यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरको लगातार पाँचौं जित

काठमाडौं । स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित हात पारेको छ । सुदूरले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए ।

गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित छन् । विकेटकिपर सुनिल चन्द १७ बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । मधेशका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनमा आउट भए ।

तीव्र गतिका बलर हेमन्त धामीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै पुनः शीर्षक्रम धरासायी बनाए । हेमन्तले ओपनर शैलेन्द्र शाह शून्य र तेस्रो नम्बरका ब्याटर डब्लू मलिकलाई ११ रनमा बोल्ड गरेका थिए । हेमन्तले नै ओपनर मयन यादवले २३ लाई रनमा क्याच गराए ।
त्यसपछि मधेशको ब्याटिङ टियु एण्डबाट आएका नरेन साउद र चोभार एन्डबाट आएका युवराज खत्रीले धरासयी बनाए । चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रनमा नरेनको बलमा बोल्ड भए ।
त्यसपछि अन्य कुनैपनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन् । कप्तान अभिषेक तिवारी शून्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए ।

सुदूरका नरेन साउदले ९।१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । पहिलो खेल खेलेका युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

सुदूरले अन्तिम खेलमा शुक्रबार बागमतीसँग खेल्नेछ । उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्न सक्छ । लुम्बिनी र बागमतीबीचको खेल मुलपानीमा छ । उक्त खेलमा बागमती विजयी हुँदा सुदूरपनि एक खेल अगावै फाइनलमा पुग्नेछ । बागमती पराजित हुँदा अन्तिम खेल र अन्य टोलीको नतिजा पर्खनु पर्छ ।

सुदूर ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । बागमती ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । अन्य चार प्रदेश भने बाहिरि सकेका छन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया