दसैं र पुस्तक

मानिसका लागि ज्ञान, विज्ञान, समाज, विश्व, प्रकृति, ब्रमाण्ड, जीवन र जगतका विविध आयामका बारेमा जानकारी हुनु आवश्यक छ । संसारमा रहेका विविध विषय, सिर्जना र सीपका बारेमा समेत ज्ञान हुन जरुरी छ । ज्ञानले मानिसलाई फराकिलो बनाउन मद्दत गर्दछ । प्रकृति र मानिसले निर्माण गरेको संस्कृति सम्पदा हुन् । हुनत् संस्कृति भनेको मानवीय गतिविधिको समुच्य रुप हो । यसमा कला, साहित्य, रहनसहन, धर्म, सामाजिक कार्य, इतिहास, परम्परा, सभ्यता, शिक्षा, आचरण, चिन्तन, जीवनपद्धति आदि पर्दछन् । यी विषयका बारेमा अध्ययन गर्नु र तिनका बारेमा जानकारी लिने काम पठन संस्कृतिमा पर्दछ ।

पढेर ज्ञान आर्जन गर्नका लागि पनि पछिल्लो समय मानिसलाई फूर्संद कम हुन थालेको छ । लामो बिदाको छेको पारेर मानिसले आफूलाई रुचि भएका पुस्तक पढ्ने मिलाउने गर्छन् । दसैंको बिदाले अध्ययनमा रुचि हुनेलाई एकाग्र भएर पढ्ने अवसर प्रदान गर्दछ । बिदाको समय मिलाएर रुचिका पुस्तक पढ्ने योजना बनाएका जोकोहीलाई यो समय निकै उपयोगी छ ।

समाजसँग जोडिएका आवश्यकता र जीवनपद्धतिसँग मेल खाने रचनाले मानिसलाई ऊर्जावान् बनाउन मद्दत गर्दछ । मानिसमा नयाँँ विचार, चेतना र भोलिको गतिशील समाज बनाउन समेत पुस्तकले मार्गनिर्देश गर्दछ । पढ्नु भनेको समाज, विश्व, जीवनजगत र प्रकृतिलाई बुझ्ने महत्वपूर्ण आधार पनि हो । पढेर जीवन र जगत बुझ्नु असल पठन संस्कृति पनि हो ।

पठन कार्यले मानिसमा विवेकको विकास गर्न सघाउँ पुर्याउँदछ र जिम्मेवार बन्न अभिप्रेरित पनि गर्दछ । सहप्राध्यापक डा.धनप्रसाद सुवेदीले पछिल्लो समय कामको चापले मानिसमा पठन संस्कृति कम हुँदै गएकाले बिदाको मेसोमा आफूलाई मनपरेका पुस्तक पढ्ने उपयुक्त समय भएको बताउँछन् । पठन संस्कृतिले ज्ञान आर्जनसँगै मनोरञ्जन पनि प्रदान गर्ने भएकाले मनपर्ने पुस्तक पढ्नु आवश्यक रहेको उनले बताए ।

उनले पुँजीवादी युगको विकास र बिस्तार भएसँगै मानिस पैसाका पछि दौडिन थालेसँगै फुर्सद कम भएकाले अध्ययनमा ध्यान कम दिन थालेको बताए । उनले भने, ‘उत्तरआधुनिक चिन्तनले पठनलाई होइन विपठनलाई जोड दियो । अर्को कुरा अहिले हरेक विषयमा जस्तै पठन संस्कृतिमा पनि बजारले हस्तक्षेप गरेको छ । आजको मानिस आफैँ खोजेर, बुझेर काम गर्ने झञ्झट गर्दैन ।’ डा.सुवेदीले बजार, विज्ञापन, हल्ला आदिले बताइदिने सूचनाका आधारमा आजको पाठकले पठन सामग्रीको छनोट गर्न थालेपछि अहिलेको पठन संस्कृति कमजोर बनेको विचार व्यक्त गर्छन् । दसैंको बिदाको अवसर पारेर पाठकले आफ्नो रुचिका पुस्तक पढ्नु राम्रो भएको जनाए ।

अभिनेत्री विमला केसीले पठन संस्कृतिले विचारलाई निखार्न मद्दत गर्ने बताउँदै दसैंको मेसोमा केही पुस्तक पढ्ने योजना बुनेको बताइन् । उनले पछिल्लो समय पठन संस्कृति कमजोर बन्दै गइरहेको बेला समय निकालेर आफूलाई विचारमा धारिलो बनाउन र ज्ञान आर्जनका लागि पनि पढ्नु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हाम्रो जीवनशैली, व्यवहार, आचारविचार आदि सबै कुरामा एकदमै स्खलन हुँदै गएको छ । यो पठन संस्कृति कमजोर बन्दै जाँदाको परिणाम हो ।’

यस्तै, उषा न्यौपानेले दसैँको बिदाको अवसरमा प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’, स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’, महेश पौड्यालको ‘अपरिचित अनुहार’, अशोक थापाको ‘सन्तापको धून’ र महेश कार्की क्षितिजको ‘एक्लो महारथी’ पढ्ने योजना बनाएको बताइन् ।

एक दर्जन पुस्तक पढ्ने योजना छ : महेश पौड्याल, साहित्यकार

महेश पौड्याल, साहित्यकार

दसैँ आउनुभन्दा केही महिनाअगाडिदेखि नै मेरो पढलेख बन्द भयो । कारण, मेरो छोरोको जन्मले निम्त्याएको व्यवस्तता र त्यसको तुरुन्तै पछि डेङ्गु संक्रमण । अब दसैँको छुट्टी सुरू भएको छ, र मेरो पढ्ने रहर पुनः जोडिने समय आएको छ ।

मैले यस दसैँमा पढ्नका लागि चर्चामा रहेका केही पुस्तक छानेको छु । मेरो सूचीकोे शीर्ष स्थानमा छ भारतीय लेखिका गीताञ्जली श्रीको बुकर बिजेता उपन्यास ‘रेतकी समाधि’ । मसँग यसको हिन्दी संस्करण छ । नेपाली पुस्तकहरूमध्ये मैले सूचीकृत गरेका पुस्तकहरूमा सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’, लोकराज भट्टको उपन्यास ‘छईल’, महानन्द ढकालको उपन्यास ‘बुह्रान’, दिलीप ढकालको उपन्यास ‘छलाङ’, नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’, चन्द्र गुरुङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’, रामलाल जोशीको कथासंग्रह ‘बाआमा’, रत्न प्रजापतिको कथासंग्रह ‘रित्तो रथ’ तथा लक्ष्मीप्रसाद देवकोटाले बालबालिकालाई लक्षित गरेर लेखेका सबै सिर्जना । समयले साथ दियो भने पछिल्लो समय आएका अन्य राम्रा पुस्तक पनि पढ्ने छु ।

पढ्नुपर्ने पुस्तक सिफारिस

१. गीताञ्जलीश्रीको उपन्यास रेत समाधि

२. लोकराज भट्टको उपन्यास छईल

३. अशोक थापाको कथासंग्रह सन्तापको धून

४. मञ्जु थापाद्वारा सम्पादित संस्मरण संग्रह छोरीले जन्माएका आमाहरू

५. प्रतीक ढकालको नियात्रा त्यो उज्यालो कर्णाली

६. शरद प्रधानको आलोचनात्मक जीवनीसंग्रह स्मृतिबिम्ब

७. ज्ञानु पाण्डेको निबन्धसंग्रह जीवनको अभिनन्दन

८. माधव घिमिरेको ऋतंभरा

रोजेर पढ्नुस् : एलबी क्षेत्री, साहित्यकार

एलबी क्षेत्री, साहित्यकार

पढ्नु भनेको दसैँमा मात्र होइन । पढ्नुको कुनै विकल्प नै छैन तर पनि दसैँको लामो बिदा कसरी सदुपयोग गर्ने त ? भन्दा एउटा पठन क्रिया पनि हो । म सधैं भन्ने गर्छु राम्रा पुस्तक पढ्नु । नराम्रा पढेर समय खेर नफाल्नु । म आख्यान प्रियमान्छे तर कविता पनि पढ्छु । अआख्यान (नन फिक्सन) पनि पढ्छु । मैले नयाँ पाठकलाई सुझाव दिनु पर्दा– बिपी कोइराला, ध्रुवचन्द्र गौतम, दौलतविक्रम विष्ट, पारिजात, गोठालेबाट सुरु गर्नुस् ।

मोहन शर्मा, परशु प्रधान, नीलम कार्की निहारिका, शारदा शर्मा, अमर न्यौपाने, नयनराज पाण्डेलाई पनि पढ्नुस् । वर्ष २०७८ मा प्रकाशित भएका पुस्तकहरूमध्ये धेरै पुस्तक राम्रा र चर्चामा आएका छन् । रोजेर पढ्नुस । उदाहरणका लागि – सती (सुजित मैनाली), कृष्ण (शंकरप्रसाद गैरे), छाईल (लोकराज भट्ट), रुइबा (चेतनाथ आचार्य), द्रौपदी अवशेष (निलम कार्की निहारिका), अपरिचित अनुहार (महेश पौड्याल), नियात्रामा इच्छा राख्नुहुन्छ भने ‘याकजी’ (युवराज नयाँघरे), त्यो उज्यालो कर्णाली (प्रतीक ढकाल) । नेपाली कथाबारे केही जिज्ञासा छ भने प्रा.डा.दयाराम श्रेष्ठको ’यथार्थवाद’ पढ्नुस् ।

अध्यक्ष कविडाँडा साहित्य समाज, चितवन, (हाल अस्ट्रेलिया)

विमला केसी, अभिनेत्री

पढ्न नभ्याएका पुस्तक पढ्दै छु : विमला केसी, अभिनेत्री

यो दशैंको बिदाको समय त थोरै नै हुन्छ । परिवारसँगको समयबाट केही समय मिलाएर केही पुस्तक अध्ययन गर्ने योजना बनाएको छु । नयाँ पुस्तक ल्याएको छैन । घरमा भएका तर राम्रोसँग पढ्न नभ्याएका पुस्तकलाई नै प्राथमिकतामा राखेको छु । मैले मि .इल्यिन, ये सेगालको ‘मानिस महाबली यसरी भयो,’ रामराज रेग्मीको ‘माक्र्सवादी राजनीतिक अर्थशास्त्र’ र ‘पूर्वीय दर्शनमा भौतिकवाद’ पढ्ने योजना बनाएको छु । साथै भ्याएसम्म डा.ऋषिराज बरालको ‘माक्र्सवाद र सबाल्टर्न अध्ययन’ दोहोर्याउने सोचेको छु ।

पढ्नु पर्ने पुस्तक धेरै छन् : महानन्द ढकाल, साहित्यकार

म साहित्य मनपराउँछु । दसैं र तिहारको समयमा पढ्ने भनेर छुट्टाएका केही नयाँ र पुराना साहित्यिक कृतिहरू छन् । केही किन्न भ्याएको छैन । पढ्नु पर्ने धेरै पुस्तक छन् तर समय निकै कम छ । चाडवाड मनाउने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र छोरीहरूको छोटो दुरीमा रहेका रमणीय स्थान हेर्न जाने रहर पनि पूरा गर्नैपर्ने बाध्यता छ । यी सबै बाध्यताहरू हेर्दा धेरै पुस्तक पढ्न सकिएलाजस्तो लागेको छैन ।

महानन्द ढकाल, साहित्यकार

यसपटकको दसैं तिहारको बिदा सुरु भएपछि मैले गजलसंग्रह ‘खुडी’ पढेँ । ‘मखलर’ गजलसंग्रह पनि पाएसम्म पढ्छु । त्यसपछि मैले कथासंग्रहलाई प्राथमिकतामा राखेको छु । केही वर्ष पहिला प्रकाशित भएको तर पढ्ने मेलोमेसो नमिलेको भक्तबहादुर बुढाको ‘कालीगढ’ कथासंग्रह लगभग पढेर सक्दै छु । निर्दोष जीवनको ‘नोस्टाल्जिया’ को केही भाग पढ्न बाँकी छ यो पनि यही समयमा सक्ने विचारमा छु । रामलाल जोशीको ‘बाआमा’ यो बिदामा पढिन भने फेरि समय मिलाउन गाह्रो हुन सक्छ । हतारको पढाइको कुनै अर्थ पनि हुँदैन नै । त्यसैले समय दिएरै पढ्ने विचारमा छु । केही समय अगाडि इजरायल बस्दै आएका कवि दीपक क्षेत्रीले उपहारस्वरुप पठाएका महत्वपूर्ण किताबले पालो पर्खेर बसेका छन् । एक दुईवटा ती पुस्तक पनि पढ्नु छ ।

