भीम रावललाई बालेनको जवाफ– ‘परराष्ट्रबाट अनुमति लिएर आएपछि भेटेका हाैं’

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले नेकपा एमालेका नेता भीम रावलको एक प्रश्नमा जवाफ दिएका छन् । रावलले सामाजिक सन्जालमा सोधेको प्रश्नमा बालेनले सामाजिक सन्जालमा नै जवाफ दिएका हुन् ।

बालेन र अमेरिकी राजदूतको भेटघाटको विषयलाई लिएर रावलले बालेनमाथि प्रश्न गरेका थिए ।

रावलले अमेरिकी राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर गरिएको हो या होइन भन्दै प्रश्न गरेका थिए । उनले संविधान र स्वधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न अनुरोध गरेका थिए ।

रावलको यो प्रश्नमा बालेनले आफूहरुलाई अमेरिकी राजदूतले भेट खोजेपछि उनलाई नै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन आफूहरुले लगाएको बताएका छन् ।

अनि अन्तिममा उनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएको र आफूहरुले भेट्ने अनुमति दिएको बालेनले फेसबुकमा लेखेका छन् ।

उनले सँगसँगै लेखेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

प्रतिक्रिया