संघीय संसद्मा पुगेका जुझारू दुई अनुहार

काठमाडौं उपत्यकाका दुई महिला यसपटकको प्रतिनिधिसभा चुनावबाट धेरैको ठम्याइभन्दा फरक रूपमा उदाएका छन् । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेकी २७ वर्षीया सोबिता गौतम सम्भवतः निर्वाचितमध्ये कम उमेरकी सांसद निर्वाचित हुन् । केही अघिसम्म पत्रकारिता र वकालत गर्दै गरेकी अधिवक्ता गौतम स्थापित दलहरूलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी बनेकी छन् । माओवादीको सशस्त्र द्वन्द्वमा लागेर पछि मूलधारको राजनीतिमा आएकी ओनसरी घर्ती पछि सभामुखसम्म बनिन् । उनै ओनसरीलाई गौतमले हराइन् ।


त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ की तोसिमा कार्की अर्की युवा नेता हुन् जो चिकित्सा पेसा छोडेर राजनीतिमा आइन् । लाभको पदमा रहेको कुरा उठाउँदै उम्मेद्वारी नै निर्वाचन आयोगले खारेज गरिदिएपछि उनी आफू लाभको पदमा नरहेको भन्दै न्यायको मागसहित सर्वोच्च अदालत गइन् । आयोगको निर्णयको विपक्षमा विश्लेषकहरूले समेत मत राखे । केही समयअघिसम्म गुमनाम जस्तो रहेको अनुहार बिस्तारै परिचित बन्दै गयो । अदालतले पनि तोसिमाको उम्मेद्वारी कायम गर्न निर्वाचन आयोगलाई आदेश दियो । त्यसले आममतदातामाझ आफ्नो अनुहार उम्मेद्वारका रूपमा चिनाउन उनलाई थप बल पुग्यो ।

‘म यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु, मलाई मतदातामाझ चिनाइदिन उहाँहरूको भूमिका रह्यो’, तोसिमाले विभिन्न अन्तर्वार्तामा भनेकी छन् । यसरी विवाद र अन्योलमाझ चुनावी प्रचारप्रसारमा हिँडेकी तोसिमाले अन्ततः स्थापित दलहरूका वर्षौँदेखि राजनीतिमा सक्रिय रहेका अनुहारलाई फराकिलो मतान्तरले पछाडि पारिन् र विजयी बनिन् । उनीसँग प्रतिस्पर्धामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालसमेत थिइन् जो पटकपटक मन्त्री बनेकी थिइन् ।

राजनीतिको पृष्ठभूमि नभएका, तुलनात्मक रूपमा कम उमेरका यी दुई महिलाले स्थापित दलका परिचित र एउटा ओहोदामा पुगिसकेका नेतालाई पराजित गरेर संघीय संसद्सम्मको बाटो पहिलो प्रयासमै सुरक्षित बनाउँछन् भन्ने सायदै कसैले अनुमान गरेका थिए । करिब पाँच महिना मात्रै अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसपटकको चुनावमा उनीहरू उठे । राजनीतिमा नयाँ त्यसमाथि महिलालाई आउन त्यति सहज मानिँदैन । पुराना पार्टीमा पनि प्रत्यक्षतर्फ चुनाव लड्न महिलाले टिकट पाउन मुस्किल हुने गरेको निर्वाचन आयोगकै विवरणले देखाउँछ ।

सोबिताको भनाइमा उनको पार्टीले महिलालाई उम्मेद्वार बनाउन चाहेर पनि महिलाहरू आफ्नो पेसाको सहजता त्यागेर आउन आँट गरेनन् । ‘हामीले उम्मेद्वार बनाउन खोजेको पनि हो तर विभिन्न कारणले राजनीतिमा आउन उहाँहरूलाई गाह्रो हुँदोरहेछ’, उनले भनिन् । सोबिता र तोसिमालाई पनि पहिला परिवारलाई आश्वस्त पार्न केही कठिनाइ भयो । तर उनीहरूले त्यही कठिन बाटो तय गरे । ‘मत माग्न हिँड्दा सानी नानी रहेछौ भन्नुहुन्थ्यो । तर आफ्ना मुद्दाबारे सुनाएपछि ए मान्छे मात्रै सानो कुरा त बुझेको रहेछ भन्नुहुन्थ्यो’, गौतमले बिबिसीसँगको कुराकानीमा भनिन् ।

उनी अहिले चुनावमा उत्रिएको काठमाडौंको त्यही क्षेत्रबाट अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जित्दा धेरैले मदन भण्डारीको श्रीमती भएर पाएको ‘सेन्टिमेन्टल भोट’ अर्थात् भावनात्मक भोट भनेका थिए । कतिपय भन्छन् अहिले पनि महिला उम्मेद्वारलाई पहिला पार्टीले नै पत्याइहाल्दैन । तर सोबिता र तोसिमाले चुनाव जितेर त्यो मान्यतालाई गलत साबित गरिदिएका छन् ।

