सुपथ मूल्य पसल : १५ दिनमा डेढ करोडको व्यापार

काठमाडौं । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।

दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडौंमा मात्र चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आउँदो कात्तिक १५ गतेसम्म सञ्चालन गरिनेछ ।

अरू बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

‘काठमाडौंसहित अन्य जिल्लामा रहेका कम्पनीको ‘आउटलेट’मा उपभोक्ताको भीड छ,’ उनले भने, ‘सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण छ । देशभर उत्साहजनक रूपमा उपभोग्य वस्तु बिक्री भइरहेको छ ।’

कम्पनीले एक महिनाको अवधिमा पाँच करोड ४० लाख रुपैयाँको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । पन्ध्र दिनका अवधिमा एक करोड ५० लाख रुपैयाँको सामान बिक्री भएको र एक हजार क्विन्टल बढी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

आउटलेटबाहेक कम्पनीले अनलाइनबाट पनि खाद्यवस्तुको अर्डर लिने र निःशुल्क होम डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीले गोगो २०, दराजलगायत अनलाइन सेवा प्रदायक संस्थाबाट घरघरमै निःशुल्क रूपमा खाद्यवस्तु पुर्‍याइरहेको नायब महाप्रबन्धक खनालले बताए । काठमाडौं, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा सञ्चालनमा छ ।

सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्यवस्तु उपलब्ध छन् । कम्पनीसँगै दुग्ध विकास संस्थान र नेसनल ट्रेडिङले पनि सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री गरिरहेका छन् ।

खसीबोका–च्यांग्राको बिक्री नवमीसम्म

सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्यांग्राको बिक्री भने नवमीसम्म सञ्चालन गरिनेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्यांग्राको मूल्य नियन्त्रण गर्न एक हजार ८०० खसीबोका तथा ५०० बढी च्यांग्रा काठमाडौं भित्र्याएको छ ।

कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकेजी ६८० र च्यांग्राको मूल्य जिउँदो प्रतिकेजी एक हजार २६० रुपैयाँ तोकेको छ । यसमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खसीबोका तथा दार्चुलाको अपि क्षेत्रबाट च्यांग्रा ल्याएको छ । रासस

प्रतिक्रिया