न्यू डायमन्डले थाल्यो कभर्ड हल निर्माणार्थ सहयोग अभियान

काठमाडौं । घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्ड हल निर्माणको थालनीसँगै बुधबारदेखि सहयोग अभियानको शुभारम्भ गरेको छ । क्लबले आफ्नै कभर्ड हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको हो ।

पहिलो चरणमा हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी फुनुरु शेर्पा र समाजसेवी तथा हङकङमा रहेका रमेश राईले सहयोग गरिसकेका छन् । फुनुरुबाट ५५ हजार ५ सय ५५ रुपैया तथा राईबाट ५१ हजार १ सय ५१ रुपैया प्राप्त भइसकेको क्लबले जनाएको छ । सहयोग गर्न चाहनुहुनेले क्लबको बैंक खाता र इसेवामार्फत पनि सहयोग गर्न सकिने क्लबले जनाएको छ ।

क्लबले २०६४ देखि न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा नियमित प्रशिक्षणसँगै प्रतियोगिताहरु गर्दै आइरहेको थियो । तर, एकेडेमीले लिएको उक्त जग्गाको लिज अवधि सकिएको र पुन सम्झौता नभएपछि अहिले डायमन्डले प्रशिक्षण गर्न पाएको छैन ।

प्रशिक्षण रोकिने देखिएका कारण नै क्लबले गत मंसिरमै चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापमा दुई रोपनी ८ आना दुई पैसा जग्गा १० वर्षको लागि हल निर्माणको लागि जग्गा भाडामा लिइसकेको थियो । तर बजेट अभावका कारण क्लबले त्यहाँ केही पनि गर्न सकेको थिएन ।
केही सहयोगी दाताको सहयोग आएसँगै अहिले उक्त स्थानमा डोजर लगाएर सम्याउने कार्यसँगै इनार खन्ने काम भइरहेको छ ।

क्लबले १२ महिनै प्रशिक्षण गर्न मिल्ने भलिबल कोर्ट निर्माण गर्ने योजना बनाएको छ । त्यहाँ आवासिया सुविधा पनि रहनेछ । क्लबले २०६४ जेठ ५ गतेदेखि एकेडेमीकै धुले कोर्टमा नियमित प्रशिक्षण गर्दै आइरहेको छ । सोही कोर्टबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको यात्रा तय गरिसकेका छन् ।

रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी र सलिना श्रेष्ठ सोही एकेडेमीबाट उत्पादिन खेलाडी हुन् । पछिल्लो समय घरेलु भलिबलमा चर्चामा रहेकी प्रगति नाथ, सलिना बुढा मगर, जेनिशा विश्वकर्मा र निशा महर पनि सोही एकेडेमीकै हुन् ।

प्रतिक्रिया