मानन्धर सम्मानित

काठमाडौं । नेपाली बालसाहित्यमा विशिष्ट योगदान दिएका अग्रज साहित्यकार शान्तदास मानन्धर सम्मानित हुने भएका छन् । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले ‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान २०७९’ पहिलोपटक मानन्धरलाई प्रदान गर्ने भएको हो । सो सम्मानअन्तर्गत २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिने केन्द्रले जनाएको छ । उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उनकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले ५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

बालबाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले मानन्धरलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । बैठकले ‘राकुपा बालवाङ्मय बाल प्रतिभा पुरस्कार’ को राशि १० हजार गर्ने निर्णय पनि गरेको जनाएको छ । सो पुरस्कारका लागि अग्रज हास्यव्यंग्य लेखक एवं बालसाहित्यकार प्रा. रामकुमार पाँडेले २ लाख ११ हजार १ सय ११ को अक्षयकोष राखेका छन् । यो पुरस्कार २० वर्षभन्दा मुनिका प्रतिभाले लेखेका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गर्न स्थापना गरिएको हो । यस पुरस्कारका लागि पुस्तक छनोट कार्य भइरहेको केन्द्रले जानकारी दिएको छ ।

पन्ध्र वर्षको उमेरदेखि लेख्नकर्ममा जोडिएका मानन्धरका यसबीचमा पाँच दर्जन जति बालसाहित्यका पुस्तक प्रकाशित छन् । यस्तै, उनले १ सय ५० भन्दा बढी पुस्तकको सम्पादन गरेका छन् । उनले ‘बालकोसेली’ नामक पत्रिका बीचमा आर्थिक अभावका कारण केही समय बन्द भए पनि ४० वर्षदेखि प्रकाशित छ । काठमाडौंको झोँछेमा जन्मेका उनले जेपी स्कुलमा पढेका हुन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिएका मानन्धर अहिले पनि निरन्तर लेखनकर्ममा सक्रिय छन् ।

प्रतिक्रिया