अबको सरकार प्रतिगमन विरोधीको

मोहनविक्रम सिंह

पाँचदलीय गठबन्धनका विभिन्न पार्टी वा संगठनहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन्, जस्तै कि संघीयता, एमसिसी, नागरिकता विधेयक आदि । मधेसवादी संगठनहरूसित तराई, संविधान र त्यसमा संशोधनका प्रश्नहरूसित पनि हाम्रा कैयौँ मतभेदहरू छन् । तर यी सबै मतभेदहरूको बाबजुद अहिलेको स्थितिमा प्रत्यक्ष रूपमा साम्राज्यवादको हितमा काम गर्ने कुनै सरकार वा नेका र एमालेको गठबन्धन भएर बन्ने जस्तो कुनै सरकारभन्दा अहिलेको गठबन्धनबाट बन्ने सरकार नै बढी उपयुक्त हुन्छ भन्ने हाम्रो दृष्टिकोण रहेको छ,

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेपछि अहिले संघीय सरकारको निर्माणको प्रश्न मुख्य भएको छ । हाम्रो यो स्पष्ट मत छ कि अहिलेको देशको राजनीतिक स्थितिमा गठबन्धनको सरकार नै सबैभन्दा उपयुक्त हुने छ । तर गठबन्धनको सरकारको निर्माणको मार्गमा भएका कतिपय समस्या र जटिलताहरूतर्फ प्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ ।

चुनावद्वारा पाँचदलीय गठबन्धनलाई पर्याप्त बहुमत प्राप्त हुन्छ भन्ने हामीलाई विश्वास थियो र त्यसका लागि वस्तुगत आधार पनि थियो । तर त्यसका लागि चुनावको परिणाम सन्तोषजनक रूपमा प्राप्त हुन सकेन । सन्तोषजनक परिणाम नआउनुमा पाँच दलीय गठबन्धनभित्रका कतिपय घटकहरूका आन्तरिक अन्तर्विरोध र कमजोरीहरू नै बढी जिम्मेवार रहेका छन् ।

जनताको महान आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षता समेतको रक्षा गर्ने तथा तिनीहरूका अगाडि उपस्थित प्रतिगमनको खतरालाई पराजित गर्ने राजनीतिक उद्देश्यसहित नै पाँचदलीय गठबन्धन अस्तित्वमा आएको थियो । त्यही सन्दर्भमा पाँचदलीय चुनावी तालमेल पनि भएको थियो । पाँचदलसित जोडिएका विभिन्न राजनीतिक घटकहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू भए पनि देशमा उपस्थित गम्भीर प्रकारको संकटमाथि ध्यान दिँदै, खास गरेर प्रतिगमनलाई पराजित गर्ने आवश्यकतामाथि ध्यान दिएर हामीले पाँच दलीय गठबन्धन वा पाँच दलीय चुनावी तालमेल गर्ने नीति अपनाएका थियौँ र त्यो नीतिलाई राष्ट्रिय जनमोर्चाले इमानदारी र दृढतापूर्वक कार्यान्वयन पनि गरेकोे थियो ।
तर त्यसमा समस्या के भयो भने अन्य कतिपय राजनीतिक पक्षहरूले मुख्य राजनीतिक उद्देश्यलाई केन्द्रमा बनाएर भन्दा पनि आपसी अन्तर्विरोध, गुटबन्दी, अराजनीतिक प्रकारका छलछाम गरेर चुनाव लड्ने नीतिहरू अपनाएका थिए । त्यो क्रममा उनीहरूले कतिपय स्थानहरूमा गठबन्धन वा आफ्नै पार्टीका उम्मेद्वारहरूलाई हराएर एमालेका उम्मेद्वारहरूलाई जिताउने प्रकारका अन्तर्घातहरू गरेका कैयौँ उदाहरणहरू पनि पाइन्छन् । ती कारणहरूले गर्दा नै पाँच दलीय गठबन्धनको जुन स्पष्ट बहुमत आउनु पर्दथ्यो, त्यो आउन नसकेको कुरा प्रष्ट छ । सम्बन्धित सबै पार्टी वा राजनीतिक संगठनहरूले त्यसबारे समीक्षा गरेर आगामी दिनहरूमा त्यस प्रकारका गल्तीहरूको पुनरावृत्ति हुन नदिन प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।
गठबन्धनभित्रका अन्तर्विरोध, कमजोरी वा गुटबन्दीका कारणले चुनावपछि गठबन्धन धेरै कमजोर अवस्थामा पुगेको छ, त्यसको परिणामस्वरूप सरकार बनाउनको लागि गठबन्धनको नीतिसित सहमत नभएका कतिपय राजनीतिक समूहहरूसित तालमेल गर्नुपर्ने र देशमा राजनीतिक अस्थिरता पैदा हुने सम्भावना पनि बढेर गएको छ । त्यस प्रकारको अवस्थामा देशभित्रका वा कतिपय विदेशी शक्तिहरूले पनि सरकारमाथि गलत प्रकारको दबाब बढाएर लैजाने र त्यसबाट देशको राष्ट्रिय हितमा गम्भीर प्रकारको क्षति पुग्ने खतराप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यसप्रकारको स्थिति उत्पन्न हुनुका पछाडि पनि पाँच दलीय गठबन्धन वा त्यसभित्रका कतिपय पक्षहरूका आफ्नै उम्मेद्वारहरूका विरूद्धका अन्तरघात नै हो भन्ने कुरा प्रष्ट छ ।

हाम्रो यो निष्कर्ष रहेको छ कि पाँच दलहरूको नेतृत्व तहबाट पाँच दलीय चुनावी तालमेललाई सफल पार्न इमानदारीपूर्वक प्रयत्न गरिएको थियो । तर पाँच दल मध्ये नेकाभित्रको नीतिगत रूपमा नै गठबन्धनको विरोध गर्ने कतिपय पक्षहरू वा माओवादीहरूका पनि स्थानीय तहका विभिन्न प्रकारका अन्तर्विरोध र कुण्ठाहरूका कारणले गठबन्धनका सबै उम्मेद्वारहरूको जित हुन सकेन र ती मध्ये कतिपय स्थानहरूमा एमालेका उम्मेद्वारहरू विजय भए । त्यसले गर्दा नै पाँच दलीय गठबन्धनलाई पर्याप्त बहुमत प्राप्त हुन सकेन । त्यसैले अहिले गठबन्धनको सरकारको गठनमा समस्या पैदा भएको छ । त्यसबाट एकातिर, प्रतिगमनलाई खेल्ने मौका मिलेको छ भने, अर्कातिर, त्यसको परिणाम स्वरूप देशमा राजनीतिक अस्थिरता तथा अन्य कैयौँ दुष्परिणामहरू हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिलेको यो स्थिति उत्पन्न हुनुका पछाडि गठबन्धनभित्रका कतिपय पक्षहरूद्वारा आफ्नै उम्मेद्वारलाई हराउने नीति जिम्मेवार रहेको कुरा प्रष्ट छ ।

एमालेले जुन प्रकारका प्रतिगामी र अधिनायकवादी नीतिहरू अपनाएको थियो, त्यसको परिणामस्वरूप जनताले त्यसलाई दण्ड दिएका छन् । त्यसबाट जनताको उच्च राजनीतिक चेतना भएको कुरा पनि प्रष्ट हुन्छ । त्यसैले राजावादी शक्तिहरूसित तालमेल गरेर त्यसले बहुमत प्राप्त गर्ने प्रयत्न गरेको भए पनि त्यसको त्यो उद्देश्य सफल हुन सकेन । तैपनि गठबन्धनको कमजोर स्थितिमाथि ध्यान दिएर त्यसले त्यसमा फुट हुने सम्भावनालाई कुरेर बसेको छ । त्यस्तो कुनै स्थिति उत्पन्न भएमा त्यसले पुनः सत्तामा पुग्ने प्रयत्न गर्ने अनुमान गर्न सकिन्छ ।

भारतीय वा अमेरिकी साम्राज्यवादले नेपालको चुनाव र त्यसपछि सरकारको निर्माणलाई आफ्ना साम्राज्यवादी हितहरूको पक्षमा लैजान प्रयत्न गरिरहेका छन् र त्यसअनुसार सरकारको निर्माण गर्न उनीहरूले पूरा प्रयत्न गर्नेछन् । नेपाली कांग्रेसभित्रको प्रतिपक्षले एमालेले प्रतिगामी दिशा लिएको कुरालाई नीतिगत रूपमा नै अस्वीकार गर्दछ । उनीहरूको त्यो सोचाइ गठबन्धनको सोचाइभन्दा विपरीत रहेको कुरा स्पष्ट छ । त्यसकारण उनीहरूले नेका र एमालेको गठबन्धन सरकारको निर्माण गर्ने योजनाअन्तर्गत नै चुनावमा भाग लिएका थिए र त्यो योजनामा बल पु¥याउन नै उनीहरूले गठबन्धन वा आफ्नै पार्टी नेकाका कैयौँ उम्मेद्वारहरूलाई पनि हराउन प्रयत्न गरेका तथ्यहरू सार्वजनिक भएका छन् । त्यो पक्षका कतिपय नेताहरूद्वारा नेका र एमालेको गठबन्धन सरकारको सम्भावनासम्बन्धी सार्वजनिक अभिव्यक्तिहरू पनि बाहिर आएका छन् । गठबन्धनको सरकारको पक्षमा बहुमत नभएमा वा कुनै पनि कारणले गठबन्धनभित्र फुट भएमा उनीहरूले नेका र एमालको गठबन्धनको सरकार निर्माणमा नै जोड लगाउनेछन् । त्यो अवस्थामा गठबन्धनले अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धि समाप्त हुनेछन् ।

पाँच दलीय गठबन्धनका विभिन्न पार्टी वा संगठनहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन्, जस्तै कि संघीयता, एमसिसी, नागरिकता विधेयक आदि । मधेसवादी संगठनहरूसित तराई, संविधान र त्यसमा संशोधनका प्रश्नहरूसित पनि हाम्रा कैयौँ मतभेदहरू छन् । तर यी सबै मतभेदहरूको बाबजुद अहिलेको स्थितिमा प्रत्यक्ष रूपमा साम्राज्यवादको हितमा काम गर्ने कुनै सरकार वा नेका र एमालेको गठबन्धन भएर बन्ने जस्तो कुनै सरकारभन्दा अहिलेको गठबन्धनबाट बन्ने सरकार नै बढी उपयुक्त हुन्छ भन्ने हाम्रो दृष्टिकोण रहेको छ, किनभने त्यसले प्रतिगमनका विरूद्ध लगातार र ऐतिहासिक भूमिका खेल्दै आएको छ । पहिले जस्तै अहिले पनि एमालेलाई हामीले प्रतिगामी नै ठान्दछौँ र त्यससित एकता गरेर सरकार बनाउने कुनै पनि नीतिको हामीले दृढतापूर्वक विरोध गर्दछौँ । वास्तवमा एमालेसितको हाम्रो अन्तरविरोध चुनावको जित हार वा कुनै सरकारको गठन वा विघटनसित सम्बन्धित नभएर निश्चित नीतिगत मान्यतामाथि आधारित छ । त्यसले प्रतिगमनको बाटो लिएको हुनाले नै राजावादीहरूसित जस्तै एमालेसित पनि हामीले कुनै पनि प्रकारको एकतालाई अस्वीकार गर्दछौँ । निश्चय नै एमालेभित्र वामपन्थी वा प्रजातान्त्रिक आन्दोलनका लागि लामो संघर्ष वा त्याग र बलिदान गरेको इतिहास भएका धेरै नेता र कार्यकर्ता भएको कुरालाई हामीले स्वीकार गर्दछौँ । तैपनि त्यसको नेतृत्वले प्रतिगामी नीति अपनाएको हुनाले, एमालेले देशलाई प्रतिगामी र अधिनायकवादी दिशामा लैजाने कुरा निश्चित छ । त्यसैले हामीले त्योसित कुनै पनि प्रकारको सहकार्य वा त्योसित गठबन्धन गरेर बन्ने कुनै पनि सरकारलाई दृढतापूर्वक अस्वीकार गर्दछौँ । हामीले आशा गर्दछौँ, एमालेका इमानदार नेता र कार्यकर्ताहरूले संघर्ष गरेर आफ्नो संगठनको नेतृत्व र नीतिलाई बदल्नेछन् । उनीहरूले त्यसो गर्न सकेमा त्यो स्वयं उनीहरूको संगठन र सम्पूर्ण देश र जनताको पनि हितमा हुनेछ ।

कैयौँ मानिसहरूले पाँच दलीय गठबन्धन वा चुनावी तालमेल परस्परमा सिद्धान्त वा नीतिहरू नमिल्ने पार्टीहरूका बिचको अपवित्र गठबन्धन भन्ने गरेको पनि पाइन्छ । तर त्यस प्रकारका मानिसहरूको कमजोरी के हो भने उनीहरूले संयुक्त मोर्चा वा कार्यगत एकताको सिद्धान्त नै बुझिरहेका हुँदैनन् । संयुक्त मोर्चा वा कार्यगत एकता भनेको परस्परमा बेग्लाबेग्लै सिद्धान्त वा विचारहरू भएका दल वा शक्तिहरूको बीचको एकता हो । संसारमा र नेपालमा पनि त्यस प्रकारका थुप्रै उदाहरणहरू पाइन्छन् । माक्र्सवादी–लेनिनवादी सिद्धान्तले पनि संयुक्त मोर्चा वा कार्यगत एकाताको नीतिबारे विस्तृत रूपमा व्याख्या गरेको छ । त्यसका आधारमा अहिले कायम भएको पाँच दलीय गठबन्धन वा चुनावी तालमेल सिद्धान्तमाथि आधारित भएको कुरा प्रष्ट छ । परस्पर विरोधी सिद्धान्त वा नीतिहरू भएका शक्तिहरूको बीचको एकता नै संयुक्त मोर्चा वा कार्यगत एकता हो । त्यसैले अहिलेको पाँचदलीय गठबन्धन वा चुनावी तालमेललाई सिद्धान्तहीन बताउनु सिद्धान्तहीन सोचाइ हो ।

प्रतिक्रिया