नक्सा पासबाटै उठ्छ करोडौँ राजश्व : छैन महानगरसँग यकिन विवरण

काठमाडौं । एक महिनाअघि नयाँ बानेश्वरस्थित बुद्धनगरको अल्फाबिटा कम्प्लेक्समा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा लिएर पुगे । अल्फाबिटाले नक्सा बमोजिम संरचना तयार नगरेको भन्दै उनी बेसमेन्ट भत्काउन नक्सासहित त्यहाँ पुगेका थिए ।
अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको थियो । मेयर शाह अल्फाबिटा कम्प्लेक्समा पुग्दा मालिकसँग विवादसमेत भएको थियो ।

‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?’ बालेनले अवैध संरचना हटाउन भनेर ३५ दिनअघि नै गोरखापत्रमा सूचना प्रकाशित भइसकेको भन्दै कम्प्लेक्सका मालिकलाई थर्काएका थिए । मेयर शाहले तपाईँको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईँसँग हुनुपर्ने भनेको केही समयपश्चात उनी नक्सासहित अल्फाबिटा पुगेका थिए । नक्साको विवरण सेवाग्राही र अर्को रेकर्ड कपी महानगरसँग पनि हुनुपर्छ ।

पछिल्लो समय महानगरले नक्सा पास नगरेका संरचनालाई भत्काउने कार्यलाई निरन्तरता दिँदै आइरहेको छ । सुरुमा नक्सा पास नगरेका संरचना हटाउने र अटेर गरेमा महानगरपालिकाले आफैँ भत्काउन गरेको छ ।
काठमाडौँ महानगरपालिकाले नक्सालाई आधार बनाएर संरचना भत्काउने गरे पनि ३२ वडामा बनेका संरचनाको तथ्यांक राख्न सकेको छैन । महानगरले नक्सा अनुसार भवन बने÷नबनेको खोजी–खोजी अनुगमन गरिरहेको छ । महानगरका मेयरले भने जस्तै नक्सा पास भएका सबै भवनको तथ्यांक हुनुपर्ने हो तर, यकिन तथ्यांक महानगरसँग छैन ।

भवन निर्माण मापदण्डविपरीत भएका भवन भत्काउने महानगरसँग कति संख्यामा संरचना बने त्यसको विवरण छैन । नियम सिकाउने महानगरले नक्सा पास भएको तथ्यांक राख्न नसक्दा महानगरभित्र नक्सा पास भएका कति भवन र संरचना छन् भन्ने छुट्याउन सकस परेको छ ।
संघीय राजधानीमा अवस्थित महानगरभित्र नक्सा पास नै गरेर बनाइएका भवनको यकिन विवरण महानगरले नराख्दा यकिन विवरण पाउन सकिएको छैन । दशकौँ अघि बनाइएका कतिपय भवनका नक्साहरू महानगरमा छैनन् ।
वर्षेनि महानगरले नक्सा पासगरी करोडौं रुपैयाँ आम्दानी गर्छ । तर कति संख्यामा घर तथा भवन निर्माण भएको छ भनेर भन्न नसक्ने अवस्थामा महानगरसँग छैन ।

दुई दशक अघिको नक्साको विवरण छैन
२०५४ साल पछाडिको मात्र महानगरले नक्सा पासको विवरण राख्न थालेको महानगरका शहरी व्यवस्थापन विभाग प्रमुख इन्जिनियर घनश्याम पौडेल बताउँछन् ।उनका अनुसार आर्थिक वर्ष २०५४।५५ देखि ०७८।७९ सम्म तथ्यांकमा ७४ हजार ६ सय ६७ नक्सा पास भएका छन् । यसअघि नक्सा पास गरेर बनाइएका संरचनाको यकिन विवरण राख्न नसकिएको उनको भनाइ छ ।

