अर्थतन्त्रमा देखिएका समस्या समाधानमा पहल गर्छु : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसँग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरी समाधान निकाल्ने बताए ।

‘अर्थतन्त्र जोगाऔँ’ अभियानमा रहेको महासंघकातर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस विषयमा निजी क्षेत्र सहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिवद्धता व्यक्त गरे ।

शीर्ष नेतृत्वहरूसँग भेटघाटको क्रममा महासंघ प्रतिनिधिमण्डलले यसअघि आइतबारमात्र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्छुट्टै भेटगरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले अर्थतन्त्र समस्यामा रहेको र यसको सामाधानका लागि आफू र आफ्नो पार्टी तत्पर रहेको बताएका थिए ।

अर्का प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले पनि समस्या समाधानका लागि पहल गर्ने बताए । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको महासंघ प्रतिनिधिमण्डलले सोमबार अपराह्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको पनि ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री सहित शीर्ष नेताहरूसँगको भेटवार्तामा प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ ।

ती सबै भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुझिदिन आग्रह गरे । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने
निजी क्षेत्रनै संकुचित हुदै गएकोतर्फ ध्यानाकर्षण गराएका थिए । शीर्ष नेतृत्वबाट महासंघले राखेका सुझावहरूप्रति ऐक्यवद्धता जनाएर सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया