‘गोर्खा वारियर’ मा मलाया युद्ध

काठमाडौं । सन् १९४९ को ‘मलाया इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथा समेटिएको चलचित्र ‘गोर्खा वारियर’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । सन् २०२३ मा विश्वव्यापी प्रदर्शनमा आउने यो चलचित्रको फस्ट लुक्स मंगलबार सार्वजनिक गरिएको हो । मिलन चाम्सद्वारा निर्मित एवं निर्देशित ‘गोर्खा वारियर’ नेपाली, हिन्दी र अंग्रेजीसहित तीन भाषामा बनाइएको छ । निर्माण पक्षले यस चलचित्रको यतिबेला फस्ट लुक्सको रुपमा तीन वटा पोस्टर सार्वजनिक गरेको छ ।

एउटा पोस्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रुपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् । यस्तै, अर्को पोस्टरमा रितेशसहित गोर्खा सैनिक मेजरको भूमिकामा रहेका अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन् । तेस्रो पोस्टरमा मुख्य अभिनेता रितेशसहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकको टिम युद्धमा जानको लागि तयारी मुद्रामा रहेको देखाइएको छ । ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट अभिनेता रितेशले डेब्यु गरेका छन् । उनीसँगै गोर्खा वारियरमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसअघि दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमर्जेन्सी जंगल वार’ युद्धमा गरेको संघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियरमार्फत प्रस्तुत गरेका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् । चलचित्रको नेपाल र मलेसियामा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’ को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै, यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथालाई समेत उधिनिएको छ ।

प्रतिक्रिया