काठमाडौंमा सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ

गत कात्तिक २८ गते काठमाडौँको बसुन्धारास्थित मधुरविक्रम खनालको घरमा उनकी श्रीमतीसहित अन्य व्यक्तिहरुलाई बन्धक बनाई नगद, सुन, हिराका गरगहनालगायत धनमाल लुटने लुटेरा र लुटिएका सामानसहित पक्राउ परेकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय काठमाडौँमा सार्वजनिक गर्दै प्रहरी ।

काठमाडौं । नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौं महानगरपालिका– ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा कालीकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गङ्गाबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही, २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलकबहादुर शाही, जुम्लाका २० वर्षीय विशाल शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीय कविता बुढा र २१ वर्षीय दिपिका मल्ल शाही रहेका छन् ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी योजनाबद्धरुपमा लुटपाट गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले खनालकी श्रीमती नन्दा मल्ल र घरमा भएका अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर धारिलो हतियार खुकुरी, हतौडा र रडको प्रयोग गरी सख्त घाइते बनाई नगद, सुन र हिराका बहुमूल्य गरगहना लुटपाट गरिएको जानकारी दिए ।

‘उक्त घटना खनालका परिवारबाट चिनजान भएका व्यक्तिको नै संलग्नता देखिएको पाइएको छ, घरमा काम गर्ने व्यक्तिकोसमेत संलग्नता देखिन्छ’, उनले भने ।

प्रहरीले पक्राउ परेका व्यक्तिसँग ३८.५ तोला लेखिएको सुनको गिलास, सुनको तिलहरि एक थान, सुनको नौगेडी दुई थान, हिराको हार तीन थान, हतौडा एक थान, चक्कु दुई थान र रु एक लाख १३ हजार ५०० बरामद गरेको छ ।

पक्राउ परेकालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–२० को चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख बोहोराले बताए ।

प्रतिक्रिया