संसद्मा चौथौ शक्ति बन्ने कसरतमा एकीकृत समाजवादी

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् । अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका छन् ।

भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाजवादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने भएका छन् ।

सोे भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गंगालाल तुलाधर पनि सहभागी थिए । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरेका छन् । उनले विषय मिल्ने दलसँग मोर्चासमेत बनाएर अघि बढ्ने जानकारी दिएका छन् ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकीकरणबारे अनौपचारिक छलफल भएपछि यी दुवै वार्ता टोली बनाएका थिए । वार्ता समिति दुवै अध्यक्षको संवादको उपज भएको नेताहरूले बताएका छन् । एकताको खाका लगायतका प्राविधिक विषय टुंग्याउने जिम्मा कार्यदलको हुनेछ ।

मंसिर ४ को निर्वाचनमा यी दुवै दलको जनाधार मधेसमै कमजोर देखिएको छ । एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीले चुनावमा थ्रेसहोल्डसमेत कटाउन सकेन । जसपा राष्ट्रिय पार्टी बने पनि चौथो पार्टीबाट छैटौँ भएको छ । ०७४ सालको चुनावमा उपेन्द्र यादवसँग १६ सांसद थिए । पार्टी टुटफुटबाट गुज्रिँदा अहिले खुम्चिएर १२ सिटमा सीमित हुनुपरेको छ । मधेस प्रदेशमा अविच्छिन्न सरकार हाँकेको जसपा यसपटक प्रदेशमा पनि कमजोर भएको छ ।

यी दुवै दल एकीकरण गरेमा संघ र प्रदेशमा पनि सरकारमा वर्चस्व बढ्ने आँकलन गरेर एकताको पहलमा लागेका छन् । प्रतिनिधिसभामा जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ । एकीकरण भएमा २२ सिटको दल बन्नेछ । मधेस प्रदेशसभामा जसपाका १६ र एकीकृत समाजवादीको सात सांसद छन् । जसपा र एकीकृत समाजवादीबीच एकता भएमा मधेस प्रदेशमा कांग्रेससँग बराबरी, अर्थात् २३ सांसद भएको पार्टी बन्नेछ ।

प्रतिक्रिया