शुक्रराज अस्पतालमा दैनिक चार सय कुकुरले टोकेका घाइते 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कोरोना भाइरसको संक्रमण रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पु¥याएको योगदान बिर्सन नसकिने बताएका छन् । अस्पतालको ८९औँ वार्षिकोत्सवमा मंगलबार उनले कोरोना संक्रमणजस्तो महामारीको रोकथाम र नियन्त्रणमा अस्पतालले महत्वपूर्ण योगदान दिएको बताउँदै त्यस कठिन घडीमा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेको स्मरण गरे । उनले संक्रमण रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको प्रशंसा गरे । 

मन्त्री गिरीले कोरोना भाइरस संक्रमण रोक्नका लागि निर्वाह गरिएको भूमिकाका आधारमा जस्तोसुकै महामारीलाई पनि सामाना गर्नसक्ने क्षमता अस्पतालका स्वास्थ्यकर्मीले देखाउने विश्वास व्यक्त गरे । उनले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा कसरी पु¥याउन सकिन्छ भनेर सबैले संकल्प गर्नुपर्ने समय आएको बताए । 

‘सबै नागरिकलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जान जरुरी छ’, उनले भने, ‘सुदृढ स्वास्थ्य प्रणााली बनाउन सबै मिलेर काम गर्नुपर्छ ।’ नेपालको स्वास्थ्य क्षेत्र भरपर्दो, अब्बल छ भनेर सावित गर्ने दायित्व हामी सबैको रहेको भन्दै मन्त्री गिरीले सबै रूपले स्वास्थ्य क्षेत्रलाई मर्यादित र जनतामुखी बनाउन आवश्यक रहेको बताए । उनले अस्पताललाई कम्तीमा पाँच सय शय्याको बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले अस्पतालको सेवालाई विकेन्द्रित गरेर अन्य ठाउँबाट पनि सरुवा रोगका बिरामीको उपचार गर्नुपर्ने बताइन् । उनले कोरोना भाइरसका बेला देशै भयभित रहेको अवस्थामा अस्पतालले पु¥याएको सेवा कहिल्यै बिर्सन नहुने बताइन् ।  मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले अस्पताललाई चाहिने जनशक्ति उपलब्ध गराउन मन्त्रालय लागिपरेको बताइन् । उनले तीन सय शय्याका लागि मन्त्रालयले दरबन्दीको व्यवस्थापन गर्न थालेको समेत जानकारी दिइन् । 

मन्त्रालयका अतिरिक्त सचिव डा.संगिता कौशल मिश्राले अस्पतालले कोरोना भाइरसको बेला मात्र नभएर हैजा, डेंगुजस्ता महामारी रोकथाममा राम्रो भूमिका निर्वाह गरेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले अस्पतालले प्रदान गर्ने सेवा उदाहरणीय रहेको भन्दै सरुवा रोगलाई निमिट्यान्न पार्नुपर्ने बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा.मनिषा रावलले अस्ताललाई तीन सय शय्या विस्तार गर्न थालिएको जानकारी दिए । १९९० सालमा कलेरा अस्पतालको रूपमा रहेको अस्पताललाई ०५३ सालमा सरुवा रोग अस्पतालको रूपमा विकास गरिएको थियो । उनका अनुसार अस्पतालले विगत डेढ वर्षदेखि अस्पतालले निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । 
अहिलेसम्म १ लाख १२ हजारलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइएको छ । उनले अस्पतालमा सबैभन्दा बढी कुकुरले टोकेका बिरामी आउने गरेको बताए । उनका अनुसार दैनिक तीन सयदेखि चार सय कुकुरले टोकेका बिरामी आउने गर्दछन् । 

प्रतिक्रिया