गरिबका लागि भोजनालय

वीरगञ्ज । वीरगन्जमा ५० रुपैयामै पेटभरि खाना खुवाउने सेवामूलक होटल सञ्चालनमा आएको एक वर्ष भएको छ । विसं २०७८ साउन ३१ देखि एक गैरसरकारी संस्था ‘सानो पाइला’को सहयोगमा भरपेट भोजनालय नामक होटल सञ्चालन गरिएको हो । पचास रुपैयाँ तिरेर भात ,दाल , तरकारी र अचार भरपेट खान सकिने भएपछि वीरगन्ज सहरमा दिनहुँ श्रम गरेर जीविकोपार्जन गर्दै आएका कामदार तथा अध्ययनका लागि बाहिरबाट आएर बसेका विद्यार्थीलाई धेरै राहत मिलेको छ । वीरगञ्जस्थित मुर्लीको मुख्य सडकमै रहेको एउटा भवन भाडामा लिएर भोजनालय सञ्चालन गरिएको छ । स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले भोजनालय सुरु गरिएको संस्थाका सदस्य जय साहले बताए । ‘कम पैसामा स्वस्थकर खाना खुवाउने अभिप्रायले ‘भरपेट भोजनालय’ को सञ्चालन गरिएको र यसले बढ्दो गरिबी र महँगीको मारमा पर्दै आएका जनतालाई भोकै बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भने ।

संस्थाका युवाहरुले कोरोना सङ्क्रमणको पहिलो लहरमा पनि गरी वीरगन्जलगायत विभिन्न सहरमा ‘फिडिङ नेपाल क्याम्पियन’ नै सञ्चालन गरी करीब एक लाख ५० हजारलाई निःशुल्क खाना खुवाएका थिए । सो अभियानबाट प्रेरित भई भरपेट भोजनालय सञ्चालन गरेको संस्थाका संस्थापक कञ्चन झा ले बताए ।

पचास रुपैयाँमै घरको भन्दा स्वच्छ र स्वादिलो खाना खान पाउँदा आफूलाई धेरै नै सन्तुष्टी मिलेको लामो समउदेखि वीरगञ्जमा रिक्सा चलाउँदै आउनु भएका रामअषिश महराले बताए । उनले भने, ‘भरपेट भोजनालय हामी जस्ता आर्थिक अवस्था कमजोर भएका दैनिक ज्यालादारीका मानिसहरुका लागि वरदान जस्तै भएको छ ।’ मजदूरी गरी जीविकोपार्जन गर्दै आएका सञ्जय प्रसादलाई पनि यस भोजनालयले धेरै नै राहत पुगेको छ । ‘अन्यत्र होटलमा सामान्य खाजा खाने पैसाले यहाँ खानै खान पुग्दछ’ उनले भने ,‘म जस्ता दैनिक रुपमा सयौं श्रमजीवी मजदूरको लागि भरपेट भोजनालय बरदान जस्तै भएको छ । पचास रुपैयाँमा अघाउने गरी स्वस्थ र स्वादिष्ट खाना खान पाएका छौँ ।’

यहाँ दैनिक करिब तीन सय ५० जना खाना खान आउने गर्दछन् । वर्ष दिनमा भोजनालयको आम्दानी कुल ३८ लाख नौ हजार आठ सय १६ रुपैयाँ रहेको र खर्च ५९ लाख छ हजार नौ सय ६२ रुपैयाँ भएको संस्थाले जनाएको छ । भोजनालय सञ्चालन गर्दा कुल २० लाख ९७ हजार एक सय ४६ रुपैयाँ घाटामा भए पनि यसलाई नियमित सञ्चालनमा ल्याइने संस्थापक झाले बताए । उनका अनुसार ५० रुपैयाँमा विक्री हुँदै आएको खाना बनाउन प्रतिप्लेट नै ७७.५५ रुपैयाँ पर्ने गरेको छ ।

बिहान र बेलुकीको छाक टार्न यहाँ साँझ बिहान रिक्साचालक, ठेलाचालक, दैनिक ज्यालादारीमा काम गर्ने, श्रमजिवी मजदूर तथा विद्यार्थीहरुको निकै भिड नै लाग्ने गर्दछ । बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवा दिने उद्देश्यले भोजनालय सञ्चालन गरिएको छ ।

भोजनालयका व्यवस्थापक भाजु पटेलका अनुसार भोजनालयमा आएकाहरुलाई खाना खुवाउन हाल छ जना सहयोगी रहेका छन् । भोजनालय व्यवस्थापन र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पौष्टिक खानामासमेत जोड दिइएको सस्ंथाका संस्थापक झाले बताए । गुणस्तरीय खाना खुवाउने उद्देश्यले अभियानकै रुपमा मानवीय सेवाभावले सुरू गरिएको भोजनालयबाट विपद्का बेला निःशुल्क भोजन सेवा उपलब्ध गराउने प्रतिबद्धता उनले दोहोर्याए ।

प्रतिक्रिया