किम्फमा ३० देशका ६० चलचित्र

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को बीसौंँ संस्करण हुनेभएको छ । हिमाल एसोसिएसनले ‘दिगो आरोहण’ मूल नाराका साथ महोत्सव गर्न लागेको हो । काठमाडौं महानगरपालिकाको सहआयोजनामा किम्फको यो संस्करण मंसिर २२ गतेदेखि २६ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा हुने जनाएको छ । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्ष्य गर्दै नारा तय गरिएको महोत्सव निर्देशक रम्यता लिम्बूले बताइन् । उनले भनिन्, ‘यसपटक भौतिकरुपमा महोत्सव आयोजना गर्न पाउँदा उत्साहित छौँ । चलचित्र स्क्रिनिङबाहेक नेपाली चलचित्रको भविष्य, चलचित्रमा तन्नेरी पुस्ता र बालबालिकाजस्ता विषयमा सामूहिक छलफलसमेत हुँदैछ ।’ उनले किम्फमा ३० मुलुकका ६० भन्दा बढी चलचित्र प्रदर्शन गर्ने जानकारी दिइन् । आयोजकका अनुसार महोत्सवमा २० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र निर्माता सहभागी हुने छन् । २६ मंसिरसम्म हुने महोत्सव ‘बाघको बङ्गारा’ को सुरुवात्सँगै हुँदैछ । मह सिकारीको कथाबारेको चलचित्र ‘प्रिमियर’ गर्न पाउँदा आफूहरु उत्साहित भएको निर्मात्री विद्या चापागार्इंले जानकारी दिइन् ।

उक्त चलचित्रमा उत्तरी जाजरकोटवासीले लामो यात्रापछि अक्करे भीरमा चढेर गर्ने मह सिकार गरेको कथा उधिनिएको छ । गैरआख्यान श्रेणीको यो चलचित्रले मह सिकारका लागि हिमाली भेगका बासिन्दाले गर्ने संघर्षलाई प्रस्तुत गरेको गर्छ । पहिलो दिन भारतीय निर्देशक एम गनीले निर्देशन गरेको चलचित्र ‘मट्टोकी साइकिल’ को विशेष प्रदर्शन गरिने जनाइएको छ ।

महोत्सवबाहेक यसपटक विभिन्न मुलुकका पर्वतीय चलचित्र महोत्सवको अलायन्स (आइएएमएफ) को साधारणसभासमेत काठमाडौंमा हुनेछ । उक्त संगठनका २८ सदस्य राष्ट्रको सहभागिता सभामा हुने जानकारी किम्फले दिएको छ । महोत्सव अस्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तुको चलचित्र ‘फ्लाइ फ्रम एभरेस्ट’ बाट समापन हुनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली चलचित्र निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय उक्त महोत्सवका प्रोग्रामर जिन्ना लीले किम्फमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

एसोसिएसनले किम्फमा प्रमुख वक्ताको रुपमा निर्देशक तथा अभिनेता प्रकाश झा आउने आयोजकले जनाएको छ । यस्तै, झा अभिनीत तथा एम गनीले निर्देशन गरेको चलचित्र ‘मट्टोकी साइकल’ विशेष प्रदर्शन हुँदैछ । सन् २००० देखि थालिएको किम्फमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिँदै आएको छ । कोरोना महामारीको कारण किम्फका १८औं र १९औं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक चलचित्र देखाइन्छ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका चलचित्रलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यसैगरी, इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट चलचित्रले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउने छ । त्यस्तै, महोत्सवमा अत्यधिक दर्शकको मत पाउने चलचित्रले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउने छ । आयोजकका अनुसार महोत्सवमा चलचित्रसम्बन्धी गोष्ठी, प्रवचन, छलफल एवं फोटो प्रदर्शनीसमेत हुनेछ ।

प्रतिक्रिया