उपाध्यायका २२ कीर्तिमान सार्वजनिक

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले थप २२ विश्व कीर्तिमान सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा एक कार्यक्रमका बीच पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा उनका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण र एल्बम विमोचन गरिएको हो । सो कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११ ओटा संस्थाले उपलब्ध गराएका प्रमाण पत्र हस्तान्तरण गरेका थिए भने समारोहमा ‘अविच्छिन्न’ एल्बम विमोचनसमेत गरेका थिए । यसअघि विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम गरेका उपाध्यायको वल्र्ड रेकर्डको संख्या १३२ पुगेको छ ।

उनका यसअघि अन्तर्राष्ट्रिय पचास भाषामा गीत, एकैदिन सबैभन्दा धेरै दैनिक पत्रिकामा लेख प्रकाशित, गीतको सबैभन्दा सानो पुस्तक, नोट साइजको गीतको पुस्तक, ३७० ओटा लेख एक वर्षमा लेखेर, १५० देशका पर्यटकीय स्थलको गीत लेखेर, सबैभन्दा छोटो गीत लेखेरजस्ता विविध विधामा विश्व कीर्तिमान कायम गरिसकेका छन् । आइतबार सार्वजनिक विश्व रेकर्डमा उपाध्यायका २५ गीत म्युजिसियनले २५ एकैथलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको ए देखि जेडसम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्बम विमोचन, आफ्ना गीतको ४५ ओटा भिडियोको एक एल्बम, ¥याप गीत ४÷४, २÷४, ६÷८ र ३÷४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता जस्ता विधामा रहेका छन् ।
डा. उपाध्यायलाई एभरेस्ट वल्र्ड रेकर्ड, च्यापियन बुक अफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, युआरएफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वल्र्ड ट्यालेन्ट बुकजस्ता वल्र्ड रेकर्ड प्रदान गर्ने विभिन्न ११ ओटा संस्थाले विश्व कीर्तिमानको प्रमाणप्रत्र प्रदान गरेका हुन् ।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले डा. उपाध्यायको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्दै स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए । गीतकार संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा र खनाल समाजका महासचिव माधव खनालले शुभकामना मन्तव्य राख्नुका साथै डा. उपाध्यायलाई बधाइ दिए ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको समारोहमा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार तथा मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारी, पत्रकार राजेन्द्र लुइँटेल, सुभास प्रधान, निर्देशक माइकल चन्द, भिडियो सम्पादक शिलन लम्साल, सञ्चारकर्मी नरेश भट्टराई र कृष्ण भुसाललाई द ब्रिटिस वल्र्ड रेकर्डले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो । डा. उपाध्यायको सार्वजनिक ‘अविच्छिन्न’ गीति एल्बममा चार गीत समावेश गरिएको छ । एल्बममा ‘चितामाथि जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरदको संगीत रहेको छ भने विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीको स्वर छ ।

प्रमुख अतिथि झाले डा. उपाध्यायका कर्म उनका लागि मात्र नभएर देशकै लागि गौरव रहेको बताए । उनले भने, ‘डा. उपाध्याय अर्थात् धर्मराज उपाध्याय देशकै लागि गौरव बन्नुभएको छ । उहाँका आगामी दिनमा यस्ता कार्य अझ थपिँदै जाउन भन्ने शुभकामना तथा बधाइ दिन्छु ।’ सो अवसरमा झाले आफ्नो जीवनको भोगाइसमेतका विषयवस्तु समेटिएको पुस्तक ‘मधेसको माटो म (सप्तरीदेखि शासनसत्तासम्म)’ कार्यबारेमा चर्चा गरे । डा. उपाध्यायले आफू यतिकै बस्न नसक्ने र सिर्जनशील कार्य फरक ढंगले गर्दै जाँदा विश्व कीर्तिमानको संख्या थपिँदै गएको बताए । एनएनटिभीले प्रत्यक्ष प्रसारण गरेको समारोहमा नेपाल चलचित्र कलकार संघका उपाध्याक्ष मोहन निरौला, अग्रज गायिका ज्ञानु राणा, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, एभरेस्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ, चिनियाँ मामिला जानकार दिनेश खनाल, चीनका पूर्वअधिकारी जेन जि स्याङ, सुनिता खनाल, खनाल समाजका कृष्णप्रसाद खनाल, प्रदीप खनाल लगायतका खनाल बन्धुका साथै विविध क्षेत्रका विशिष्ट व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया