टेलिकमको ब्राण्ड एम्वेसडरमा जोशी

काठमाडौ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वल्र्ड–२०२२ का प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी खड्का र जोशीले टेलिकमको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रबन्ध निर्देशक पौडेलले यो सहकार्यको शुरुवात मात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताए ।

समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुनः आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । यसैगरी अर्का नवनियुक्त ब्राण्ड एम्बेसडर प्रियंका जोशीले आफूले पनि शुरुदेखि नै टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २ सय, ५ सय र १ हजार रुपैया दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया