बागमतीको लगातार चौथो जित, तीन टोली बाहिरिए

यू–१९ क्रिकेट

काठमाडौ । बागमती प्रदेशले वाई वाई यु१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ । बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । बागमतीको जितमा ओपनर लक्की कठायत ९२ बलमा ८ चौकासहित ५१ रनमा अविजित रहे । कप्तान अशोक पौडेल ६४ बलमा ७ चौका र १ छक्कासहित ५९ रनमा आउट भए ।

ओपनर सक्षम बास्ताकोटी दुई र उत्तमथापा मगर एक रनमा आउट हुँदा बागमती २२–२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि लक्की कठायत र अशोक पौडेलले १ सय ५ रनको शतकीय साझेदारी गर्दै सहज जित दिलाए ।
योगेश भाट २ रनमा अविजित रहे । कर्णालीका अनुज चनारा, युनिस सिंह र अवास शाहले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णाली ३६.२ ओभरमा १ सय ३० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा विकेटकिपर विपिन रावलले ९२ बलमा ९ चौकासहित सर्वाधिक ६८ रन बनाए । विपिन सक्रिय कार्कीको बलमा एज लागेर विकेटकिपर उत्तम मगरबाट आउट भए ।

कर्णालीले आजको खेलमा पनि राम्रो सुरुवात गरेको थियो । ओपनर मनिश थापा र विपिनले ८ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । अहमद राजाको बलमा मनिश लक्की कठायतबाट २५ रनमा क्याच आउट भए । मनिशले ३४ बलमा ४ चौका हाने ।

त्यसपछिका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खराब सटका कारण लगातार विकेट गुमाए । सुवास ऐर शून्य, अवास शाह ४, अनिरुध कुँवर ११, दीनेश अधिकारी ५, सन्दीप शाही एक, मोहन विक र अनुज चनाराले खाता खोल्न सकेनन् ।

बागमती प्रदेशका सक्रिय कार्कीले ७.२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिए । अहमद राजाले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । ओमकार यादव र अभिषेक कोइरालाले एक एक विकेट लिए ।

प्रतिक्रिया