बिहेअघि वा विवाहहेत्तर सम्बन्ध राखे एक वर्ष कैद !

जकार्ता । इन्डोनेसियाको संसद्ले यसै महिना वैवाहिक सम्बन्ध बाहिर यौनसम्पर्क राख्नेलाई अधिकतम एक वर्ष लामो काराबास सजाय दिने नयाँ कानुन पारित गर्ने अपेक्षा गरिएको छ । यस कानुन मस्यौदा निर्माणमा संलग्न राजनीतिज्ञ बामबाँग बुर्यान्तोले यो कानुन चाँडोमा आगामी साताको सुरु सम्ममा पारित भइसक्ने बताएका छन् ।
पारित भएको खण्डमा यो कानुन इन्डोनेसियाली नागरिक र विदेशीहरु दुवैलाई लागु हुने छ । यदि सम्बन्धित सरोकारवालाहरुले सरकारी निकायमा उजुरी दिएको खण्डमा मात्र व्यभिचारविरुद्धको कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

विवाहितहरुका हकमा अपराधीलाई सजाय दिलाउन पीडकका पति वा पत्नीले उजुरी दिनुपर्ने बीबीसीले लेखेको छ । यस कानुनले अविवाहित व्यक्तिहरुका परिवारलाई पनि तिनीहरुले अवैध ढंगले यौन सम्पर्क राख्ने गरेको भन्दै उजुरी दिन सक्ने व्यवस्था गर्ने भएको छ ।
त्यसैगरी विवाह नगरीकन महिला तथा पुरुषले सँगै जीवन बिताउने कामलाई पनि वर्जित गरिने भएको छ । कसैले यस्तो गरेको खण्डमा जनही ६ महिना काराबास सजाय हुने छ ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार स्थानीय व्यापारिक समूहहरुले बिदा मनाउने र लगानी गर्ने आकर्षक गन्तव्यको रुपमा चिनिने इन्डोनेसियाको छविमा यस नियमले आँच पु¥याउन सक्ने बताएका छन् ।
सन् २०१९ मा पनि यस्तै कानुन पारित गराइन खोज्दा मुलुकभर हजारौँ मानिसले विरोध प्रदर्शन गरेका थिए । राजधानी जकार्तालगायत प्रमुख सहरहरुमा भएका त्यस्ता प्रदर्शनमा विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया