यू–१९ राष्ट्रिय क्रिकेट : सुवासको ६ विकेटमा गण्डकीको पहिलो जित

काठमाडौं । कप्तान तथा स्पिनर सुवास भण्डारीको ६ विकेटमा गण्डकी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ९ रनले हराउँदै पहिलो जित हात पारेको छ । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा १ सय २५ रनमा अल आउट भयो । कर्णालीका सुवास ऐरले ३६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । ओपनर मनिष थापा १८, विपिन रावल १९ र युनिश सिंह १२ रनमा आउट भए ।

गण्डकीका सुवास भण्डरीले १० ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ६ विकेट लिए । जारी प्रतियोगितामा ६ विकेट लिने उनी दोस्रो बलर हुन् । यसअघि सुदूरपश्चिम प्रदेशका बायाँ हाते अर्थोडक्स स्पिनर मिलन बोहराले ९.५ ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ६ विकेट लिएका थिए ।
सुवास भण्डारी जारी प्रतियोगितामा ५ खेलमा १३ विकेटका साथ शीर्ष स्थानमा संयुक्त रुपमा छन् । प्रदेश एकका दीपेश कंडेल पनि १३ विकेटका साथ शीर्ष स्थानमा छन् । सिब्रिन श्रेष्ठले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । गण्डकीका ओपनर गोविन्द विकले ८७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए ।

अर्जुन कुमाल १ सय ६ बलमा ३ चौकासहित ५० रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन र गोविन्दले २५.५ ओभरमा ९५ रनको साझेदारी गरेका थिए । विकेटकिपर दीपक ड्रुमे २७ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा रन आउट भए । सिब्रिन श्रेष्ठ २६, करण पंगेनी १० र सुवास भण्डारी २१ रन बनाए ।
कर्णालीका अवास शाहले सर्वाधिक तीन विकेट लिए । मोहन विकले दुई विकेट लिए । गण्डकीले आफ्नो अन्तिम खेल शुक्रबार टियु क्रिकेट मैदानमा मधेशसँग खेल्नेछ ।

प्रतिक्रिया