आहा ! रारा अबदेखि पोखरा गोल्डकप

पोखरा । हिमश्री फुड्स प्रा.लि. र सहारा क्लब पोखराबीच १० वर्षे सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले सम्झौता पत्र आदानप्रदान गरे ।

प्रतियोगिताको मुख्य प्रायोजक प्रालिले क्लबलाई बार्षिक रुपमा पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने छ ।

प्रा.लि.ले अतिरिक्त आन्तरिक खर्च बापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०७८ सालमा ७ लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने छ ।

उद्योगपति स्व.सूर्यबहादुर केसीको पहल तथा सक्रियतामा २०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षे सम्झौता सुरु भएको थियो । २०६९ देखि ०७८ सम्म दोस्रोपटक आहा–रारा गोल्डकप नामाकरण १० वर्षे करार सम्झौता भएको थियो । तेस्रो पटक १० बर्षे सम्झौता भएसंगै प्रतियोगिताको २२ औं संस्करणदेखि २०८८ सालसम्म आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट प्रतियोगिता सञ्चालन हुने छ ।

कार्यक्रममा बोल्दै प्रा.लि.का निर्देशक प्रकाश केसीले खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लबलाई सहयोग गदै आइरहेको बताए । अर्का निर्देशक किरण केसीले आफ्ना बुबाले गरेको कार्यलाई निरन्तरता दिएको बताए ।
क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले प्रा.लि.ले तीन दशक सम्म निरन्तर रुपमा प्रतियोगितालाई मुख्य प्रायोजन गरेको भन्दै धन्यवाद दिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले सहारा क्लबले सामाजिक कार्य गर्दै आइरहेकाले फुटबल आयोजना गरेबातप पोखरा रंगशालाले शुल्क लिन नहुने र त्यसका लागि राखेपसंग पहल गरिरहेको बताए ।

प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्य सचिव एवं क्लबका सल्लाहकार तेजबहादुर गुरुङले नेपाली खेलकुदको समृद्धिका लागि व्यापारिक घरानाहरुको प्रायोजन महत्वपूर्ण हुने बताए । खेलकुद पत्रकार मञ्च कास्कीका संंस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको खेलकुद पत्रकारिताको विकासमा सहारा क्लब र केसी परिवारको महत्वपूर्ण योगदान रहेको बताए ।

सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले यस्ता प्रतियोगितालाई राज्यस्तरबाट पनि पहल हुनपर्ने बताए । प्रतियोगिताको २२ औं संस्करण आगामी पुस १२ देखि २३ गते सम्म पोखरा रंगशालामा आयोजना हुने छ ।

प्रतिक्रिया