चिनियाँ राष्ट्रपति थाइल्याण्ड भ्रमणमा

ब्याङकक । चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ राष्ट्राध्यक्षको रूपमा पहिलोपटक थाइल्याण्ड भ्रमणमा आएका छन् । शनिबारसम्म यहाँ हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा भाग लिने सिलसिलामा उनी थाइल्याण्ड भ्रमणमा आएका हुन् ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाको निमन्त्रणामा यहाँ आएका राष्ट्रपति सीको यो भ्रमण चीन–थाइल्याण्ड सम्बन्धलाई थप सुमधुर र सुदृढ तुल्याउन फलदायी हुने थाइल्याण्डका लागि चीनका राजदूत हान झिङयाङले बताएका छन् ।

चिनियाँ र थाइल्याण्डका सञ्चारमाध्यमका प्रतिनिधिलाई संयुक्तरूपमा दिएको अन्तर्वार्तामा चिनियाँ राजदूतले राष्ट्रपति सीको भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई मार्गनिर्देश गर्न तथा त्यसलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन महत्वपूर्ण योगदान पुगने बताए ।

नयाँ ऐतिहासिक परिस्थितिमा भएको भ्रमणले चीन–थाइल्याण्ड सम्बन्धलाई अभूतपूर्वरूपमा विकास अवसर प्रदान गरेको उनले बताए । पारस्परिक सम्बन्धको दीर्घकालीन विकासका निम्ति मार्गचित्र तयार गर्न भ्रमण हुने विश्वास उनले व्यक्त गरे ।

दुई देशका जनताबीच मैत्रीपूर्ण आदानप्रदानको लामो इतिहास रहेको उल्ले गर्दै उनले कोभिड–१९ महामारीको प्रकोप शुरुभएदेखि दुवै देशले त्यसविरुद्ध सहकार्य गरेका तथा आर्थिक पुनरुत्थानका लागि पनि मिलेर काम गरिरहेका बताए ।

चीन र थाइल्याण्ड सुख दुःख साथी हुन् भन्दै चिनियाँ राजदूतले दुवै देशले तिनलाई साझा गर्दै आएको जनाए । यो वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ४७औँ वार्षिकोत्सव तथा चीन–थाइल्याण्ड व्यापक रणनीतिक सहयोग साझेदारी थालिएकोे १०औँ वार्षिकोत्सव हो ।

प्रतिक्रिया