आमनिर्वाचनको सन्देश : प्रधानमन्त्रीमा ओली अस्वीकृत

काठमाडौंं । हालै सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रूपमा कसैलाई अगाडि सारेर कुनै पार्टीले मत मागेको थियो भने त्यो हो, नेकपा एमाले । एमालेले आफ्ना सर्वशक्तिमान अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेपछि प्रत्यक्षमा सय सिट र समानुपातिकमा ५० सिट जित्ने दाबी गरेको थियो । तर, निर्वाचन परिणामको परिणाम नितान्त फरक आयो । आममतदाताले एमालेलाई ठुलो दलका रूपमा समेत रुचाएनन् । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेलाई जनताले दोस्रो दलको रूपमा खुम्च्याए ।

एमालेलाई मतदाताले प्रत्यक्षमा मागेभन्दा धेरै कम मात्रै होइन, भइरहेको भन्दा पनि आधा सिट दिएर प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीलाई सिधै अस्वीकार गरिदिएको छ । बरु प्रत्यक्षको तुलनामा समानुपातिकमा धेरै सिट घट्न नदिएर जनताले पार्टीको छवी भने जोगाएका छन् ।

गत निर्वाचनमा ८० सिट प्रत्यक्षमा पाएको एमाले यसपटक ४४ सिटमा झरेको छ । अघिल्लोपटक समानुपातिकमा ४१ सिट पाएकोमा यसपटक सात सिट मात्रै घट्ने देखिएको छ । ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेपछि एमाले अन्य पार्टी, खासगरी सत्ता गठबन्धनलाई प्रधानमन्त्रीका उम्मेद्वार खोई ? भन्दै निर्वाचन अवधिभर अहमता प्रदर्शन गर्न ब्यस्त थियो । तर, निर्वाचन परिणामपछि भने ‘धाँधली भयो’ भन्ने एकआध रुन्चे स्वरबाहेक बालकोटबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन । गौरवशाली इतिहास बोकेको पार्टीको रूपमा भने एमालेलाई मतदाताले रुचाएकै देखियो ।

ओलीले गिजोलेर तहसनहस पारे पनि नेपालको राजनीतिमा एमाले भन्ने पार्टी यत्तिकै चुट्कीको भरमा बनेको होइन, यसले लामो हण्डर ठक्कर खाएर यहाँसम्म आएको हो भन्ने हेक्का आममतदाताले राखेको देखिएको छ । बहुदल आएपछि नेपालमा कम्युनिस्टको पालुवा पलाएको बाहिर देखियो । भित्रभित्र गुम्सिएर बनेको पालुवा ०४६ सालमा बहुदल स्थापना भएपछि बाहिर पातका रूपमा हरियो भएर छायो । ००४ सालमा स्थापना भएको नेपाली कांग्रेस त्यो बेलासम्म कम्युनिस्टले बुढाबूढी मार्छन, भगवान् मान्दैनन्, निजी सम्पत्ति राख्न दिँदैनन् लगायतका अनेक नारा लगाएर विरोध गर्यो ।

बहुदल आएपछिको चुनावमा कुनै बेलाको फासिस्ट तानशाहका कुरा ल्याएर नेपालका कम्युनिस्टलाई दाँजो गर्नै काम कांग्रेसले त्यो बेलाको राजनीतिक बजारमा छ्याप्छ्याप्ती बेचेको थियो । त्यसबेला कम्युनिस्टहरूले अरू उदाहरण दिन कठिन थियो । तर, त्यो भ्रम चिर्ने एक पात्र थिए, सेतै दाह्री फुलेका एक वृद्ध कम्युनिस्ट, मनमोहन अधिकारी । त्यसबेला कम्युनिस्टहरूले हाम्रा नेता यस्ता बुढा छन् कसरी कम्युनिस्टले बुढाबुढी मार्छन् भन्दै खण्डन गरेका थिए । मनमोहन अधिकारी एमालेका अध्यक्ष थिए । उनको यो कार्यकालमा भएको चुनावमा उनी त्यसबेला उदाहारणका लागि देखाउने पात्र पनि थिए ।

अर्थात, त्योबेला मान्छेहरू मनमोहन अधिकारी र मदनभण्डारीहरू हेरेर कम्युनिस्ट बन्थे । उनीहरूको बेदाग र निःस्वार्थ भावनाको जगमा बनेको पार्टी हो, एमाले । सबै पार्टीका नेताले एमालेका नेताहरू देखाउँथे र भन्थे त्यस्तो पो हुनुपर्छ । तल्लो निकायमा पनि योक्रम बढ्यो र नेपालमा एउटा सम्मानित र जनआधरित पार्टी बन्यो, एमाले । जबसम्म पार्टीले लेनिनवादी संगठनको अवधारणा अबलम्बन गरेको थियो, त्यसबेलासम्म एमाले समाजमा बाटो देखाउने पार्टी थियो । संगठनका कार्यकर्ताहरू पनि आफूले केही पाउन नभई समाज र देशलाई केही दिनका लागि पार्टीमा लाग्थे । यसरी यो पार्टीप्रतिको आकर्षण बढेको हो ।

पछिल्लोपल्ट पार्टीको नेतृत्वमा ओली हाबी हुन थालेपछि भने विस्तारै संगठनको गुणस्तरमा गिरावट आयो । मदन भण्डारीको रहष्यमय तरिकाले दासढुंगा दुर्घटनामा निधन भएपछि नेतृत्वलाई आफू अनुकूल बटार्ने प्रयास भए । त्यसबेला माधव नेपालको नेतृत्वमा बामदेव गौतम, प्रदीप नेपाल, ईश्वर पोखरेल र केपी ओली मिलेर अल्पमतमा परेका सिपी मैनाली पक्षलाई पेल्ने काम भयो । जसका कारण नेतृत्वप्रतिको विश्वास पनि विस्तारै घट्दै गयो ।

पार्टीको पाँचौँ महाधिवेशनमा मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रमको विपक्षमा सीपी मैनालीले परिमार्जित नौलो जनवाद कार्यक्रम महाधिवेशनमा पेस गरेका थिए । तर, त्यो अस्वीकृत भयो । भण्डारी आफैँले भने त्यसलाई सहजरूपमा लिँदै पार्टीमा अल्पमतको उचित सम्मानका कुरा अगाडि ल्याएका थिए । उनले उचित सम्मान गर्दै सिपी पक्षका नेताहरू पनि पार्टीको पोलिटब्युरोमा लगेका थिए ।

पार्टीको आठौँ महाधिवेशनसम्म आन्तरिक लोकतन्त्र यति बलियो थियो कि, अरू पार्टीले त्यो देखेर ईष्र्या गर्थे । झलनाथ खनाल आफैँ संस्थापन र अध्यक्ष हुँदाहुदै आयोजना गरेको सो महाधिवेशनमा उनी आफैँ झण्डै हार्न पुगेका थिए ।
तर, पार्टीको नेतृत्व ओलीको हातमा गएपछि भने आन्तरिक लोकतन्त्र मर्न थाल्यो । ओलीका आलोचकमाथि तल्ला कमिटीसम्म राता नजर लाउन थालियो । पार्टीमा हुने संस्थागत आकर्षणले ठाउँ सरेर ‘व्यक्ति नै सबै हो’ भन्नेमा ओली नेतृत्वले वातावरण तयार गर्यो ।

पार्टीमा कुनै काम गर्नु नपर्ने, ओलीको वरिपरि बसेर फिरी लगाएपछि त्याग र समर्पण त्यसैमा देखिन थाल्यो । ओलीका अगाडिपछाडि पार्टीका कार्यकर्ता होइन, बिचौलिया, ठेकेदार र दलालको ताँती लाग्न थाल्यो । तिनले एमाले पार्टी होइन, ओली महान भनेर देवत्वकरण गर्ने काम गरे । पार्टीको नियुक्तिलगायत निर्वाचनका लागि उम्मेद्वार छान्ने काम पार्टीमा रहेन । त्यो सरेर ओलीमा गयो । ओलीले आफ्नै घरखेत र पुख्र्योली सम्पतिबाट दिएझै गरी यसपटकको निर्वाचनमा पनि एकलौटी टिकट बाँडेर त्यो उदाहरण पेस गरेका छन् ।

तर, परिणामले ओलीसहितको एमाले उत्थानको कुरा अस्वीकार गरेको छ । एमालेको संगठन अझै पनि बलियो छ भन्ने पुष्टि पनि यो चुनावले गरेको छ । तर, यसलाई उँभो लगाउन या ओली बिनाको एमाले हुनेछ या त ओलीले सिध्याएको एमाले हुनेछ ।
ओलीको नामका कारण यसपटक एमालेको बहुमत रोकिएको छ । झण्डै दुईतिहाइको जनमत जोगाउन नसकेको मात्रै होइन, दुई/दुईपटक असंवैधानिक तरिकाले संसद् विघटन गरेको बदला जनताले लिएका छन् । समानुपातिकमा मत जाहेर गरेर जनताले एमालेप्रतिभन्दा पनि ओलीप्रति बढी वितृष्णा छ भन्ने सन्देश दिएका छन् । जनताले एमालेको पक्षमा मतदान गरेका छन्, किनभने एमालेको गौरवशाली इतिहास छ । तर, अब देशमा ओली नामका प्रधामन्त्री देख्नुपर्ने छैन । यो चुनावको सन्देशले एमालेको यही तस्बिर देखाएको छ ।

प्रतिक्रिया