चुच्चे नक्सको स्वामित्व लिन शीर्ष नेतामा होडबाजी

सुदूरपश्चिम । चुनावीसभाका चुच्चे नक्साको कुरा जोडतोले उठेको छ । चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका एमाले तथा सत्ता गठबन्धनका शीर्ष तहका नेतृत्वले चुच्चे नक्साको प्रसंग उठाएका हुन् । सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढंगले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताए । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्सा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभई आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताए ।

यस्तै एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्दै चुच्चे नक्सा जारी गर्नमा आफ्नो स्वामित्व रहेको बताए । दार्चुला मात्र नभई अन्य जिल्लाका चुनावी सभामा पनि चुच्चे नक्साको चर्चा राजनीतिक दलका शीर्ष नेताले गर्दै आएका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले बैतडीको पाटनमा पनि चुनावी सभालाई सम्बोधन गरे । यस्तै एमाले अध्यक्ष ओलीले यही कात्तिक १८ गते एकैदिन दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गरे । उनले शनिबार डोटी र कैलालीका तीन ठाउँमा चुनावी सभालाई सम्बोधन गरे ।

यसै गरी दार्चुलाबाट ०४८ सालमा विजयी भएका सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तेस्रो जितको खोजीमा छन् । उनी यसअघि ०५६ सालको निर्वाचनमा समेत विजयी भएका थिए । संविधानको रक्षा, लोकतन्त्र र आफूबाट सुरु भएका विकास निर्माणका काम पूरा गर्न उम्मेदवार बनेको बडूको भनाइ छ । अन्तिमचोटी मत माग्दै उनी मतदातामाझ हिँडिरहेका छन् ।

‘संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि बनेको गठबन्धनका उम्मेदवार जित्न जरुरी छ’, बडूले भने । ०४८ सालमा पहिलोपटक विजयी भएका बडू ०५१ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमसिंह धामीसँग पराजित भएका थिए । ०५६ सालमा पुनः विजयी भएका बडु ०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तेस्रो स्थानमा रहे । उक्त निर्वाचनमा नेकपा माओवादीका लक्ष्मणदत्त जोशी विजयी भए भने एमालेका गणेशसिंह ठगुन्ना दोस्रो भएका थिए ।

कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेद्वार ठगुन्नाबीच पहिलो प्रतिस्पर्धा ०६४ सालमा र ०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पुनः प्रतिस्पर्धा भयो । ०७० सालमा ठगुन्ना विजयी भए । ०७४ सालमा पनि एमाले उम्मेदवार पुनः विजयी भएपछि बडू भने समानुपातिकबाट सांसद बने । सो निर्वाचनमा कांग्रेसबाट विक्रमसिंह धामी उम्मेदवार बनेका थिए ।

सत्ता गठबन्धनबाट अहिले चुनावी मैदानमा रहेका बडू पाँच दलीय गठबन्धनका कारण जित निश्चित हुने बताउँछन् । एमाले उम्मेदवार ठगुन्ना पनि आफ्नो जित हुनेमा विश्वस्त छन् । स्थानीय तह निर्वाचनको परिणामका आधारमा आफू विजयी हुनेमा ठगुन्ना ढुक्क छन् । कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाका चुनावी एजेन्डा उस्ताउस्तै छन् । दुवै उम्मेद्वारले महाकाली करिडोर दार्चुला तिंकर सडक समयमै सम्पन्न गर्ने दाबी गरेका छन् । निर्माणाधीन दार्चुला–तिंकर सडकको ट्र्याक खुलाउन बाँकी ८७ किलोमिटर क्षेत्र नेपाली सेनालाई दिएको र समयमै निर्माण गर्न पहल गर्ने दुवैको वाचा रहेको छ ।

योबाहेक जिल्लाभित्र विद्युतीकरण, खानेपानी, विमानस्थल, पर्यटन पूर्वाधारलगायत दुवै उम्मेद्वारका चुनावी मुद्दा रहेका छन् । बडू र ठगुन्ना दुवै महाकाली नगरपालिका–५ का बासिन्दा हुन् । एउटै वडाका यी दुवैको मतदान केन्द्र पनि एउटै रहेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई नगरपालिकासहित नौ वटा स्थानीय तह रहेको दार्चुलामा एमालेले शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन दुहँु र व्याँस गाउँपालिका प्रमुख जितेको थियो । यस्तै उसले शैल्यशिखर, महाकाली र लेकम गाउँपालिकामा उपप्रमुख÷उपाध्यक्ष जितेको थियो । अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख तथा व्याँस र मालिकार्जुन गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कांग्रेस भने कुनै पनि स्थानीय तहको प्रमुखमा विजयी भएन । कांग्रेसले अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।

कुल ६१ मध्ये ३४ वडामा एमाले, १९ वडामा कांग्रेस र १० वडामा माओवादी केन्द्र विजयी भएको थियो । स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको मत २९ हजार ३ सय ९७, कांग्रेसको २१ हजार ५ सय ५४ तथा माओवादी केन्द्रको ७ हजार ८ सय ८१ मत रहेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दार्चुलामा ४५ हजार ५ सय ४३ पुरुष र ४३ हजार ६ सय ११ महिला गरी कुल ८९ हजार १ सय ५४ मतदाता छन् । यहाँ १ सय १२ मतदानस्थल र १ सय ४१ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया