फोहोरबाट मल बनाउने बालेन शाहको कथा

गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका उम्मेद्वार बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका उम्मेद्वार हर्क साङ्पाङले देशव्यापी चर्चा पाएका थिए । अन्य उम्मेद्वारहरूले हङकङ र सिंगापुरजस्तै बनाउने भाषण गरिरहँदा धरानका साङपाङ्ले खानेपानीको व्यवस्थालाई मुख्य एजेन्डाका रूपमा अघि सारे । काठमाडौंका बालेन्द्र शाहले फोहोरको समस्याको स्थायी समाधान गर्ने एजेन्डा अघि सारे । उनीहरूले सानदार मत ल्याएर चुनाव जिते । चुनाव जित्नासाथ धरानका हर्क साङपाङ् खानेपानीको समस्या समाधान गर्न तत्काल जुटे । केही महिनामै धरानमा पानीको आपूर्ति गरे । यता काठमाडौंका नवनिर्वाचित मेयर शाहले कार्यभार संहाल्दै गर्दा फोहोर व्यवस्थापनको मुद्दा हदैसम्म गिजोलिएको थियो । डम्पिङ साइडमा फोहोर लैजान अवरोध गरिएका कारण काठमाडौं सहर बाहिरै निस्कन नसक्ने गरी दुर्घन्दित बनेको थियो । धेरै मिहिनेतका साथ मेयर शाहले डम्पिङ साइडको समस्या समाधान गरे । काठमाडौंको फोहोर व्यवस्थापनको समस्या धेरै हदसम्म सुल्झिएको छ । तर अहिले भइरहेको समस्या समाधान अस्थायी हो । टालटुल मात्रै गरिएको हो । स्थायी समाधान भनेको फोहोरबाट कम्पोस्ट मल तथा ग्याँस उत्पादन गर्ने नै हो । यही प्रतिबद्धताका साथ शाहले चुनाव जितेका हुन् । फोहोरबाट कम्पोस्ट मल तथा ग्याँस उत्पादन गर्ने विधि तथा प्रतिवद्धतालाई शाहले अत्यन्त सजिलोसँग जनतासमक्ष प्रस्तुत गरेका थिए । जनता ढुक्क थिए ।

चुनावमा भोट माग्ने क्रममा बालेन्द्रले भनेका थिए, ‘कुहिने र नकुहिने फोहरलाई स्रोतबाटै छ्ट्याइनेछ । कुहिने फोहरबाट कम्पोस्ट मल बनाइनेछ, काठमाडौं उपत्यका आसपासमा फराकिलो जमिन भाडामा लिएर कम्पोस्ट मल प्रयोग गरी अग्र्यानिक तरकारी उत्पादन गरिनेछ, त्यो तरकारी काठमाडौं महानगरवासीलाई सुलभ मूल्यमा उपलव्ध गराइनेछ । नकुहिने फोहोर कवाडीका रूपमा बिक्री गरिनेछ, कवाडीका रूपमा बिक्री नहुने फोहोरलाई जलाएर सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ बनाइनेछ ।’ यति मात्रै होइन काठमाडौंमा उत्पन्न हुने फोहोरबाट वार्षिक कति आम्दानी गर्न सकिन्छ ? कति जनाले रोजगारी पाउँछन् ? भन्ने आँकडा पनि निकै नै आकर्षक रूपमा प्रस्तुत गरेका थिए । तर समाचारमा आएअनुसार अहिलेसम्म काठमाडौं महानगरपालिकाले यो योजना बनाएकै छैन । मेयर शाहले पदभार संहालेको आठ महिना अर्थात करिब १५ प्रतिशत समय बितेको छ । तर फोहोरबाट कम्पोस्ट मल तथा ग्याँस उत्पादन गर्ने सन्दर्भमा काठमाडौं महानगरपालिकाले काम थालनी गरेको छ वा छैन ? थालनी गरेको छ भने अहिलेसम्म कति प्रगति भयो ? यदि थालनी गरेको छैन भने के ले अवरोध पु¥यायो ? भन्ने कुरा जनताले थाहा पाउनुपर्ने होइन र ?

फोहोरबाट कम्पोस्ट मल बनाउने योजनाको कार्यान्वयन मेलम्ची खानेपानी आयोजनाको कथा या बुढी गण्डकी जलविद्युत् आयोजनाको कथाजस्तो जटिल होइन । किनकी अन्य पालिकाहरूले छोटो अवधिमै यो काम सम्पन्न गरेका छन् । उदाहरणका लागि भक्तपुर नगरपालिकाले अघिल्लो कार्यकालमै फोहोरबाट कम्पोस्ट मल बनाउने योजना कार्यान्वयन गरिसकेको थियो । मध्यपुर ठिमी नगरपालिकाले केही महिनाअघिदेखि फोहोरबाट कम्पोस्ट मल बनाउन थालेको छ । स्याङ्जाको वालिङ नगरपालिकाले फोहोरबाट बनाइएको कम्पोस्ट मल बिक्री गरेर वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेको छ ।

दाङको घोराही नगरपालिकाले पनि कम्पोस्ट मल बनाएर बिक्री गर्न थालेको छ । काठमाडौं भित्रै पनि भृकुटी मण्डप व्यापार संघले फोहरबाट कम्पोस्ट मल उत्पादन गर्न थालिसकेको छ । घरायसी फोहोरबाट कम्पोस्ट मल बनाउने प्रविधि खासै जटिल पनि छैन । घरघरमा उत्पादन हुने प्रांगारिक फोहोरलाई जम्मा गरिन्छ । त्यसमा जंगलका पात पतिंगर, रातो माटो, भुस लगायतका पदार्थहरू मिसाएर निश्चित तापक्रममा निश्चित समय राखेपछि मल तयार हुन्छ । काठमाडौं उपत्यकाको तापक्रममा २ देखि ३ महिनामा यो तयार हुन्छ । यसरी उत्पादन हुने मलमा खेती गर्ने माटोको लागि आवश्यक चार वटै पदार्थ सन्तुलित रूपमा रहने भएकोले उत्पादनलाई बढाउने काम मात्रै गर्दैन, बोटविरुवामा विषादी नै प्रयोग गर्नु नपर्ने अवस्था बनाउँछ ।

प्रतिक्रिया