कलासाधक देशका अमूल्यनिधि : प्रम देउवा

काठमाडौं । नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । बिहीबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र संगीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा समेत निकै प्रसिद्ध र लोकप्रिय रहेको विचार व्यक्त गरे ।

कलासाधक र सर्जक देशका अमूल्यनिधि भएको जनाउँदै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले बताए । उनले यी सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिँदै भने, ‘कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ । ललितकला क्षेत्रको संरक्षण र संवद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो ।’

प्रधानमन्त्री देउवाले नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका संग्रहालय तथा ग्यालरीमा रहेको जानकारी दिँदै नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताए । उनले छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली कला र वास्तुकलालाई व्यापक बनाएको स्मरण गरे । प्रधानमन्त्री देउवाले भने, ‘अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र संवद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।’
उनले प्रतिष्ठानले युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए । प्रधानमन्त्री देउवाले कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरे ।

‘कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ’

यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्ने बताउँदै कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा जोड दिए । यी विषयमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउँदै उनले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरे । उनले सरकारसँग ललितकलासम्बन्धी विभिन्न विषयमा नीतिगत सुधारका लागि माग गरिएको जानकारी दिए । यस्तै, सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्नेमा जोड दिँदै उनले कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयात शुल्क छुट दिनुपर्ने माग राखे । कुलपति कर्माचार्यले नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणालीलाई व्यवस्थित बनाउन सरकारले सहजीकरण गर्दै आवश्यक नीति बनाउन आग्रह गरे ।

उनले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रमा प्रतिष्ठानका शाखा कार्यालयको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

यस्तै, प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनीजस्ता गतिविधिमा जोड दिनुपर्ने जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने बताए । कुलपति कर्माचार्यले ललितकला र पर्यटकीय विकासका निम्ति बृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिए ।

यसैगरी प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप नेपालको ललितकलाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा डटेर लागिरहेको बताए । उनले प्रतिष्ठानले चार वर्षको अवधिका गरेका कार्यप्रगति विवरण प्रस्तुत गर्दै कला र संस्कृतिको विकासविना राज्य समृद्ध बन्न नसक्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया