अमेरिकामा लडाकु विमान ठोक्किए

टेक्सास । दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन् । दुई लडाकु विमान आपसमा ठोक्किँदा कम्तिमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार, शनिबार दिउँसो सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको बताइएको छ । ठोक्किएलगत्तै दुबै विमानमा आगलागी भएको थियो । दुर्घटनाबाट भएको क्षत्तिको थप विवरण सार्वजनिक भएको छैन । दुर्घटनाको विषयमा अनुशन्धान अगाडि बढाइएको छ ।

अमेरिकाको संघीय उडड्यन प्रशासनका अनुसार, दोस्रो विश्व युद्ध ताकाका बोइङ बी–१७ र बेल पी–६३ विमान आपसमा ठोक्किएका हुन् । बी–१७ मा चालक दलका सदस्यसहित कम्तीमा चार जना उड्न मिल्ने बताइएको छ ।

यसैगरी पी–६३ मा पाइलटमात्र रहने बताइएको छ । दुर्घटनाग्रस्त जहाजमा कति जना सवार थिए भन्ने कुरा भने खुलाइएको छैन । एक भिडियो फुटेजमा दुई लडाकु विमान कम उचाईमा उडिरहेको बेला आपसमा ठोक्किएको देखिएको छ ।

स्थानीय अधिकारीहरुले दुर्घटनामा परी दुई जनाको मृत्यु भएको बताएका छन् । स्थानीय केही सञ्चारमाध्यमले भने दुर्घटनामा परी ६ जनाको मृत्यु भएको दाबी गरेका छन् । सैन्य लडाकु विमान प्रदर्शन हेर्न करिब ६ हजार मानिस उपस्थित थिए ।

प्रतिक्रिया