‘ब्रमाण्ड, आत्मा र ओम आकृति’

एससी सुमन

नेपाल आर्ट काउन्सिल र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भइरहेको प्रदर्शनीमा कलाकार एसी सुमनले तयार पारेका दुई चित्र ‘ब्रमाण्ड, आत्मा र ओम आकृति’ र ‘शक्ति’ शीर्षकका कलाकृति राखिएको छ । काउन्सिलको ६०औं वार्षिकोत्सव र महासंघको ५०औं (स्वर्ण वर्ष) र काउन्सिलका अध्यक्ष स्वर्गीय शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीमा समर्पित गरेर बबरमहलस्थित काउन्सिलको कलादीर्घामा प्रदर्शनी गरिएको हो । सो प्रदर्शनीमा १८४ कलाकारका करिब तीन सय बढी कलाकृति राखिएको छ । ‘नेपालका देवीदेवताहरु’ शीर्षकको कला प्रदर्शनीमा लोककला, परम्परागत चित्र तथा मूर्ति, समसामयिक चित्र एवं मूर्ति राखिएको को–क्युरेटर प्रदीप शाक्यले जानकारी दिए । उनले नेपाली कलाको परम्परागत मान्यता र धारलाई प्रदर्शनीमा हेर्न पाइने बताए । सो प्रदर्शनीका को–क्युरेटर शाक्यले भने, ‘प्रदर्शनीमा हिन्दू तथा बौद्ध धर्ममा आधारित देवीदेवताका चित्र, मूर्ति तथा कलात्मक सामग्री राखिएको छ ।’

मंसिर ११ गतेबाट सुरु भएर २५ गतेसम्म चल्ने सो प्रदर्शनीमा मिथिला लोककलाबाट प्रख्याति कमाएका अग्रज कलाकार एससी सुमनले तयार पारेका दुई चित्रमध्ये ‘ब्रमाण्ड, आत्मा र ओम आकृति’ को चित्रमा रहेका विषयका बारेमा चर्चा गरिएको छ । उक्त कलाकृतिका बारेमा कलाकार सुमनको शब्दचित्रः

‘ब्रमाण्ड, आत्मा र ओम आकृति’ शीर्षकको मिथिला शैलीमा तयार पारिएको उक्त चित्रमा युगौं युगसम्मका लागि सम्पूर्ण ब्रह्माण्ड र आकाशगंगामा, अन्धकार, पूर्णअन्धकार र मौनता थियोे । तब सुदुर विगतमा ब्रमाण्डको कुनै समय अनन्त, सर्वशक्तिमान, निराकार, सबै जान्ने, परम, अस्तित्व, जसले सम्पूर्ण ब्रमाण्ड व्याप्त छ; यस शुन्यमा प्रकाश र जीवन ल्याउन उत्प्रेरित भयो । ॐ को गहिरो गुँजकारी, सुखदायक आवाज उठ्यो र अँध्यारोमा फैलियो । ब्रह्माले ब्रह्माण्ड सिर्जना गर्न अगाडि बढेपछि ज्योतिहरु देखा प¥यो । उनको पहिलो सृष्टि ब्रह्मामा मानिसको आकार र रुप थियोे, जसमा ब्रमाण्डको सबै महिमा, ब्रमाण्ड र अन्तरिक्ष वरिपरि घुम्ने ग्रहहरुको असीमित समयसारणीमा ब्रमाण्ड सिर्जना गर्ने शक्तिहरु थिए । ब्रह्माण्डभित्र ब्रह्माले यो अद्भूत संसारको सृष्टि गरे र यसलाई जीवनको लागि सौम्य वातावरण, पानीको बहुमूल्य उपहार, सास फेर्ने, सुन्न, हेर्न र गन्ध महशुस गर्न सक्ने प्राणी जीवनको उदय भयो । अन्ततः उनले मानव सृष्टि गरे र तिनलाई ज्ञान, विवेक र सिर्जनात्मकताको प्रतिभा प्रदानसमेत गरे ।

मानव मनभित्र परम ब्रह्माण्ड र आतमनको यो अवधारणा, तिनीहरुको अन्तरसम्बन्ध हिन्दू धर्म दर्शन बुझ्नको लागि कुञ्जी हो, तर यो बुझन त्यति सजिलो छैन । यस्तो अस्पष्ट निराकार घटनामा आफ्नो मन वा भक्ति केन्द्रित हुन जरुरी छ । ऋषिमुनिहरुले यस वास्तविकतालाई ध्यान दिएका थिए र विभिन्न रंगीन र प्रतीकात्मक आकार र रूपमा देवतालाई मानव कल्पना, अभिव्यक्ति र प्रस्तुतिमा पूर्ण लगाम दिन अवरोध थिएन । सृष्टिकर्ता ब्रह्माको मानव रुपको साथ, सबैभन्दा पहिले प्रकट भएको थियो । विष्णु पालनकर्ता र महेश (शिव) विनाशको शक्तिसहित, दैवी रुपको अग्रणि त्रिमूर्ति गठन गरे । त्यसपछि कलाकृतिमा विभिन्न अवतार, रूप देवताको आकारको प्रचुरता, हिन्दूमा देवता देख्न पाइन्छ, जुन यस प्रदर्शनी ‘नेपालका देवीदेवताहरु’ को केन्द्रीय विषयवस्तु रहेको छ । तिनीहरु प्राचीन धर्म ग्रन्थ, पौराणिक कथा नृत्यमन रुपमा देखा परेका छन् । विशेषगरी पूर्वीय संस्कृतिका (नेपाल र भारत) सबै हिन्दू परिवारमा कला र संस्कृतिले वास्तवमा जीवनको ढाँचामै प्रभाव पारेका पाइन्छ । यीमध्ये कुनै एक वा धेरै रुपको भक्ति, उपासना वा तिनीहरुबाट निस्कने दर्शनका विचारको सर्वोच्चताका लागि पूर्ण रुपमा मान्य मार्गहरु हुन् । एकपटक ब्रह्माको सर्वोच्चतालाई बुझेर मान्यता दिन्छ ।

“न जायते, म्रियते, वा कदाचित् न अयम्, भूत्वा, भविता वा न, भूयः

अजः नित्यः शाश्वतः अयम्, पुराणः न, हन्यते, हन्यमाने, शरीरे ।।

श्रीकृष्णले भगवत गीतामा भन्छन्, ‘आत्मा न कहिल्यै जन्मन्छ न त कुनै पनि समयमा मर्छ । आत्मा अस्तित्वमा आएको छैन र आउने पनि छैन । आत्मा अजन्म, शाश्वत, सदा अस्तित्वमा रहिरहन्छ । आदिम शरीर मारिए पनि आत्मा मारिएको हुँदैन ।’

कर्मको दर्शन–प्रभावको कारण कलाकारले आफ्नो विश्वासलाई सिर्जनात्मक ढंगले अभिव्यक्त गर्दछ । यो नै यसको केन्द्रविन्दु हो । ‘ब्रमाण्ड, आत्मा र ओम उत्पत्ति’ मा आत्माको यात्रासम्मको अभिव्यक्ति प्रस्तुत गरिएको छ । के कलाकारले हामीलाई यस जीवनकालमा भित्र र बाहिर के गर्छौं भन्ने तथ्यलाई प्रतिबिम्बित गर्दैछ ? के कलाकारको सात विन्दुले हामीलाई यस जीवनकालमा, हाम्रो शारीरिक, भावनात्मक र आध्यात्मिक ठाउँभित्र र बाहिर जे गर्छौ त्यसले हाम्रो आत्माको यात्रामा प्रभाव पार्छ भन्ने तथ्यलाई प्रतिबिम्बित गर्न प्रेरित गरिरहेको छ ।

चित्रमा सृष्टिको उत्पत्ति र त्यसको प्रभावलाई कलात्मक रुपमा उधिन्ने काम गरिएको छ । सौर्यमण्डल र त्यसको अस्तित्वलाई अंगीकार गर्दै जगत् र जीवनका यावत् शाश्वत् पक्षलाई चित्रमा रङ र रेखाका माध्यमबाट अभिव्यक्त गर्ने कोशिस गरिएको छ । जीवनलाई बुझ्न र सृष्टिको उत्पत्तिका बारेमा ज्ञान प्राप्त गर्नका लागि यो चित्रमा सिर्जनात्मक ढंगले अभिव्यक्ति प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया