खुल्लारूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न प्रहरीको रोक

काठमाडौं । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुल्लारूपमा बिक्री–वितरण गर्न रोक लगाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गए राति एक सूचना जारी गरी पेट्रोलियम पदार्थको खुल्लारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण गर्न रोक लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुल्लारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन् ।

पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुल्लारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो एक युवाले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो ।

सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ । गंगलबार आत्मदाह प्रयास गरेका युवकको आज बिहान निधन भएको छ ।

प्रतिक्रिया