यू १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान अनुराग सिंह ४४ बलमा ६ चौकासहित ३९ रनमा आउट भए ।

मिलन बोहराले ३२ बलमा ४ चौका र १ छक्कासहित ३३, दीपक बोहरा १७, दीपक बोहरा १० र गजेन्द्र बोहराले १९ रन बनाए । गजेन्द्र ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बागमतीका रोशन विकले दुई र प्रतीक श्रेष्ठले एक विकेट लिए । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती २८.४ ओभरमा १ सय २४ रनमा अल आउट भयो । बागमतीका सक्षम बास्ताकोटीले ८२ बलमा ५ चौकासहित ३३ रन बनाए । प्रतीक श्रेष्ठले ५० बलमा ३ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए । रोशन विकले २४ बलमा १ चौका र ४ छक्कासहित ३६ रनमा अविजित रहे ।

एक समय बागमती २.५ ओभरमा ५–४ को दयनीय अवस्थामा पुगेको थियोा । पाँचौं विकेटका लागि प्रतिक श्रेष्ठ र सक्षमले ७८ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो । छैटौं विकेटका लागि सक्षम र रोशन विकले ४१ रनको साझेदारी गरेपछि राम्रो योगफलको समभावना देखाएको थियो । तर बाँकी पाँच विकेट मात्रै एक रनमा गुमाएपछि सस्तैमा अल आउट भएको हो । एक समय बागमती २७.२ ओभरमा १२३–५ को अवस्थामा थियो ।
नरेन साउदले सक्षमलाई विकेटकिपर सुनिल चन्दबाट क्याच गराएपछि एक रन जोड्न पाँच विकेट गुमाएको थियो । पाँचौं बलमा ओमकार यादव शून्यमा आउट भए ।
आकाशले २९ औं ओभरको दोस्रो बलमा सक्रिय कार्कीलाई शून्यमा एलबीडब्लू आउट गरे । तेस्रो बलमा अभिषेक कोइराला शून्यमा बोल्ड भए । अहमद राजालाई चौथो बलमा बोल्ड गर्दै जारी प्रतियोगितामा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका हुन् ।

त्यसअघि हेमन्त धामीले सानदार सुरुवात दिलाए । दोस्रो ओभरको दोस्रो बलमा लक्की कठायतलाई आकाशले शून्यमा क्याच गराए । तेस्रो ओभरमा हेमन्तले उत्तम थापामगरलाई तीन रनमा क्याच गराए । लगत्तै तेस्रो बलमा अशोक पौडेल शून्यमा एलबीडब्लू आउट भए । पाँचौं बलमा योगेश भाट बोल्ड भएपछि २.५ ओभरमा ५–४ को दयनीय अवस्थामा पुगेको थियो ।

सुदूरका आकाश चन्दले ५।४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । हेमन्त धामीले ५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए । नरेन साउदले दुई र युवराज खत्रीले एक विकेट लिए ।
सुदूर ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भएपनि तेस्रो स्थानमा छ । लुम्बिनीको नेटरनरेट ०.९५० र बागमतीको ०.६८८ छ ।

लुम्बिनीले अन्तिम खेल मधेशविरुद्ध टियु मैदानमा खेल्नेछ । लुम्बिनी उक्त खेलमा विजयी हुँदा फाइनल खेल्नेछ । लुम्बिनी पराजित हुँदा भने बागमती फाइनलमा पुग्नेछ । लुम्बिनी झिनो अन्तरको हारले भने फाइनलमा पुग्न सक्ने समिकरणछ । ठूलो अन्तरको हारले भने लुम्बिनी बाहिरिनु पर्ने हुन्छ ।

प्रतिक्रिया