शहादतको साँचो मर्म र सार्थक श्रद्धाञ्जली

सन्दर्भ सहिद दिवस

लोकनारायण सुबेदी

नेपाली कांग्रेसको बैरगनिया सम्मेलनको निर्णयबाट उत्साहित भएर आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी अझ सक्रिय भएर होमियो । त्यो सशस्त्र संघर्ष अझ बढ्दै र व्यापक जनताको समर्थन बटुल्दै जान थालेपछि राणाशासकले दमन, जालझेल र छलकपट कुनै किसिमले पनि सत्तामा टिकिरहन सक्ने स्थिति रहेन । २००७ फागुन ७ गते देशमा प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । त्यतिबेला नै दिल्लीको शरणबाट स्वेदश फर्केका राजा त्रिभुवनले ‘अब देशको शासनभार जनता आफैँले बनाएको विधान अनुसार चल्छ’ भन्ने घोषणा गर्नुपरेको थियो ।

आफ्नो देश र जनताको अग्रगामी उत्तरोत्तर प्रगति र समृद्धिको निमित्त सचेत र समर्पित भएर आफ्नो घाँटीमा हाँसीहाँसी फाँसी लगाउन तयार हुने र छातीमा तातो गोली थापेर निर्भीक र निडरताका साथ प्राणोत्सर्ग गर्ने महान सहिदहरूको सम्झनाले मात्रै पनि देश र देशवासीको शिर गर्वले उच्च हुन्छ ।

नेपाली समाजलाई एकतन्त्री जहानियाँ निरंकुशताको अँध्यारोबाट जनतन्त्रको उज्यालो दिशामा अग्रसर गराउन उच्च आदर्शका साथ जीवन अर्पण गर्ने ती वीर तथा अविस्मरणीय विभूतिहरूप्रति नतमस्तक भएर जति नमन गरे पनि वास्तवमा त्यो कमै हुन्छ । किनकि सहिदहरूको त्यो त्याग र बलिदान अत्यन्तै महान् र अमूल्य छ र रहिरहन्छ । त्यस गौरवमय शहादतको ऊर्जालाई सामान्य र हलुकारूपमा कसैले पनि लिनु हुँदैन र सच्चा देशभक्तले लिन पनि सक्दैन । उसो त थप छल प्रपञ्चका लागि होस् या बाध्यताले नै किन न होस् निरंकुश शासकहरूले समेत पनि सहिदको गुणगान गाउने स्वाङ गर्दछन् ।

यस्ता जालिझेली प्रवृत्ति अलि परै राखेर सोच्दा पनि आजको हाम्रो दुःखद् वास्तविकता के छ भने हामीले ती वीर अमर सहिदहरूलाई पनि बजार र व्यापारको वस्तुजस्तो गरेर देश र जनताको निमित्त मन वचन कर्मले समर्पित हुने ती अग्रज योद्धाहरूप्रतिको श्रद्धा र सम्मानलाई समेत औपचारिकतामा सीमित गर्ने गरिरहेका छौँ र सहिद दिवसलाई पनि संकीर्ण स्वार्थ साधनको माध्यम बनाउने कुचेष्टा गर्ने गर्दछौँ । त्यसले गर्दा नै वस्तुतः हाम्रो देश ठुल्ठूला भनिने गरेका दूरगामी राजनीतिक परिवर्तनपछि पनि आर्थिक–सामाजिक रूपान्तरणको सही दिशामा पटक्कै अघि बढ्न नसकेर कमजोर, फितलो र पिछडिएको अवस्थाबाट गुज्रिरहनु परेको तीतो यथार्थ आज हाम्रा अगाडि ठिंग उभिएको छ र अधोगामी दिशामा स्खलित भइरहेको छ ।

