भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’मा नबिल बैंक

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक)को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एक मात्र बैंक बनेको बताइएको छ ।

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको हो । यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात–निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकको विश्वास छ ।

यो सुविधाअन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्ने बताइएको छ ।

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ । वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरूलाई सहज गर्नेछ ।

एक्जिम बैंक आयात–निर्यात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्त पोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौँदेखि एक्जिम बैंकले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया