आआफ्नै डम्फूका तालमा रमाउँदै राजनीतिक दल

मोहनप्रसाद सापकोटा

‘जे भएको थियो त्यो नै गलत भएको थियो त्यसैले जे भइरहेको छ त्यसलाई सही भइरहेको छ भन्ने आधार नै छैन । परिवर्तन विगतका खराबीलाई दण्डित गर्नुको साटो वा खराबीलाई न्यूनीकरण गर्नतिर केन्द्रित हुनुको साटो आफ्नो भौतिक परिवर्तनतिर केन्द्रित भयो भने वा हुन गयो भने त्यो भूसको आगो बन्दछ । यस्तो आगो बाहिर देखिन्न तर भित्रभित्र बलिरहेको हुन्छ । अझ यस्तो निकृष्ट परिवर्तनलाई अनुसरण गर्ने परिपाटी बस्यो भने त्यो देशको लागि सबभन्दा ठूलो दुर्भाग्य हुन जान्छ ।’

दिएर आफ्नो बनाउने संस्कार गलत संस्कार हो । सधैँ दिने कुरा नहुन सक्दछ, नपुग्न सक्दछ अनि आफन्त पनि टेढिन थाल्दछन् । नेपालीमा देशभित्र मिहिनेत नगर्ने अत्यन्त गलत संस्कार विकसित भइरहेको छ, वितरणमुखी आर्थिक नीतिले यो संस्कारलाई घटाउँदैन उल्टो मलजल मात्र दिन्छ । विकास नेपाल र नेपालीको हितलाई सर्वोपरी राखेर गरिनु पर्दछ । सीमापारिको वा समुद्रपारिको लागि होइन देशको आवश्यकताको पहिचान गरेर त्यसको परिपूर्तिका लागि विकासलाई अघि बढाइनु पर्दछ । नेपालीले अपनत्व ग्रहण नगर्ने नमुनाका विकासहरू टिक्दैनन् । रोप वे, धरान–ठोरी–जनकपुर–अमलेखगञ्जसम्म चलेको रेल, ट्रली बस, पछिल्लोपटक विराटनगरको ग्याँस पाइप वितरण परियोजना र असंख्य बन्द गरिएका उद्योगधन्दा यसका प्रमाण हुन् । दुई तीन वर्षको बजेट र त्यति नै रकम बराबरको ऋण खन्याएर रकेट उडाउन पनि सकिन्छ । तर, खोक्रो प्रसिद्धिका लागि त्यसो गरिए पनि त्यो दिगोचाहिँ हुन्न । किनकि त्यस्ता विकासका आयोजना नेपालीको आवश्यकता, स्तर र प्राथमिकताभित्र अहिले पर्दैनन् ।

निषेधको राजनीतिले प्रशंसकको संख्या हरेक दिन घटाउँछ, लामो समय टिक्दैन । राणाशासन, पञ्चायत यसै कारण अस्ताएका हुन् । ठूला भनिएका राजनीतिकदल जनताबाट दण्डित हुनुको प्रमुख कारण पनि यही हो । यसैबाट अहिले प्रचण्ड, सिके राउत आदि जन्मिएर संसद्मा प्रतिनिधित्व हुनुको कारण पनि यही हो ।

शीघ्र प्रतिक्रिया दिने बानीले एउटा सफल राजनीतिज्ञ हुनबाट मानिसलाई रोक्दछ । पद ठूलो कुरा होइन, कहिले को राजा हुन्छन्, कहिले को राष्ट्रपति हुन्छन् कहिले को प्रधानमन्त्री हुन्छन्, मन्त्री आदि पदमा पनि एउटा न एउटा त पुगिहाल्छ नै । कोही कुनै पदमा पुग्दा उसका घेरामा पर्नेले फाइदा लिन्छन् नै, फाइदा लिनेले गुणगान गाउँछन् नै । राजतन्त्र वा राणतन्त्रमा जस्तै अरू तन्त्रमा पनि कसैको हुँदै नभएको गुण गाउँदै हिँड्ने भाटहरू त हुन्छन् नै । गुण कुनै सिद्धान्त वा वाद वा आस्थाले जन्माउने कुरा होइन, व्यक्तिमा जन्मसिद्ध हुने कुरा हो । यसैले मानिसको मनले व्यक्ति विशेषले देशका लागि गरेको योगदानलाई मात्र लामो समय सम्झने गर्दछ । स्वार्थी जमातको भिडले स्वार्थवश आस्थाको आधारमा आँखा चिम्लेर गरेको कसैको प्रशंसा दिगो नहुने रहेछ । कसैको नाम इतिहासका पानामा टाँसिँदैमा त्यो अमर नहुँदो रहेछ, उसको चरित्र अनुकरणीय बन्न नसक्दो रहेछ, मान्न नसकिने रहेछ ।

०७ सालदेखि हालसम्म दिवंगत भएका वा राजनीतिकरूपमा पाखा लागेका अनुहारहरू यसका प्रमाण हुन् । कमसेकम दुई÷तीन पुस्ताका जनताका मनमा टिक्ने काम जसले गर्न सक्दैनन् तिनको भौतिकरूपमा ठडिएका सालिकको पनि कुनै महत्व नहुँदो रहेछ, त्यस्ता सालिक वर्षभर चराले विष्ट्याउन सजिलो थलो मात्र हुँदो रहेछ । उसका जीवनी लेखेर छापिएका करोडौँका सचित्र पुस्तकहरू पनि जीरामरिच पोको पारेरै सकिँदा रहेछन् ।


आफैँले अँगालेको सिद्धान्त, आफैँले बोलेका कुरा, आफैँले लेखेका दस्तावेज जब आफैँबाट उल्ट्याइन्छन् तब त्यो राजनीतिज्ञ जनताको मनबाट बाहिरिन्छ । देशमा भएका विगत, वर्तमान र भविष्यमा सबै राजनीतिज्ञको चरमोत्कर्षमा पुगेको प्रसिद्धि दिनानुदिन पतन हुनुको प्रमुख कारण यही हो ।


जतिसुकै नास्तिक भए पनि वा भौतिकवादी भए पनि सामान्य मानवीय संस्कार समाजमा टुट्दैन । कैद भुक्तान गरेर वा नगरेर आएको ज्यानमाराले दिएको अहिंसाको प्रवचन, स्रोत नखुलाई करौंडोको सम्पत्ति जोड्नेले भ्रष्टाचारको विरोध गर्दै लेखेको कानुन, चार÷चारवटी श्रीमतीको पोइले वा असंख्य श्रीमानको जोइले दिने नारी अधिकारको भाषण, बापती लागेको व्यक्तिले गेरुवस्त्र धारण गरी दिएको आध्यात्मिक प्रवचन, शास्त्रको अपव्याख्या गरी कुनै भ्यान्टे पण्डितले गर्ने पुराणवाचन अनि शारीरिक वा मानसिक वा नीतिगतरूपमा विदेशीको अगाडि आत्मसमर्पण गर्ने र त्यसलाई पनि राष्ट्रवादसँग लगेर जोड्ने राष्ट्रियता समाजले पचाउँदैन, अहँ पचाउँदैन । जबरजस्ती कोच्याउनु बेग्लै कुरा हो, तर कहिलेसम्म ? स्वार्थको पर्दा वा पर्खालले यस्ता कुरा केहीसमय छोपिन्छन् तर बहुमत समाजले त्यसलाई आत्मसाथ गरेकै हुँदैन, त्यसैले लामो समय टिक्दैन ।

प्रधानमन्त्रीको रूपमा ओलीको सहज वातावरणमा काम गर्न पुग्ने संख्यासहित पुनरागमन हुँदा आमनागरिकमा केही आशा थिए, एक नागरिकका रूपमा ममा पनि थिए, अब त पक्कै केही हुन्छ भन्ने विश्वास पनि थियो । प्रधानमन्त्रीका रूपमा ओलि आएपछि उहाँलाई एक सामान्य नागरिकका हैसियतले बधाई एवं शुभकामना दिँदै फेसबकुका भित्तामा मनको तीतो पोखेको थिएँ । ५०÷५५ को उमेरको हाराहारीसम्मको अनुभवका आधारमा केही सुझाब पनि दिएको थिएँ । मैले शुभकामना दिने क्रममा लेखेथेँ, ‘दिएर आफ्नू बनाउने राजनीतिक संस्कारको अन्त गर्नुहोस्, सधैँ दिन सकिन्न, अनि आफ्ना भन्ने पनि खोइरो खन्न थाल्दछन् ।’ उनको सरकार कसरी स्खलित भयो अहिले सबैको सामु छर्लंग छ । अहिले सम्पन्न भएको निर्वाचनले पनि कस्तो सरकार दिन्छ त्यो हेर्न भने बाँकी छ । नतिजा पार्टीले सोचेजस्तो नआएपछि आउने प्रतिक्रिया कस्तो हुने हो सबै प्रतिक्षारत छन् । सबैको दिमागमा अहिले घण्टीको आवाजले रन्थनिरहेको छ ।

खुल्ला प्रयोगशाला

कुनै नयाँ बिउजीजन होस् वा मल, औषधि कुनै होस् वा भ्याक्सिन, शिक्षा होस् स्वास्थ, नुनदेखि सुनसम्म होस् वा कर्मदेखि धर्मसम्म वा राजनीति नै किन नहोस् सबै नै त यो देशमा प्रयोग भइरहेका छन् । कुनैबेला चर्चामा आइफा पनि आएकै हो । हुनसक्छ पछि अस्कर पनि नोबेल पुरस्कारको पनि चर्चा भएमा कुनै नौलो नमाने हुन्छ । कसले के पुरस्कार कसलाई र किन दिन्छन् भन्ने पनि अब नेपालीले बुझ्दै आएका छन् ।

सगरमाथाबाट भूउपग्रह प्रक्षेपण गर्न दिए विश्वभरका सबैले हेर्न पाउँछन्, कसैले मागे त्यो पनि गर्न दिए हुन्छ । पैसा आउँछ भन्दै स्वास्नीको जिउ भाडामा लगाउन र आमाको रगत बेच्न हुन्छ भन्ने शैलीका तर्कसँग विवाद गर्नु पनि परेको छैन । जसले जे सक्छ त्यो नगदमा परिणत गर्दा हुन्छ । सिद्धान्त नै जसका एक घुट्को र एक खोकामा बिकिसके ती भालुहरूलाई पुराण के सुनाइरहनु ? सबभन्दा बढी पैसा त देश भाडामा दिँदा वा बेच्दा आउँछ किन झिनामसिना कुरामा दिमाग लाइरहनु ? कहिले घोप्टे माथिको कुटो, कहिले बिउका लागि राखिएको भकारीको धान, कहिले टुँडालमा राखेका मकैका झुत्ता बेचेर घर चाँडै विकास हुन्न, दाम गतिलो आए घरै बेच्यो सबैको आर्थिकस्तर ह्वात्तै माथि जान्छ । सल्लाह हो मान्न जबरजस्ती छैन ।

९ का अगाडि ६ थपेर ६९ हुँदो रहेछ । संसद्ले पनि हल्लाखल्ला गरेको सुनियो । अचम्म लागेन किनकि यस्ता धेरै उदाहरण सुन्दै आइरहेको छु । जागिर खाँदा लिखित र अन्तर्वार्तामा दिइने नम्बरहरू अनि कार्य सम्पादन मूल्यांकन फारामका अंकहरू मात्र होइन नम्बर दिएका कापी वा सिट नै बदल्ने प्रचलन यो देशका लागि नौलो होइन । यसो गर्न नजान्ने त कार्यालयका दृष्टिमा वा राजनीतिका दृष्टिमा कोग्ल्याँटो हुन्छ । यो प्रथा नै छ त्यसैले म यसलाई अचम्म मान्दिनँ ।

देशले छिटोछिटो प्रगति गरिरहेकोमा गर्व छ मलाई । पहिला पहिला नक्कली प्रमाणपत्र विहारतिरबाट आउँथे अब स्वदेशमै बन्न थालेछन् । आत्मनिर्भरतातिर उन्मुख देशको किन विरोध गर्नु ? कसैको दबाबमा पढ्दै नपढिकन शिक्षित जनसंख्या बढाउने नीति देशले अँगाल्न हुन्छ भने विश्वविद्यालयहरूले उच्च शिक्षाको प्रमाणपत्रमा नम्बर हाल्दा अलिकति स्वविवकेक प्रयोग गर्न किन नमिल्ने ? मजाले मिल्छ । केही भन्नु छ कसैलाई ?

परिवर्तन

मेरो पालामा दिनभर खेत खन्न सक्षम थिएँ । मेरा सन्तानको सक्षमता मेरो सक्षमतासँग मेल खाँदैन । हरेक परिवारमा यही नियम लागू हुन्छ । पाका उमेरकाहरू सम्मानितरूपमा निष्क्रिय हुन्छन्, व्यवहार नयाँ पुस्तामा सर्दै जान्छ । यही नियम राजनीतिमा पनि लागू हुन्छ र हुनै पर्दछ । पेटभित्रैदेखि राजनीति गर्न सुरु गरेर घाटमा नपुग्दासम्म राजनीति गर्ने धेरै जन्मिए, तर तिनले राजनीतिलाई वा पद्धतिलाई सुधार्न सकेनन् ।

‘जे भएको थियो त्यो नै गलत भएको थियो त्यसैले जे भइरहेको छ त्यसलाई सही भइरहेको छ भन्ने आधार नै छैन । परिवर्तन विगतका खराबीलाई दण्डित गर्नुको साटो वा खराबीलाई न्यूनीकरण गर्नतिर केन्द्रित हुनुको साटो आफ्नो भौतिक परिवर्तनतिर केन्द्रित भयो भने वा हुन गयो भने त्यो भूसको आगो बन्दछ । यस्तो आगो बाहिर देखिन्न तर भित्रभित्र बलिरहेको हुन्छ । अझ यस्तो निकृष्ट परिवर्तनलाई अनुसरण गर्ने परिपाटी बस्यो भने त्यो देशको लागि सबभन्दा ठूलो दुर्भाग्य हुन जान्छ ।’ सात सालदेखिका विगतका सबै खाले परिवर्तनलाई तटस्थ र शान्त दिमागले केलाउनुहोस् र माथिका भनाइलाई नबुझुन्जेल पटकपटक पढ्नुहोस् । अहिलेको गलत र दुःखद् परिस्थितिको कारण फेला पार्नु हुनेछ ।

डम्फू आआफ्नै

दलीय व्यवस्थामा सबै दलको चाहना सत्ताप्राप्ती नै हुन्छ । जनतालाई वा देशलाई उकुसमुकुस पार्ने कुनै निर्णय सत्तापक्षले गर्दा विपक्षी दलले खबरदारी गर्दै सडक तताउने गर्दछन् । जनतामा स्वतन्त्र चेतना ए र तीनले त्यसमा समर्थन गरे, सत्तापक्ष झुक्न बाध्य हुन्छ । विश्वको परिपाटी हेर्दा त्यही देखिन्छ । तर हाम्रो देशको इतिहास र वर्तमान फरक छ ।

यहाँ विगत ४५ वर्षको सेरोफेरोमा अनेकौं काण्डहरू घटे । जनताले त्यसको जाँचबुझ र दोषीमाथि कारबाही गर्न कहल्यिै आन्दोलन गरेनन् । प्रायः जति पनि विरोध भए कार्यकर्तास्तरमा मात्र भए । यो सही हो त्यसैले समर्थन गर्नुपर्दछ र यो गलत हा त्यसैले विरोध गर्नुपर्दछ भनेर जनताले यो देशमा कहिल्यै सोचेनन्, उदासीन नै बस्ने गरे । लहैलहैमा लागेर स्वागतको वा मलामीको भिडमा मिस्सिने मात्र गरे । यो देशको दुर्भाग्य हो ।

जबसम्म सत्यलाई हेर्नु पर्दा आँखामा फुलोपर्ने जनता भइरहनेछन् तबसम्म काण्डहरू घटिरहनेछन् । काण्डले नै राजनीतिक दलहरू बाँचेका हुन्छन् र त्यसैले नै तिनका कार्यकर्ता पालिएका हुन्छन् । सुडान काण्ड, लाउडा काण्ड, विभिन्न सुन काण्ड विदेशीसँग हुने कुनै ठूलो सम्झौता नेपालका राजनीतिक दलको चुनाव खर्च जुटाउने गरी भएका हुन्छन् भनेर केलाउने खूबी जनतामा कहिल्यै विकसित भएन । कुनै अमुक दल मात्र होइन हरेक दलभित्र भ्रष्टाचार हुन्छ भनेर जजसले भने ती पाखा लागे । लोकमान, बाबुराम, शैलजा आदि केही उदाहरण हुन् । अहिले पनि कसैले यसो भने ती पाखा लगाइन्छन्, पाखा लगाउने बाहनामा भिन्नता हुन्छ ।

बेलाबेलामा विभिन्न खरिद प्रकरणमा भ्रष्टाचार भयो भनेर कुरा निस्किन्छ । भएको हो होइन त्यो अहं कुरो यो हो । भ्रष्टाचार भएको हो भने शेर होस् वा स्याल त्यसमाथि कारबाही हुनुपर्दछ भनेर किन भन्न सक्दैनौँ हामी । भ्रष्टाचार हेर्न पनि आस्थाको चश्मा चाहिने भएपछि कानुन हेर्न पनि त्यस्तै चश्मा चाहिन्न र ? हामीले भ्रष्टाचारको न्यूनीकरण (अन्त त कतै कहिल्यै हुँदै हुँदैन) चाहेका हौँ कि दलविशेषले वा नेता विशेषले गरेको, गरिरहेको वा भविष्यमा गर्ने भ्रष्टाचारको मात्र अन्त चाहेका हौँ ? आँखामा भोगटेको बोक्राको चश्मा लाएर विरोध वा समर्थनका लागि सडकमा उत्रने जनता भएसम्म यो देश कहिल्यै सुध्रने छैन । अर्को चुनाब ताका फेरी कुनै काण्ड घट्नेछ वा कुनै ठूलो विकास आयोजनाको सम्झौता हुनेछ वा कुनै विदेशीलाई केही गर्न यो देशभित्र विशेष छुट दिइनेछ, त्यही पैसाले यो देशमा चुनाबी माहोल तात्नेछ । एक छाक मासुभात एवं केही हजार दैनिक भत्ताका लागि रातोदिन खटिनेहरूको अस्थायी रिक्युटिंग गरिनेछ ।

कसैको विरोध गर्न आफू सद्धे हुनुपर्दछ । कम से कम आफूले विरोधीले गरेजस्तो गल्ती नगरेको हुनुपर्दछ । आफू सत्तामा हुँदा पद्धति बसाउन नसक्नेले अरूको विरुद्ध देखाइने तालतालका गाईजात्रा हेर्न नै पर्दैनथ्यो । विकल्पलाई परगेल्दै गयौँ हामी, राजादेखि गणतन्त्रसम्मका सबको ताल देखियो । नेपाल आमालाई नगरबधु बनाउँदै बेच्ने अनी फेरी उनैलाई भोग गर्न लामबद्ध हुनेहरू मात्र देखिरहेका छौँ । सबै दल र तिनका प्रमुख नेता कुनै अदृश्य शक्तिले बुनिरहेको जालोमा फसिरहेका मात्र देखिरहेका छौँ ।

फलामले फलाम काट्छ भन्ने सिद्धान्त राजनीतिमा आँखा चिम्लेर प्रयोग हुने गर्दछ । कुनै एउटा समूहको तेजोवध गर्न त्यही समूहको कुनै अर्कोलाई प्रयोग गरिन्छ । यस्ता कुरा स्पष्टसँग बाहिर देखिन्नन्, तर भइरहेका हुन्छन् । तराई आन्दोलनलाई मत्थर बनाउन आफ्ना भएभरका नेतालाई हाम्रा प्रमुख दलले त्यतातिर कुनै बेला पठाएकै हुन् । बिन लादेनलाई अमेरिकाले पहिले सहयोग गरेकै हो । फलामले फलाम काट्छ भनेर प्रयोग गर्दा अलिकति मात्र चुकियो भने पनि बीचमा आफ्र्न गर्धन पर्न सक्दछ ।

म ती दिन सम्झन्छु, जतिखेर सत्तामा बस्नेहरू आफूले देशको भलो गरिरहेको नै भनिरहन्थे, जनताको हीतमा काम गरिरहेको नै भन्दथे । मलाई त्यस्तो लाग्दैनथ्यो त्यसैले परिवर्तनका पक्षधरहरूसँग लागेर आन्दोलनमा सामेल हुन्थें । अहिलेको जस्तो सम्हालिनसक्नु सञ्चारको विकास भएको थिएन । सत्ताको विरोध गरेर निकालिएका पत्रिका डराइडराई खोज्नु, किन्नु र पढ्नु पर्दथ्यो । जेजति सञ्चार माध्यम सर्वसुलभ थिए ती सत्ताको वसन्तभैरवी राग गाएर बसिरहेका हुन्थे । रेडियो बटारीबटारी बी.बी.सी. सुन्थ्यौँ ।

निश्चय नै सत्ताबाहिर बसेर सत्तामा बस्नेको खोइरो खन्न जति सजिलो हुन्छ, सत्तामा बसेर त्यो पूरा गर्न त्यति नै कठिन हुन्छ, हुँदोरहेछ । यस अवधिमा भइरहेका कागजी परिवर्तन अनि सत्तामा बस्नेको हुति र चाला धेरै हेरिरहेका छन् नेपालीले । कथनी र करनीमा आकाश जमिनको फरक देखिएपछि नेपालीले द्रूतगतिमा सत्ताको बनोट र शैलीमा परिवर्तन गरिरहेका छन् । बहुमत, अल्पमत, दुईतिहाइको सरकार हुँदै अहिले खिचडीको सरकार छ । यसैले दोस्रो आमनिर्वाचन गरिसकेको छ । निर्वाचनपछि देखिएको परिणामले पनि खिचडीकै सरकार हुने पक्कापक्की जस्तै देखिन्छ ।

दलका गतिविधिबाट आजित भएका नेपालीले करिब तीन महिनासम्म राजा ज्ञानेन्द्रलाई पनि पाइन हालेर हेरेकै हुन् । यत्रा परिवर्तन भए तर पनि जनतामा किन सन्तोष छैन ? किन सत्तामा बस्नेको विरोध गर्ने संस्कारलाई नै निरन्तरता दिन चाहन्छन् ? गम्भीर विषय यो हो । त्यसैले अहिले दलहरू सुध्रिउन् भनेर नयाँ दललाई आफ्नो असन्तोष पोखेर संसदमा पठाएका छन् । भविष्य हेर्न बाँकी नै छ ।

राजतन्त्र हुँदा अरौटेभरौटेहरू आफू मोजमस्ती गर्दथे र दोष जति लगेर दरबारको पर्खालतिर तेस्र्याउँदथे । त्यतिखेर जो जो गनाए ती दण्डित भएनन्, राजाले पनि जनतालाई चित्तबुझ्ने किसमले तिनलाई दण्डित गर्न सकेनन् । विश्वेश्वरले यही गल्ती गरेका थिए । जसको विरोध गरेर सात सालमा आन्दोलन भयो तिनैको पाउ पूज्न उनी बाध्य भए । राजा महेन्द्रले यो गल्ती सुधार गर्न त खोजे तर समर्थकको आदतमा सुधार लेराउन सकेनन् । पद्धतिलाई संस्थागत गर्न सकेनन् । बहुदल पछि कांग्रेस र अन्य दलले त्यही गल्ती फेरी दोहो¥याए । राजनीतिक दलभित्र र बाहिर पद्धति बसाल्नतिर ती लागेनन् । एकदिन टीका लगाएर एउटा दलले कुनै डाँकालाई पार्टी सदस्यता दिन्थ्यो भने अर्कोदिन अर्को दलले ज्यानमारालाई आप्नो दलभित्र हुल्थ्यो । चुनाबी शैली देख्दै लाज लाग्दा हुन्थे । पद्धतिले नियन्त्रण गरेको भनेर विश्वास गर्ने वातावरण बनेन । त्यसैले बहुदल आएपछि पनि जनतामा नैराश्यता हराएन । जनतामा कायम रहेको त्यही नैराश्यतालाई भजाएर पेरी आन्दोलन र पेरी परिवर्तन गर्दै गयौँ र आजको अवस्थामा आइपुगेका छौं । तर जनतामा आश अभैm जगाउनका सकेका छैनौँ ।

सत्तामा जो बसे तिनको आचरण पद्धति हुने भए, मानिने भए, राणाशासन नै अहिलेसम्म टिकिरहेको हुन्थ्यो । परिवर्तनको यो ७० वर्षको कालखण्डमा हरेक विचार धारा र राजनीतिक दल एउटा अदृश्य जालोमा पसेका देखिएका छन् । जति उम्कन खोज्छन् त्यति जेलिन्छन् । यो हाम्रा राजनीतिक दलकै कारणले भएको हो । चित्रविचित्रका भूट बोल्ने नगरिएको भए, जनतामा अति महत्वाकांक्षा जाग्दैनथ्यो, पद्धति बसाउन सजिलो हुन्थ्यो । अधिकारलाई क्रमशः प्रवाह गरिएको भए जनतालाई कर्तव्यवोध गराउन सजिलो हुन्थ्यो । अनुशासनमा नेतृत्व तह बसिदिएको भए राजनीतिमा छिर्ने पछिल्लो पुस्ता अनुशासित हुने थियो । हामीले यसो गर्न सकेनौँ त्यसैले विकृति र विसंगतीहरू संस्थागत हुन पुगे । हामी टालटुल गर्नमै व्यस्त हुन विवश हुन थाल्यौँ ।
अभिमान, धम्की, वा भूmट धेरै दिन टिक्दैन । कसैका आग्रह होलान्, कसैका पूर्वाग्रह होलान्, कसैले मान्लान् कसैले नमान्लान्, सबै स्वतन्त्र छन् । तर अचम्मको भूमिगत सञ्जालले देश खाइरहेछ म पनि एक जिम्मेवार निकायको एक जिम्मेवार नागरिक हुँ, कसैको नाम लिएर वा कुनै घटना बताएर बस्तुथिति दर्शाउन मन छैन । एउटा भए पो केरकार गर्नु । पद्धतिको धज्जी उडाइएका हजारौं उदाहरण मसँग छन् । भूमिगत गिरोह वा तस्कर मनोविज्ञानले ग्रसित समूहको पकड सबै क्षेत्रमा झांगिसकेको छ । व्यवस्थापन, युनियन, हाकिम र कारिन्दा को कसरी चल्छन् तिनको राजनीतिक सम्बन्धको डोरो कस्तो हुन्छ र तिनको ध्येय कस्तो हुन्छ, बताउनु पर्ला र ?

पद्धतिको विकास सहमतिमा हुनु पर्दछ । निषेधको जगमा पद्धति बसाउन खोजिए फेरी अर्को परिवर्तन हुन्छ । जनताले हरेक राजनीति भित्रको जालो फाल्न निर्णायक भूमिका निभाउन सक्ने अवस्था नआएसम्म जालोले सबै राजनीति र राजनीतिज्ञलाई गाँजिरहनेछ । बेलाबेलामा आकस्मिकरूपमा आउने विभिन्न मुद्दाहरूले मूल विषयलाई विषयान्तर गर्ने गरेको इतिहास छ । सम्झनुहोस् एकपटक विगतलाई राती झ्याप्प बत्ती जान्थ्यो, हामी भन्दथ्यौं ‘कताको मूर्ति उखेल्न लागे कि, विमानस्थलबाट केही पास गराउन थाले ।’

अन्त्यमा, पिएलाई चिठ्ठी

अंकल सबैतिरबाट आश मरेर मैले यो पत्र तपाईंलाई कोरिरहेछु । आशा छ मुण्टो बटार्नु हुने छैन । बेरा बा अर्थात् हजूरका हाकिमलाई अब सम्हाल्न नसकिने अवस्था आउन थालेको छ । घरमा अनेक थरी च्यानल घुमाईघुमाई दशथरी थुतुनु नहेर्नु भन्यौँ मान्नु भएन । अनेक थरी लगानीका पत्रिका चश्मालाई हेरेर भलाद्मी बनिन्न, आफैँले आफैँलाई चुस्त (अपडेट) पार्न पनि सकिन्न भन्यौ कानमा तेल हालेर बसि दिनु भो, मरिगए पनि टेर्नु भएन । हुँदा हुँदा केही दशक अगाडि काकालाई जे रोग लागेको त्यही रोगको लक्षण उहाँमा देखिन थालेको छ । काका आफ्नै छोराछोरीलाई मुठ्ठिभरका अराष्ट्रिय तत्व भन्नुहुन्थ्यो अहिले मेरा पिताले मलाई यही शब्द भन्न थाल्नुभएको छ । उहाँ हामीलाई कहिले गधा त कहिले मूर्ख भन्नु हुन्छ,, म उहाँले यसरी आफैँले आफैँलाई गाली गरिरहेको सहन नसक्ने अवस्थामा पुगिसकेको छु ।

काकाको जस्तै गरी पिताको पनि दुःखद् अन्त भएको हामी हेर्न सक्दैनौँ । मैले बाको कुरामा चित्त दुखाएको देखेर आमाले सम्झाउँदै भन्नु हुन्छ, ‘जन्मँदै जोरीपारि र बाउआमालाई गाली गरेर जन्मेको मान्छेले अब आएर बानी बदल्न सक्ने कुरा पनि भएन बाबु । बाउको कुरामा चित्त नदुखा तँ । तेरा बाउ त्यस्तै हुन् ।’

जागिरे मान्छे, देश सेवामा लागि रहनुभएको छ, अधिकांश समय कार्यालयतिरै बित्दछ । दिनको धेरै समय बित्ने ठाउँमै उहाँलाई सुधार्न सकिए घरमा पनि सुध्रनु हुन्छ कि भन्ने आश छ । त्यसैले हजूरले उहाँलाई उत्तेजित हुने समाचार लेखिएका सामाचारपत्रहरू पढ्न नदिनुहोला । उत्तेजित पार्ने फोन कसैको आए कपडछान गरेर काटि दिनुहोला । माग्न आउने कसैलाई भित्र नछिराई दिनुहोला । दिन आउनेलाई मात्र छिराइ दिनुहोला । कर्मचारी हुन् वा बाहिरका मान्छे हुन् हस् हजूर भनेर टाउको हल्लाउने (यस म्यान) खालका मान्छेलाई मात्र उहाँको कार्यकक्षमा भेट्न भित्र पठाउनुहोला ।
यति भयो भने काकाको रोग बामा सर्न रोकिन्थ्यो कि भन्ने झिनो आश छ । आफैँले आफैँलाई गाली गर्ने तहमा उहाँ नपुगि दिए हुन्थ्यो भन्ने परिवारको चाहना छ । बिन्ती छ हाम्रो परिवारका लागि यति गरि दिनुहोस् है । फुपूको छोराको सालोका नाताले हजूरलाई पिए बनाएको गुन, बिन्ती छ यति गरेर तिरी दिनुहोस् न है ।

उही हजूरको हाकिमको दुःखी पुत्र ।

प्रतिक्रिया