के हो ‘स्पट फिक्सिङ’ ? कसरी गरिन्छ ?

काठमाडौं । नेपाल ट्वान्टी–२० लिगमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा दुई खेलाडी पक्राउ परेपछि खेल क्षेत्र तरंगित छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गएको सोमबार पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर मोहम्मद आदील आलमलाई पक्राउ गरेको हो । त्यसपछि यसबारे चासो र चर्चा बढेको छ ।
नेपाली क्रिकेटका लागि स्पट फिक्सिङको यो पहिलो घटना हो । नेपालमा यसअघि भएका कुनै पनि आधिकारिक प्रतियोगिताको यस्तो घटना सार्वजनिक भएको थिएन । नेपाल क्रिकेट संघ (क्यान)ले गएको पुसमा उक्त लिग आयोजना गरेको थियो ।

सामान्यतया फिक्सिङ भन्नाले कुनै पनि खेलको नतिजामा प्रभाव पार्ने कार्यलाई बुझिन्छ । स्पट फिक्सिङले केही फरक अर्थ दिन्छ । ‘म्याच फिक्सिङ’ले खेलको नतिजा नै प्रभावित हुन्छ । स्पट फिक्सिङले निश्चित ओभर वा समयमा मात्र प्रभाव पार्छ ।

के होे अर्थ ?

स्पट फिक्सिङले खेल भइरहेका बेला निश्चित समयमा अर्को पक्ष (फिक्सिङ प्रस्तावक)ले भनेअनुसारको कार्य गर्नुलाई बुझाउँछ । यसले खेलको नजितामा प्रभाव नपार्न पनि सक्छ । उदाहरणका रूपमा खेलको दोस्रो ओभरमा बलिङका लागि आएका बलरलाई स्पट फिक्सिङको प्रस्तावकले त्यति बेला दुई नो बल र एक वाइड बल फ्याँक्न निर्देशन दिन्छन् । र, बलरले पनि प्रस्तावककै निर्देशनानुसार उक्त ओभरमा दुई नो बल र एक वाइड बल फ्याँक्छन् । यसलाई नै स्पट फिक्सिङ भनिन्छ ।

क्रिकेटमा जस्तै फुटबलमा पनि खेल चलिरहँदा स्पट फिक्सिङ हुने गरेको पाइन्छ । उदाहरणका लागि प्रस्तावकले खेलको ३५औँ मिनेटमा एक खेलाडीलाई जसरी भए पनि रेफ्रीबाट पँहेलो कार्ड पाउन निर्देशन दिन्छन् । खेलाडीले पनि ३५औँ मिनेटमा विपक्षी खेलाडीमाथि फाउल गरेर वा अरू कुनै खेल भावनाविपरीतको कार्य गरेर रेफ्रीबाट पहेँलो कार्ड पाउँछन् । यसलाई स्पट फिक्सिङ भनिन्छ । उक्त खेलाडीले पाएको पहेँलो कार्डले खेलको नतिजामा फरक नपारे पनि स्पट फिक्सिङका प्रस्तावकलाई ठूलो आर्थिक फाइदा हुनसक्छ ।

यसरी गरिन्छ स्पट फिक्सिङ

म्याच फिक्सिङको तुलनामा स्पट फिक्सिङ केही सहज हुन्छ । यसका लागि टिमका एक खेलाडीलाई प्रभावमा पारे पुग्छ । अनलाइन बेटिङ साइटबाट पैसा कमाउनका लागि स्पट फिक्सिङ गरिन्छ । वानएक्सबेट, डाफावेट वा अरू बेटिङ साइटहरूमा क्रिकेट खेलका प्रत्येक ओभरअघि अबको ओभरमा के हुन्छ भन्दै बेटिङ खुलाइएको हुन्छ । त्यसमा फिक्सिङका प्रस्तावकले अबको ओभरमा विकेट जान्छ, नो बल हुन्छ, वाइड हुन्छ वा चौका, छक्कामध्ये केही एकलाई लिएर पैसा हाल्छन् ।

उदाहरणका रूपमा माथिको तस्बिरमा भारत र न्युजिल्यान्डबीचको ट्वान्टी–२० खेलका लागि बेटिङ खुलाइएको छ । त्यहाँ कुन ओभरमा विकेट जान्छ भनेर सोधिएको छ । पहिलो, दोस्रो गरी २० ओभरसम्मकै विकल्प राखिएको छ । त्यसमा स्पट फिक्सिङका लागि खेलाडीसँग कुरा गरेका व्यक्तिले कुनै निश्चित ओभरमा विकेट जान्छ भन्दै बेट राखेका हुन्छन् । र, उक्त ओभरमा आउट हुनका लागि ब्याटरलाई सहमत गराउँछन् । यसलाई नै स्पट फिक्सिङ भनिन्छ ।

प्रतिक्रिया