यस सन्दर्भमा एकतन्त्री जहानियाँ राणाशासन विरोधी नेपाली जनताको आन्दोलन प्रष्फुटन गराउन ठूलो ऊर्जा, उत्साह र अग्रगति दिने १९९७ सालको सहिद पर्व नेपालको गौरवमय इतिहासमा स्वर्णाक्षरले अंकित छ । जुन सहिद पर्वमा चार महान सहिदहरू – शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई फाँसी दिने र गोली ठोक्ने दमनकारी काम गरेर मध्ययुगीन सामन्ती निरंकुश जहानियाँ राणा शासनको आयु लम्ब्याउने असफल प्रयास राणाशासकले गरेका थिए । तर, ती अमर सहिदको उच्च बलिदानी उत्सर्गले राणाशासन विरोधी आन्दोलनलाई काठमाडौं उपत्यकाबाट बाहिर नेपालभर मात्रै होइन, प्रवासमा समेत पनि फैलाइदियो । स्वदेश तथा विदेशबाट समेत अझ संगठित र सचेत रूपमा राणाशाही विरोधी नेपाली जनताको आन्दोलन व्यापक हुँदै र फैलिँदै जान थाल्यो ।

यसप्रकार जनआन्दोलन फैलिँदै जाने क्रममा नेपाली कांग्रेसको बैरगनिया सम्मेलनले राणाशाहीविरुद्ध सशस्त्र संघर्ष गर्ने महत्वपूर्ण, सामयिक र ऐतिहासिक निर्णय लिएको थियो । त्यसले गर्दा जनआन्दोलनकारी शक्तिमा आन्दोलनलाई निर्णायक र उच्चदिशा दिन थप योगदान पु¥यायो । नेपाल कम्युनिस्ट पार्टी पनि आफ्नो जन्मकाल १५ सेप्टेम्बर १९४९ देखि नै राणाशाही विरोधी जनआन्दोलमा होमिएको थियो ।
नेपाली कांग्रेसको बैरगनिया सम्मेलनको निर्णयबाट उत्साहित भएर आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी अझ सक्रिय भएर होमियो । त्यो सशस्त्र संघर्ष अझ बढ्दै र व्यापक जनताको समर्थन बटुल्दै जान थालेपछि राणाशासकले दमन, जालझेल र छलकपट कुनै किसिमले पनि सत्तामा टिकिरहन सक्ने स्थिति रहेन । २००७ फागुन ७ गते देशमा प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । त्यतिबेला नै दिल्लीको शरणबाट स्वेदश फर्केका राजा त्रिभुवनले ‘अब देशको शासनभार जनता आफैँले बनाएको विधान अनुसार चल्छ’ भन्ने घोषणा गर्नुपरेको थियो ।

त्यो अरू कुनै कुरा नभएर संविधानसभा अर्थात सच्चा जनप्रतिनिधिहरूले संविधान बनाउने नै थियो । त्यो मोडमा हाम्रो देश धेरै पछि मात्र आइपुगेको हो । तर यति लामो संघर्षपछि संविधानसभालाई नेपाली जनता र राष्ट्रको हितमा सार्थकरूपले सदुपयोग गरेर जनआन्दोलनकारी शक्तिका आमसहमतिमा वर्गीय शोषण र सामाजिक उत्पीडनमा परेका समुदायलाई सन्तुष्ट तुल्याउने र उनीहरूले समेत स्वामित्व र अपनत्व ग्रहण गर्ने किसिमले संविधानसभाबाट संविधान दिन नसकिरहेको अहिलेको स्थिति हो । त्यसैले आफैँले घोषित संविधान लागू भइनसक्दै यसलाई संशोधन गर्न तिनै संविधानको घोषणा गर्ने दलहरू अहिले लागिरहेका स्वाङ पार्न अग्रसर भएका हुन् । उनीहरूले उतिबेला उत्कृष्ट भनिएको वर्तमान संविधान परिवर्तन नगरी र जनताको विश्वासमा खडा नगरी नटिक्ने अवस्थामा पुगेको छ ।

निश्चय नै ०७ सालमा राणाशाहीको अन्त्य र प्रजातान्त्रिक परिवर्तको पछाडि १९९७ सालमा फाँसीमा चढेका र छातीमा गोली थापेका महान् सहिदहरूको अपूर्व प्रेरणा अत्यन्तै ठूलो र महत्वपूर्ण योगदान रहेको छ । त्यतिबेला आजीवन जेलनेल खाने र चारपाटा मुडिएर जिउँदो सहिदको मान्यता पाएका टंकप्रसाद आचार्य लगायतका अग्रज देशभक्त व्यक्तित्वहरूको त्याग र बलिदानलाई पनि कसैले कदापि अवमूल्यन गर्न सक्दैन । तर सहिदहरूले देखाएको जनता र देशप्रतिको असीम त्याग र समर्पणको बाटोबाट बिमुख भएर प्राप्त सीमित प्रजातन्त्रलाई संस्थागत र सुदृढ तुल्याउने आर्थिक सामाजिक कदम चाल्नतिरभन्दा दरबारिया षड्यन्त्रको सिकार भएर आपसमै लड्ने र जनता तथा देशलाई बिर्सने गलत दलीय आचरण र व्यवहारले गर्दा त्यतिबेला संविधानसभाद्वारा संविधान बन्ने वातावरण नै कायम रहन सकेन ।