एउटै पार्टीले पक्कड क्षेत्र भनेर दाबी गर्न नसक्ने क्षेत्र नम्बर दुईबाट उठ्दा सोबिता गौतमलाई काँठ क्षेत्र अनौठो लागेको थियो । आफ्नो क्षेत्रमा पर्ने सहरी भेगबारे जानकार भए पनि नाङ्लेभारेसम्म पुग्दा उनलाई आफ्नो क्षेत्रमा त्यति विकट ठाउँ पनि छ भन्ने थाहा थिएन । तर, निर्वाचन आयोगले दिएको १३ दिनको घरदैलो गरिन् र विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताबाट उनी मतदातामाझ युवा उम्मेदवारका रूपमा प्रस्तुत भइन।
घरदैलोमा सक्रिय देखिए पनि सबै मतदातासम्म पुग्न सक्ने कुरा भएन । केही टेलिभिजन अन्तर्वार्ता वा सामाजिक सञ्जालमा घरदैलो कार्यक्रम गरेका तस्बिर हेरेका भरमा उनलाई आफ्नो क्षेत्रका मतदाताले चिनेका थिए । घरदैलो कार्यक्रममा प्रायः तोसिमा र सोबिताको उस्तै अनुभव छ ।

राजनीतिक पृष्ठभूमि नभएको देखिए पनि गौतम र कार्की दुवै समाजका मुद्दामा केही अगाडि देखिनै आफूहरू भिजेको बताउँछन् । पेसाले डाक्टर रहेकी तोसिमा पहिलोपटक सञ्चारमाध्यममा बिबिसी मिडिया एक्सनको साझासवाल नामक कार्यक्रममा देखिएकी थिइन् । उनले त्यतिबेला अहिले पनि प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रमा उठाउँदै आएका मुद्दाबारे प्रश्न गरेकी थिइन् । त्यसयता गोविन्द केसी अनशन बस्दा उनका मुद्दाबारे उनी सक्रिय रूपमा धारणा राख्दै आएकी छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हमलाबारे उनीहरूको सुरक्षालाई लिएर ‘मेडिकल भ्रातृत्व बचाउ कार्यक्रम’मा पनि जोडिएकी छन् ।

उम्मेदवारी दिनुअघि उनी पाटन अस्पतालमा शल्यचिकित्सकका रूपमा कार्यरत थिइन् । ललितपुरको आदिनाथ गाउँमा जन्मिएकी उनी विभिन्न सामाजिक काममा पनि सक्रिय रहँदै आएकी छन् । हिउँदमा तराईमा अभावमा रहेकालाई कपडा बाँड्न होस् वा कोभिडका बेला निरन्तर खटिएर होस् उनी सामाजिक कार्यमा जोडिँदै आएकी छन् । कार्की र गौतम दुवै सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका हुन् । वकिल र डाक्टर जस्तो समाजले सम्मानित मान्ने पेसा भए पनि उनीहरू त्यसलाई त्यागेर राजनीतिमा छिरे । देश बनाउनुपर्ने ठानेर आएका उनीहरू अन्तर्वार्तामा सभ्य भाषामा तर्क राख्छन् । आलोचना गर्नेलाई धन्यवाद दिएको देखिन्छ ।

सबै कुरा आफूले जानेको दाबी पनि गर्दैनन् । अहिलेको जोश र आफ्नो इमानदारी देखाउँदै आवश्यकताअनुसार विज्ञहरूसँगको सल्लाह लिएर सदनमा आवश्यक नीतिगत कुरा उठाउने दाबी गर्छन् । उनीहरू जुन पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उठे त्यो स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टी हो । उक्त पार्टीको उदयलाई अहिले कतिपयले यो चुनावको रोचक पक्ष मानेका छन् ।

गत असार पहिलो साता मात्रै गठन भएको पार्टीले अहिलेसम्म काठमाडौंका चार र चितवनका दुई अनि ललितपुरको एकसहित सात स्थानमा प्रत्यक्षतर्फ जित हासिल गरिसकेको छ । समानुपातिकतर्फ करिब साढे तीन लाख मतसहित तेस्रो स्थानमा रहेको छ । उक्त पार्टी अब राष्ट्रिय दल बनेपछि सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ भन्ने धेरैको चासो छ । त्यसबारे प्रश्न गर्दा गौतम भन्छिन्, ‘त्यो एकजना सोबिताले भनेर हुँदैन । हाम्रो पार्टीले निर्णय गर्ने कुरा हो ।’

तोसिमा र गौतम दुवैलाई आफ्नो हुँदाखाँदाको वकालत र डाक्टरको पेसा त्यागेर अनिश्चित भविष्यतर्फ वा राजनीतिको ‘दुर्गन्धित खेल’मा लाग्न हुँदैन भन्नेहरू धेरै थिए । अहिले उनीहरूको जितले धेरै युवा र महिलालाई आशावादी बनाएको भन्ने उनीहरूलाई लाग्छ । ‘हामीभन्दा अघिका युवालाई जस्तो अब हामीलाई गल्ती गर्ने छुट छैन । हामीले त राम्रो गर्नैपर्छ’, गौतमले भनिन् । ‘मलाई अहिले नेता नभन्नूस् । म सांसदका रूपमा जाँच दिन लाग्दैछु । पाँच वर्षपछि मेरो काम हेरेर नेता भन्नूस् । मबाट तपाईंहरूले निराश हुने अपेक्षा नगर्नूस् ।’ (बिबिसी)

प्रतिक्रिया