‘महानगरभित्र बनेका नयाँ तथा पुराना भवनको गणना गर्ने योजना बनाएको छ । यसको लागि गृहकार्य गरिरहेका छौँ,’ उनले भने,‘गुगल म्याप र ड्रोनबाट गणना गर्ने तयारी गरेका छौ । विशेषगरी वडा कार्यालयबाट विशेष कर्मचारी खटाएर पनि गणना गर्न सकिन्छ ।’
आर्थिक वर्ष २०७८।७९ मा २ हजार ४८६ नक्सा पाएका थिए । सोही वर्ष ३ हजार ३९५ भवन तथा अन्य संरचना निर्माण सम्पन्न भएको थियो ।

अनलाइन झन्झटिलो

महानगरले अनलाइनबाट नक्सा पास गर्ने सुविधा लागू गरे पनि पर्याप्त मात्रा प्रयोग गर्न सकेका छैनन् । ७० सालदेखि अनलाइनबाट नक्सा पास लागू गर्ने व्यवस्था जारी गरेको हो । हालसम्म १६ हजार ५६० सेवाग्राहीले मात्र सेवा लिएका छन् ।

कार्यालयमै धाएर र अनलाइनबाट नक्सा पास गर्नेको संख्या बराबरी रहेको पौडेलले जानकारी दिए । उनी थप्छन्,‘सेवाग्राहीलाई अनलाइनबाट सेवा लिन झन्झटिलो भएकाले पनि अनलाइनलाई प्रयोग नगरेको हुन सक्छ । सबै सेवाग्राही प्रविधिमैत्री नभएकाले कार्यालयमा आएर नक्सा पास गर्छन् ।’ उनका अनुसार सबैभन्दा बढी नक्सा पास १६, ३२, ६ र १४ बाट भएका छन् । कोहीबेला दिनको ४ देखि ५ वटा नक्सा पनि पास हुन्छन् । कुनै दिन नक्सा पास गर्ने कोही पनि सेवाग्राही आउँदैनन् ।
सेवाग्राहीहरू बढीजसो अढाइ तलाका घरको नक्सा लिएर आउने गरेको पौडेलले बताए । बस्नका लागि मात्र घर बनाएमा प्रति स्क्वायर फिट २५ रुपैयाँ लिने गरेको उनले जानकारी दिए ।

व्यवसायिक प्रयोजननका लागि तथा सटर भएका घर निर्माण गर्नुपरेमा प्रति स्क्वायर ३५ रुपैयाँ र १० हजार वर्गमिटर भन्दा ठूलो आवासीय भवन निर्माण गर्नुपरेमा प्रति स्क्वायर ३५ रुपैयाँ शूल्क लाग्ने गरेको छ । भवन निर्माण सम्बन्धी मापदण्ड र भवन संहिता अनुकुल भएको नक्सा मात्र पास गरिने उनले प्रस्ट पारे ।

तीन महिनामा नक्सा पासबाटै १२ करोड बढी राजश्व संकलन

गत दुई आर्थिक वर्षमा मात्र नक्सा पास गरेर महानगरले १ अर्ब २२ करोड २० लाख ९४ हजार ९ सय ९२ रुपैयाँ ५ पैसा राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७।७८ मा ५४ करोड ६६ लाख ५२ हजार ७६५.६१ रुपैया आम्दानी गरेको थियो ।

आव २०७८।७९ मा ६७ करोड ५४ लाख ४२ हजार २२६ रुपैया ४४ पैसा आम्दानी गरेको महानगरको राजश्व विभागले जनाएको छ । विभागका अनुसार २०७९ साउनदेखि यता हालसम्म १२ करोड ६८ लाख ७२ हजार ४ सय २९ रुपैयाँ ४८ पैसा आम्दानी गरेको छ ।
महानगरको राजश्व विभागका प्रमुख शिवराज अधिकारीले कोभिडका कारण भवन तथा घर निर्माण हुन राजश्व संकलनमा कमी आएको उनले बताए । यस आर्थिक वर्षदेखि नक्सा पास गराउनेको संख्या बढ्न सक्ने उनको भनाइ छ ।

‘कोभिडका कारणले नगरबासीले घर बनाउन सकेका थिएनन् । सबैथोकको अवस्था नर्मल भएकाले घर बनाउनेहरूको संख्या बढ्न सक्ने भएकाले नक्सा पास गराउनेहरू बढ्न सक्छन्,’ उनले भने ।

प्रतिक्रिया