राजाले दिएकै संविधानअनुसार ०१५ सालमा संसद्को निर्वाचन हुँदा पनि ००७ सालको सीमित परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेसले नै दुईतिहाइ संसदीय सिट हासिल गरेपछि राजतन्त्रात्मक सामन्ती शक्तिले त्यसलाई कसरी अपदस्थ गर्न सकिन्छ भन्ने दाउपेच खेलिरहेको थियो भने जनआन्दोनलकारी शक्तिहरू पनि आपसमा मिलेर जाने वातावरण बिल्कुलै बन्न पनि सकेको थिएन । जसले गर्दा ००७ सालमा आएको प्रजातन्त्रलाई राजाले फौजी बलमा ०१७ सालमा सहजै समाप्त पारिदिए र सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था थोपर्ने काम गरे । हजारौँ कार्यकर्ता र सयौँ नेताले जेलनेल बेहोर्नुप¥यो । प्रवासको पट्टयारलाग्दो पीडा सहनुप¥यो भने भूमिगत भएर काम गर्नुपर्ने स्थिति बन्यो भने पञ्चायती कालमा हजारौँको हत्या भयो । दमनकारी मनपरीको फाशिष्ट मण्डलेतन्त्र चलाउँदै सामन्ती लूटतन्त्र मच्चाइयो ।

त्यस्तो दमनकारी आतंक मच्चाएर थोपरिएको राजा नेतृत्वको सामन्ती शासन व्यवस्थाको नाम भने ‘पञ्चायती प्रजातन्त्र’ राख्न उनी बाध्य थिए । किनकि महान् सहिदको बलिदानले ल्याएको प्रजातन्त्रको नामलाई नै नामेट पार्न सकिने स्थिति थिएन । त्यसैले निरंकुश शासकले पनि प्रजातन्त्रको दुहाई दिनुपर्ने बाध्यता र आवश्यकता थियो । सहिदहरूप्रति श्रद्धा दर्शाएको स्वाँङ गर्न उनीहरू बाध्य बनेका थिए ।

यसरी सहिदले देश र जनताको निमित्त देखाएको र औँल्याएको त्याग र बलिदानको बाटोबाट विमुख भएर आपसी कलहमा लाग्दा निरंकुशताले घर गरे पनि त्यसलाई सही किसिमले बुझ्न नसक्दा या बुझ पचाउँदा निरंकुश सामन्ती व्यवस्था झण्डै तीन दशकसम्म कायम रह्यो । अन्ततः अनेक हण्डर–ठक्करपछि बल्ल जनताका शक्तिहरू एकजुट भएर संयुक्त जनआन्दोलनमा उत्रिँदा झण्डै ३० वर्षसम्म चलेको राजाले नेतृत्व गरेको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था ४९ दिनको आन्दोलनबाटै समाप्त भएर गयो । अनि ०४६ सालपछि स्थापना गरिएको बहुदलीय व्यवस्थाले पनि जनता र देशका समस्या समाधान गर्ने उच्च राजनीतिक आदर्श र साहस देखाउन छाडेर पार्टी र समूहगत सत्ता लुछाचुँडीमै सीमित भएर राजतन्त्रकै भ्रष्ट र मनरी गर्ने गलत बाटोमा लाग्न थाल्यो ।

त्यसैबेला राजाको पञ्चायती व्यवस्थाले ‘पकेट मोनी अर्थतन्त्र’कै रूपमा भए पनि राज्यले चलाएका उद्योगधन्दालाई साँच्चो अर्थमा जनहितकारी हिसाबले आमनेपाली जनता र राष्ट्रको हितमा मोड्नुको साटो साम्राज्यवादी उदारवादको नीति अंगीकार गरी हचुवा किसिमले गुन्द्रुकको मोलमा निजीकरण गरियो । आज तिनको नामो निशान दिउँसै बत्ती बालेर खोजी गरे पनि कतै पाइँदैन । राजनीतिक क्षेत्रमा महल पजेरो अनेक आर्थिक र सामाजिक विकृति र विसंगतिले घर ग¥यो । यस्तो अधोगामी स्थितिमा फेरि पनि सामन्ती सत्ताले त्यो बहुदलीय व्यवस्थालाई समाप्त पारेर राजाकै निरंकुशता लाद्ने कुचेष्टा ग¥यो । त्यसले गर्दा पुनः जनताका शक्तिहरू एकजुट नभई नहुने स्थिति पुनः सिर्जना भयो । त्यसैको परिणति थियो ०६२÷६३ को विशाल संयुक्त जनआन्दोलन । जसले २ सय ४० वर्षदेखिको राजतन्त्रलाई नै समाप्त पारिदियो । यो वास्तवमा ०७ सालदेखिकै अधुरो कार्यलाई पूरा गर्ने उत्कर्षको जनआन्दोलन थियो । त्यो ०९७ सालकै अमर सहिदहरूको अधुरो सपनालाई साकार पार्दै अघि बढ्ने महान कार्य थियो र अद्यापि छ ।

तर त्यस परिवर्तनयता सत्तामा पटकपटक पुगेका दलहरूमा भने ०७ साल र ०४६ पछिकै गलत प्रवृत्तिको निरन्तर पुनरावृत्ति भइरहेको मात्र छैन, सत्ताधीशहरू आज नवसामन्त र दलालपूँजीपतिमा फेरिएर सहिदहरूको घोर अपहेलना र उपेक्षा भइरहेको छ । नेपाली जनताको अपमान भइरहेको छ । जनता र राष्ट्रको सार्वभौमिकता र अखण्डता तथा राष्ट्रिय स्वाधीनतालाई अपूर्वरूपमा कमजोर तुल्याउने काम भइरहेको छ । यो गलत प्रवृत्तिलाई सही किसिमले चिर्न जनताका शक्तिहरू देश र जनताका साझा समस्या हल गर्ने साझा राष्ट्रिय दृष्टिकोण र तदनुरूपको सहमतिका साथ अघि बढ्न तत्पर र तयार नभएसम्म स्थितिमा कुनै सुधार आउँदैन । वस्तुतः अहिलेको अन्योल, अनिश्चितता र अराजकताले यही कुराको संकेत गरिरहेको छ । महान् सहिदबाट सही प्रेरणा नलिने र जनआन्दोलको मर्म र भावनालाई उपेक्षा गर्ने र अन्ततः कुल्चिने यस्ता अमान्य र अस्वीकार्य गतिविधि नरोकिएसम्म देशले कदापि सही बाटो लिन सक्दैन ।

त्यसैले हरेक वर्ष माघ १० गतेदेखि आरम्भ भएर १६ गते समापन हुने सहिद सप्ताहको सन्दर्भमा औपचारिकता पूरा गर्नेभन्दा जनता र देशप्रति साँच्चै समर्पित हुने प्रण, संकल्प अठोट गर्नु अत्यावश्यक छ । आफैँ नसुध्रिकन र आफैँभित्र सही परिवर्तन नल्याइकन समाजलाई बदल्ने कुरा केवल कोरा गफ मात्रै ठहरिने यथार्थलाई यो महान् सहिद सप्ताहका बेला गम्भीररूपमा आत्मसात र मनन् गर्न सकियो र सिकियो भने मात्र नेपाललाई समुन्नत, सुन्दर र सुनिश्चित भविष्यतर्फ डो¥याउने बाटो फेरि पनि खुल्छ र सहिदका सपना यसरी पूरा हुँदै जान्छन् । यही नै वास्तवमा सहिदप्रतिको सार्थक उच्च सम्मान र श्रद्धाञ्जली पनि हुनेछ । १९९७ सालका प्रातःस्मरणीय अमर सहिदहरूलगायत नेपालका विभिन्न जन संघर्षमा शहादत प्राप्त गनुभएका सम्पूर्ण अमर सहिदप्रति शततः नमन एवं भावपूर्ण श्रद्धा सुमन ।

प्रतिक्रिया