स्पट फिक्सिङ : नो बल र वाईड बललाई आठलाख

आलमलाई एउटा नो बल र बाईड बल फाल्नको लागि एप्रोच आएको र उनले दुई खेलमा सोही प्रकृतिको खेल खेलेको देखिन्छ।’ आलमले अन्य खेलाडीलाई स्पट फिक्सिङको अफर गरेको अडियो समेत प्रहरीले बरामद गरेको छ। उक्त अडियोमा स्पट फिक्सिङ गरेबापत ६ देखि ८ लाग रुपैंयाँ पाउने आश्वासन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङबारे अनुसन्धान गर्दा नयाँ तथ्य बाहिर आएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सोमबार मात्रै पक्राउ गरेका दुई जना पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीले फिक्सिङका क्रममा देखाएका हर्कतबारे नयाँ तथ्य उजागर भएको हो ।

सीआइबीले फिक्सिङका सम्बन्धमा जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसपी सञ्जय थापाले भने,‘ आलमलाई एउटा नो बल र बाईड बल फाल्नको लागि एप्रोच आएको र उनले दुई खेलमा सोही प्रकृतिको खेल खेलेको देखिन्छ ।’ आलमले अन्य खेलाडीलाई स्पट फिक्सिङको अफर गरेको अडियो समेत प्रहरीले बरामद गरेको छ । उक्त अडियोमा स्पट फिक्सिङ गरेबापत ६ देखि ८ लाग रुपैंयाँ पाउने आश्वासन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आलमले अन्य दुई खेलाडीलाई स्पट फिक्सिङ गर्न अफर गरेको सीआइबीले जनाएको छ ।

प्रहरी अनुसन्धानअनुसार प्रतियोगिताको खेल नम्बर ८ र खेल नम्बर १२ मा फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले फिक्सरसँगको सहमति कार्यान्वयन गरेको पाईएको छ।
पुस १२ गते काठमाडौं नाइट्सविरुद्धको खेलमा आदिलको एउटा नो बल त्रिवि मैदानमा पुगेर प्रत्यक्ष हेर्नेहरुका लागि पनि अस्वभाविक थियो । उनले ११.१ ओभरमा नो बल फालेका थिए । त्यस लगत्तै अर्को बल वाइड फालेका थिए । सो खेलमा आदिलले ४ ओभर बलिङ गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । जहाँ दुई वाइड र एक नो बल सामेल थियो ।

त्यस्तै पुस १४ गते जनकपुरको खेल फारवेष्ट युनाइटेडविरुद्ध थियो । सो खेलमा आदिलले एक ओभरमात्र बलिङ गर्न पाए । पावर प्लेको अन्तिम ओभरको पहिलो बल उनले नो बल फाले । लगत्तै वाइड बल पनि फाले ।

खेल टोलीमध्येको चार टिम क्रमशः काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो । बयानमा आदिलले आफूलाई कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे केही खुलाएका छैनन्। उनलाई प्रहरीले सोमबार गृहनगर सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो ।

सिआईबीले नेपाल टि २० लिगमा चार नेपालीसहित कुल १० जना संलग्न रहेको जनाएको छ । लिगमा फिक्सिङ र अनियमितता बारे जानकारी दिईयो। ‘अहिले सम्म अनुसन्धान गर्दा नेपाल टि२० लिगमा १० व्यक्ति फिक्सिङ र अनियमिततामा जोडिएका छन् । त्यसमध्य चार जना नेपाली छन् । नेपालबाट एक खेलाडी र तीन बीचका व्यक्ति रहेका छन् । ६ जना विदेशी जोडिएका छन् । ४ जना व्यवस्थापक, एक जना खेलाडी र एक जना विचौलियाको काम गरेका छन’, सिआईबीका एसपी सन्जय थापा भने ।

उनका अनुसार अनुसन्धानका क्रममा आलम र अन्सारी पक्राउ परेका हुन् । पाँच जनालाई खेलाडीलाई फिक्सिङ प्रस्ताव आउँदा तीन जनाले अस्वीकार गरेको सिआईबीले जनाएको छ । उक्त तीन व्यक्तिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एन्टि करप्सन युनिट (एसियु) लाई जानकारी दिएका थिए । आइसिसीको नियम अनुसार कुनैपनि खेलाडीलाई फिक्सिङको प्रस्ताव आउँदा एसियुलाई जानकारी दिनुपर्छ । सीआइबीका अनुसार आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए ।

सिआईबीले हरेक खेलको स्कोरकार्ड हेरेर अनुसन्धान गरिरहेको जनाएको छ । मेहबुब आलमले प्रस्ताव गरेका दुई मध्ये एक मात्रै पक्राउ परेका छन् । एक खेलाडीले भने अस्वीकार गर्दै एसियुलाई जानकारी दिएका थिए । सीआइबीका एसएसपी दिनेश कुमार आचार्यका अनुसार विदेशी खेलाडी भने नेपालमा रहँदासम्म कारबाही गर्न सक्ने बताए ।

पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्वीकार गरेपछि नेपाल टी–२० लिगको विवाद र फिक्सिङ प्रकरण बाहिरिएको थियो। सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरूले यसबारे एन्टी करप्सन युनिट (एसीयू)लाई जानकारी गराएको जनाएका थिए ।

प्रतिक्रिया