स्यालले टोकेर महोत्तरीमा ६ जना घाइते

जलेश्वर । महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका ६ जना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशंकर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी रहेका छन् ।

गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झुण्डमा आएका स्यालले आक्रमण गरेका थिए ।

घाइते शिवशंकर, सिनेहा र रामतोलालाई गए राति नै उपचारका लागि जनकपुरस्थित जानकी अस्पताल लगिएको छ ।

अन्य चार जनाको गए राति गाउँकै क्लिनिकमा प्राथमिक उपचार गरिए पनि आज बिहान थप उपचारका लागि जनकपुर लगिएको स्थानीय बैद्यनाथ चौधरीले जानकारी दिए ।

प्रतिक्रिया