देवशीलालाई गोरखपुरबाट अयोध्या पठाइयो

गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला आज गोरखपुरबाट अयोध्यातर्फ पठाइएको हो ।

धार्मिकविधि अनुसार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले गोरखपुरमा देवशिलाको हबन पूजाआजा गरेका थिए । मंगलबार राति गोरखपुरस्थित गोरखनाथ मन्दिरमा ल्याइएका शिलालाई स्थानीयवासीले स्वागत गरेका छन् ।

आज बिहान गोरखपुरमा गरिएको हबनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल भारतबीचको सांस्कृतिकसम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

उनले यो कार्य सफल पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताए । शिला बिदाई कार्यक्रममा गोरखनाथ मन्दिर प्राङ्गढमा स्थानीय तथा श्रद्धालुको उपस्थिति रहेको थियो ।

शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वरदास, राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायत हिन्दू स्वयम्सेवक संघ, विश्वहिन्दू परिषद् नेपालका पदाधिकारीको सहभागीता रहेको छ ।

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते आइतबार शिला अयोध्यातर्फ पठाइएको थियो । शिला आज साँझ अयोध्या पुग्नेछ । त्यहाँ नेपालका तर्फबाट कांग्रेस नेता निधि र जानकी मन्दिरका महन्थ दासबाट शिला हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया