाँले रेग्मीजीको आशय भन्नुभयो । मैले संवैधानिक परिषद्बाट राजीनामा दिएँ ।

तपबहादुर मगर स्वच्छ छविको तथा कसैप्रति पूर्वाग्रह नराख्ने न्यायाधीश भनी चिनिनुहुन्थ्यो । उहाँकै बेन्चमा मेरो मुद्दा चल्दै थियो । हुनुपर्ने सबै कुरो भइसकेको थियो । वादी प्रतिवादीको बहस जिकीर, प्रमाण बुझ्ने सबै भइसकेको थियो । निसु भन्छन् नि, निर्णय सुनाउने त्यति मात्र बाँकी थियो । न्यायाधीश तपबहादुरजीको अवकाश हुन धेरै बाँकी थिएन । निर्णय सुनाउने भनी तोकिएको पेसी सोही दिनको दैनिक कज लिस्टबाट हट्न थाल्यो । लगातार तीनपटक निर्णय सुनाउने पेसी स्थगित गरियो । प्रधानन्यायाधीश खिलराज रेग्मीले तपबहादुर मगरबाट फैसला सुनाउन दिनुभएन । निरीह स्वरमा फाँटबाला उपरजिष्ट्रारले मलाई बताए । अन्ततः न्यायाधीश तपबहादुर मगरले फैसला सुनाउन नपाइकनै पदावधि समाप्त भई अवकाश पाउनुभयो । म पुरै न्यायिक चक्रव्यूहमा परिसकेको थिएँ ।

खिलराज रेग्मीजीले मेरो मुद्दा न्यायाधीश सुशीला कार्कीको डिबिजन बेन्चमा तोक्नुभयो । सम्पूर्ण कारबाही सकिएको र निसुको तहमा रहेको मुद्दालाई अब नयाँ न्यायाधीशले कसरी अगाडि बढाउनुहुन्छ ? यस प्रश्नमा दुबै पक्षका बीच छलफल हुन नपाउँदै न्यायाधीश सुशीलाजीले सुरूदेखि नै पुनः मुद्दा हेर्ने आदेश दिनुभयो । वास्तवमा मेरा मुद्दा सुशीलाजीले हेर्नु उचित थिएन । मेरो र न्यायाधीश हुनु पहिले सुशीलाजीको राजनीतिक आस्थाको आधारमा, समान राजनीतिक दलमा संलग्नताको आधारमा र उहाँकी पति दुर्गा सुवेदीसँगको मेरो राजनीतिक वैरभावका कारणले मैले त्यसो भनेको थिएँ । सुशीलाजी न्यायाधीश हुनुभन्दा केही पहिले कान्तिपुर दैनिकमा एक लेख प्रकाशित गराउनुभएको थियो ।

भ्रष्टाचारका मुद्दा लगाइएकाहरूको बडो गैरन्यायिक आलोचना गरिएको थियो, यहाँसम्म कि यस्ता मानिसहरूको पक्षमा कुनै वकिलले बहस पैरवीसमेत गर्न नहुने र छोटो प्रक्रियाबाट फैसला गरी जेल पठाउनुपर्ने लेख्नुभयो । यस्तो गैरन्यायिक चरित्रको अभिव्यक्ति दिने व्यक्ति स्वयं न्यायाधीश भएर सोही मुद्दा हेर्नु पर्दा प्रिजीड्यूसु हुन्छ । यसर्थ, सुशीलाजीले यो मुद्दा हेर्नु हुन्न भन्ने मेरो अनुरोध सहितको जिकीर थियो ।

मुद्दा किन नहेर्नु ? उहाँले भन्नुभयो म ‘प्रतिवादीसँग उहाँको हाडनाता छैन । फेरी जयप्रकाशले भनेर के नै हुन्छ र ? यो मुद्दाको फैसला मैले नै गर्नुपर्ने हुन्छ ।’ मसँग कुनै उपाय थिएन । शिर निहुराएर मैलै उहाँलाई न्यायकर्ता स्वीकार गरे । नागरिक दैनिक पत्रिकाको वार्षिकोत्सव थियो । सोल्टी होटेलको बडो ठूलो कार्यक्रममा सञ्चारमन्त्री भएकोले पनि होला, म पनि आमन्त्रित थिए । मेरो मुद्दामा वुरूदेखि नै जोडिनु भएका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कैयौँ मानिसका सम्मुख मलाई भन्नुभयो– ‘सुशीलाजीले किमार्थ पनि तपाईंलाई न्याय गर्नुहुन्न । तपार्इंलाई हराउनका निम्ति नै यो मुद्दा सुशीलाजीलाई जिम्मा दिइएको हो ।’ तर, सुशीलाको घोर पूर्वाग्रहको घेराबाट मेरो मुद्दालाई बाहि¥याउने कुनै उपाय मसँग थिएन । जे आशंका थियो, सोही भयो । मैले विशेष अदालतबाट सफाइ पाएको मुद्दालाई उहाँले उल्ट्याई दिनुभयो । कुनै पनि बहालबाला मन्त्रीलाई जेल पु¥याउने श्रेय उहाँले लिनुभयो । त्यस दिन विवेककी देवी भनी अपेक्षित सुशीलाजी प्रतिशोधकी चण्डी बन्नुभयो । (फेसबुकबाट)

प्रतिक्रिया