न्यायाधीशमाथि बलात्कारको आरोप

काठमाडौं । न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । उनी कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश हुन् । एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि अनुसन्धान सुरु भएको छ ।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् ।
तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला उजुरी लिएर राष्ट्रिय मानवअधिकार अयोग र महिला आयोगमा पुगेकी थिइन् । पीडित महिलाले मानवअधिकार आयोग र महिला आयोगमा उजुरी दिएपछि दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन अगाडि बढाउन निर्देशन लिएका थिए ।

मानवअधिकार आयोगले कपिलवस्तु प्रहरीका अतिरिक्त न्यायपरिषद्लाई पनि पीडित महिलाको उजुरी र प्रहरीलाई पठाएको पत्रको बोधार्थ दिएको थियो । मानवअधिकार आयोगमा पीडित महिलाको उजुरी एक साताअघि आएको जानकारी आयोगकी सदस्य लिली थापाले दिइन् ।

‘शरीर बन्धक बनाएर न्यायाधीशले यौन शोषण गरिरहेको उजुरी हामीकहाँ एक साताअघि आएको थियो । हामीले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानविन अगाडि बढाउन निर्देशन दिएका छौँ,’ उनले भनिन्, ‘न्यायाधीशको विषय भएकाले न्यायापरिषद्लाई पनि पत्र पठाएर यस विषयमा अनुसन्धान गर्न आग्रह गरेका छौँ ।’

मानवअधिकार आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब पाँच वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । पीडित महिलाले आफूलाई पटकपटक करणी गरेर गर्भपतन गर्न लगाएको पनि आयोगलाई बताएकी छन् ।

महिला आयोगका अनुसार, पीडित महिला ०७५ सालदेखि नै न्यायाधीशसँग थिइन् । महिला आयोगका अनुसार, अहिले पीडित महिलालाई मनोवैज्ञानिक परामर्श दिने काम पनि भइरहेको छ । मानवअधिकार आयोग, न्यायपरिषद् सचिवालय र महिला आयोगले समेत अनुसन्धान थालेपछि न्यायाधीश गिरी भने १५ दिनका लागि बिदामा बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पनि मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन अगाडि बढाइएको बताएको छ । न्यायाधीश गिरीलाई पक्राउ गर्नुपर्ने भए न्यायपरिषद्को अनुमति लिएर आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । यस विषयमा न्यायपरिषद्ले पनि आन्तरिक छानबिन सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया