तीन स्रष्टा सम्मानित

स्याङ्जा । नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिएका तीन स्रष्टालाई सम्मान गरिएको छ । ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाले २०७९ सालमा प्रदान गर्ने साहित्यिक पुरस्कार पुतलीबजारमा एक समारोहका बिच प्रदान गरेको हो । छ दशकभन्दा बढी समय सिर्जनकर्म गरेका स्रष्टा पिताम्बर नेपालीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान २०७९’ बाट सम्मान गरिएको छ । यो सम्मानद्वारा यसअघि डा. महेश्वर शर्मा, प्रा.डा. गोविन्दराज भट्टराई, केदार शर्मा ढकाल, देवीप्रसाद वनवासी र ईश्वरी ओझा सम्मानित भइसकेका छन् । यसैगरी, प्रतिष्ठानले समाजवादी यथार्थवादी धारा तथा आलोचनात्मक यथार्थवादी धारामा कलम चलाउने द्रष्टा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार २०७९’ द्वारा प्रगतिवादी समालोचक डा.कृष्णराज अधिकारीलाई सम्मान गरेको छ । यो पुरस्कार यसअघि प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा. रविलाल अधिकारी र दिल साहनीले पाइसकेका छन् ।

प्रतिष्ठानले प्रदान गर्दै आएको ‘ज्याग्दीखोला साहित्य कला पुरस्कार’ यस वर्ष कवि चिन्तु गिरीलाई प्रदान गरिएको छ । यसअघि यो पुरस्कारबाट गंगा कर्माचार्य पौडेल, विश्वप्रेम अधिकारी र छायाँदत्त न्यौपाने ‘बगर’ पुरस्कृत भइसकेका छन् । प्रतिष्ठानले प्रतिभा चयनका लागि लोकबहादुर थापा, नारायण मरासिनी र मिनुइन्द्र लम्साल रहेको तिन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि त्रिलोचन ढकाल र अन्य अतिथिमा प्रा.डा. रविलाल अधिकारी, विश्वप्रेम अधिकारी, डा. नारायणप्रसाद अधिकारी, ओमप्रकाश शर्मा, ध्रुव लम्साल, राम ज्ञवाली, अम्बिकाप्रसाद भट्टराई, दुर्गानारायण ढकाल, भवानी अधिकारी लगायतका स्रष्टाले मन्तव्य व्यक्त गरेका थिए । यस्तै, स्रष्टा चिन्तु गिरी, लेखनाथ काफ्ले, मिलन समीर, लीलाम्बर ढुंगाना, सन्देश काफ्ले, रविन केसी, अनन्त श्रेष्ठ, विनोद गिरी, तिलक सापकोटा, हेमराज कँडेल लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा ज्याग्दीखोला साहित्य प्रतिष्ठानद्वारा नियमित रुपमा प्रकाशन हुँदै आएको साहित्यिक त्रैमासिक पत्रिका ‘ज्याग्दीखोलाको तरङ्ग’ पूर्णाङ्क– २८ को लोकार्पण गरिएको थियो । पत्रिकाको उक्त अंकको टिप्पणी समीक्षक भीम रानाभाटले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालको अध्यक्षतामा नारायण मरासिनीले सञ्चालन गरेको उक्त कार्यक्रममा अग्निप्रसाद रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया