विद्युत खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् ।

आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक–२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युतको खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए ।

उनले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिए ।

‘विद्युत् बेच्नु पर्दैन अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ’, उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए ।

भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ ।

‘बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ, तर खपत नभएको विद्युत खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गरे । ‘पूर्वाधारको अभावमा विद्युत प्रयोग गर्न सकिएको छैन, अर्बौँ लगानीका आयोजनाको पिपिए हुन सकेको छैन’, उनले भने ।

‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनी मंसिर २५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया