डब्बुको नयाँ गीत ‘दुर सागर’

काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गीत ‘दुर सागर’ को भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा गायक तथा संगीतकार राज सागर स्वर तथा संगीत रहेको छ ।
यो झरी शृंखलाको अर्को नयाँ गीत भएको गीतकार क्षत्रीले बताए । उनको यसअघि ‘झरी’ शृंखलाअन्तर्गत गजलसंग्रह झरी नै आएको छ । यसबाहेक उनका अरु पनि झरीसम्बन्धी गीत छन् । गीतकार क्षत्रीले हरेक वर्ष झरीसम्बन्धी गीत ल्याउने गरेको र २०७९ सालको लागि आफूले ‘झरी’ शृंखलाको नयाँ गीत ल्याएको बताए ।

भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई दीप घतानीले रेकर्ड तथा मिक्सिङ गरेका हुन् । जसमा शाहस शाक्यको संगीत संयोजन रहेको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा प्रेममा धोका खाएर मद्यपानको लतमा लागेकी युवतीले आफ्नो पूर्वप्रेमी र उसको प्रेमिकासँग लिएको बदलाको कथालाई प्रस्तुत गरिएको छ । नशाले खराब परिणाम दिन्छ भन्ने सन्देश यो गीतको भिडियोले दिएको छ । भिडियोमा गायिका तथा मोडल सरिता भारतीसँगै मोडल मिलन दाहाल, सृष्टि कडरिया, आकाश दाहाल र निश्चलविक्रम पौडेलको अभिनय छ । मिलन शंकरको छायांकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘बिपिन’ ले सम्पादन तथा रंग संयोजन गरेका हुन् ।

प्रतिक्रिया