मेरो ‘बुह्रान’ उपन्यास बजार आएपछि विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । थारू भाषा, संस्कार र संस्कृतिप्रति झनै चासो बढेर गएको छ । पछिल्लो समय संगीतकर्मी मित्र सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ ले पनि मन तानिरहेको छ । थारू संस्कार र संस्कृतिसँग नजिकको सम्बन्ध राखेर लेखिएको उपन्यास हो भन्ने सुनेको छु । एक कमलरी युवतीको कथासँग सम्बन्धित यो उपन्यासको कथानक के कसरी अगाडि बढेको रहेछ भन्ने हेर्नु छ मलाई ।

स्थानीय रुपमा पनि विभिन्न कृतिहरु प्रकाशित भएका छन् । हरेक भेटमा ‘मेरो कृति पढ्नु भयो ?’ भनेर कृतिकार साथीहरूले सोधिरहनु हुन्छ । ‘फुर्सदमा पढ्ने भनेर राखेको छु’ भनेर सधैं एउटै खालको उत्तर दिनु पनि भएन । स्थानीय लेखकका कृतिहरु त झन पढ्नैपर्छ भन्ने लाग्छ मलाई । बजारमा राम्रा–राम्रा पुस्तकहरू आएका छन् । कतिपय पुस्तकहरु समीक्षा पढेको भरमा चित्त बुझाएर बस्नुपरेको छ । कहिले पढ्ने फुर्सद हुँदैन, कहिले खोजेको ठाउँमा पाइँदैन । सोचेका जति सबै पढ्न सकिएला नसकिएला तर केही पक्कै पढिन्छ । साथीहरूको बीचमा पनि कसले के पढ्दै छ भन्ने कुराकानी हुने भएकाले पनि पढ्ने जाँगर बढेर आउने गर्दछ ।
पहिला पहिला पढाइप्रति धेरैको चासो घटेको हो कि जस्तो पनि लाग्थ्यो, तर पछिल्लो समय पठन संस्कृति बढ्न थालेको महसुस हुँदैछ ।

यो सालमात्रै बजारमा आएको दश दिनमा रामलालको ‘बाआमा’ दस हजारप्रति बिकेको र सुविन भट्टराईको ‘इजोरिया’ ले पाठकको माग धान्न नसकेको जस्ता समाचार पढ्न पाइएको छ । अन्य पुस्तकहरू पनि दोस्रो–तेस्रो संस्करण छापिन थालेका छन् । यी घटनाले पठन संस्कृति बढ्न थालेको अनुमान लगाउन सकिन्छ ।


पठन संस्कृति बढाउन युवापिँढीलाई पठनमा उत्साहित गराउनु जरुरी छ । पढ्ने वातावरण सिर्जना गरिदिनु जरुरी छ । बजारमा आएका सबै पुस्तकहरू न त खरिद गर्न सकिन्छ न त पढ्न नै । त्यसैले पनि जे–जति पढिन्छ छनोट गरेर पढ्नु उपयुक्त हुन्छ । कतिपय पुस्तकहरू समीक्षा पढेर, कतिपय पुस्तकहरू पढिसकेका साथीको सिफारिस अनुसार, त कतिपय आफ्नो रुचि तथा अध्ययनको क्षेत्रसँग सम्बन्धी रहेर छनोट गर्न सकिन्छ ।

पछिल्लो समय धेरैले मनपराएका र चर्चामा रहेका बाआमा, इजोरिया, सूर्यबहादुर थापा, कुलचन्द्र गौतम, अर्को भोर, अग्नि, ताल्चा, मोसो, मोम्चो, विगन रामको मादल जस्ता पुस्तक पढ्नसके राम्रो हुन्छ भन्ने लागेको छ ।

‘बुह्रान’ पढ्दै छु : पुष्पमणि प्रधान

नेपालीको महान चाड बडा दशैंले खुसीयाली र हर्ष छाएको छ । टाढा टाढाबाट आफन्तहरू चाड मनाउन आइरहेका छन् । प्रायः कर्मचारीको बिदा भएको छ । यस चाडमा बिदाको मौका पारेर आ–आफ्नो रूचिअनुसार कोही पुस्तक पढ्ने, कोही गीत संगीत, खेलकूद सिनेमा हेरेर समय बिताउने गर्छन् ।

पुष्पमणि प्रधान

मैले प्रत्येक वर्ष दशैंको बिदामा केही नयाँ पुस्तकहरू पढ्ने गर्छु । यो वर्षको दशैंमा साहित्यकार महानन्द ढकालद्वारा लिखित ‘बुह्रान’ उपन्यास पढ्ने निधो गरेको छु । बुह्रान छान्नु पछाडि तीनवटा कारणहरू छन्, पहिलो कारण यो उपन्यास नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै होइन पूर्व दार्जिलिङ सिक्किम, असम हुँदै जापान, कोरिया र अस्टेलियासम्मका पाठकको माझमा चर्चा परिचर्चा भएको छ । चारैतिर बुह्रानको चर्चा भएकाले पनि मलाई यो उपन्यास पढ्न मन लागेको हो । दोस्रो कुरा बुह्रान तराईको कथा हो । विषयवस्तु नयाँ भएको प्रतिक्रिया आइरहेका छन् । नलेखिएको विषयमा लेखिएको उपन्यास भएकाले पढ्ने हुटहुटी बढेको हो । तेस्रो कारण बुह्रान उपन्यासका लेखक हाम्रो क्षेत्रका स्थापित साहित्यकार भएकाले पनि यो कृति पक्कै पनि स्तरीय हुनुपर्छ भन्ने लागेकाले पनि पढ्ने इच्छा जागेको हो ।

हुन पनि यो उपन्यास नेपाली साहित्यका पुराना नयाँ साहित्यकार तथा समालोचकको मनमष्तिष्कमा छाएको छ । गाउँसहर जताततै यतिका चर्चा बटुलेको बुह्रान नपढी बस्न कहाँ सकिएला ? यो चर्चाले पनि मलाई तानिरहेको थियो । बुह्रान घरमा आइसकेको छ एक दुई अंश पढिसकेको छु र मज्जाले तानिरहेको छ । मेरो मनमा विभिन्न खुलदुली र प्रश्नहरू उब्जिएका छन् । यो उपन्यासमा त्यस्तो के छ ? किन यति धेरै चर्चा भएको छ ? यसमा के त्यस्ता विषयस्तु छन् जसले उपन्यासलाई चर्चामा ल्याएको छ ?

मेरा अग्रज तथा समकालीन साहित्यकारले बुह्रानबारे आ– आफ्नै धारणा राख्दै आएका छन् । कसैले यो उपन्यास दाङका थारूजाति भूमिपुत्रहरूको बसाइसराइको कथा हो भनेका छन्, कसैले जातीय सम्बन्ध, सहकार्य र सहयोगको उत्कृष्ट कथा भनेका छन् । कसैले यो उपन्यासलाई थारूजाति जसले आफूलाई भूमिपुत्र मान्ने गर्छ, जसको भाषिक, साहित्य संस्कार र संस्कृतिका साथै शैक्षिक, राजनैतिक, सामाजिक, आर्थिकलगायत थारूहरूले गरेका पहिचानका आन्दोलनहरूको इतिहास र दस्तावेजका रूपमा पनि लिएको पाएको छु ।

बुह्रान वास्तविक धरातलमा रहेर लेखिएको उपन्यास हो जस्तो लागेको छ । उपन्यासकार महानन्द ढकालले समातेको परिवेश उनी स्वयम् लामो समय बसेको घुमेको क्षेत्र हो भन्ने सुनेको छु । उहाँको बाल्यकाल र युवाकाल यहीँ हावापानी, माटोसँगै सम्बन्ध गाँस्दै बितेको थियो भन्ने सुनेको छु । उपन्यासकार थारू, भाषा, संस्कार र संस्कृतिसँग घुलमिल रहेकाले पनि यो उपन्यास यथार्थपरक हुनुपर्छ भन्ने लागेको छ ।

गैरसाहित्यिक पुस्तकलाई प्राथमिकतामा राखेको छु : जनक रसिक, साहित्यकार

जनक रसिक, साहित्यकार

दशैं तिहारको बिदालाई लक्षित गरेर कुलचन्द्र गौतमको आत्मकथा, सुविन भट्टराईको ‘इजोरिया’, पाउलो कोहेलोको ‘हिप्पी’, विश्वको इतिहास, सद्दाम हुसैनको जीवनी र आजको विज्ञान गरी ६ वटा नयाँ पुस्तक किनेर ल्याएको छु । यी सबै पुस्तक बिदा अवधिमै पढ्न त नभ्याइएला । यो पटक साहित्यकभन्दा गैरसाहित्यिक पुस्तकलाई बढी प्राथमिकतामा राखेको छु मैले ।

अरु समयमा काममा व्यस्त भइरहने हुनाले मेरो लागि दशैं तिहारजस्ता लामो अवधिका बिदा पठनका लागि उपयुक्त समय हुन् । उसो त अलिअलि लेखन अध्ययन निरन्तर नै हुने गर्छ, तर यो समयमा अलि बढी हुन्छ । प्रविधि र सामाजिक सञ्जालको तिव्र विकासले पुस्तक पढ्ने प्रचलन बिस्तारै घट्दै गइरहेको महसुस हुन्छ । पुस्तकका पाठकहरु बिस्तारै सामाजिक सञ्जालतिर व्यस्त हुन थालेका छन् । सबैको पहुँच, विषयवस्तुमा विविधता र सहज उपलब्धताले पनि होला, सामाजिक सञ्जालमा आकर्षण बढेको छ । तर साहित्यको एक तहको पाठक भने सामाजिक सञ्जाल प्रयोग गरे पनि पुस्तक पढ्नमा निरन्तर लागिरहेकै हुन्छ ।

यो समयमा लेखकले र प्रकाशकहरुले आफ्ना प्रकाशनमा दुई महत्वपूर्ण परिवर्तन गर्नु अति जरुरी छ– पहिलो, सिर्जनामा ज्ञानको दायरा र कलाको सशक्ततामा व्यापक वृद्धि गर्ने, दोस्रो सिर्जनाहरुलाई पनि प्रविधिमैत्री बनाउने । यसो गर्न सकेमा सिर्जनालाई जीवन्त बनाउन सकिन्छ र पठन संस्कृतिलाई पनि मजबुत बनाउन सकिन्छ ।

‘दोरी’ दोहोर्याएर पढ्दै छु : तुलसी शर्मा

तुलसी शर्मा

म अहिले जनक रसिकद्वारा लिखित ‘दोरी’ उपन्यास दोहोर्याएर पढ्दै छु । यसले गाउँले र सहरिया जीवन, श्रम र त्यसको मूल्य अनि विज्ञान प्रविधिले मान्छेको जीवनमा पारेको प्रभावलाई सहज र रोचकरुपमा देखाएको छ ।

यसको भाषा, शैली तथा कौतुहलताले तानेकोले यसलाई मैले दोहोर्याएर पढ्दै छु । दशैं तिहारको बिदामा मैले बाआमा, इजोरिया, मोक्षान्त, जीवनका रंगहरु, कुमाता लगायतका एक दर्जन पुस्तक पढ्ने सोच बनाएको छु ।

सचेत र पढेलेखेका नेपालीहरुमा पहिलेदेखि नै पठन संस्कृतिको विकास भएको पाइन्छ । पछिल्लो समय नेपाली साहित्यमा आएको नयाँ नयाँ शिल्प, शैली र रोचक विषय समेटिएका पुस्तकका कारण पठन संस्कृतिको विकास भएको पाइन्छ ।

संस्कृति र साहित्य रुचिका विषय हुन् : तेजविलास अधिकारी, समालोचक

तेजविलास अधिकारी, समालोचक

२०७९ सालको दशैं बिदा सुरु भएको छ । बिदालाई सदुपयोग गर्नेक्रममा व्यक्ति अनुसारको रुचि र रुचि अनुरुपको संगतले धेरै प्रभाव पार्दो रहेछ । एउटा साहित्य र संस्कृतिको विद्यार्थी भएका कारण यससँग जोडिएर आउने विषयक्षेत्र नै आफ्नो रुचिको क्षेत्र कायम हुन पुगेको छ । नेपाली समाजमा धेरै जनसंख्याले पर्व विशेषलाई खानपान र भेटघाटलाई विशेष महत्व दिएजस्तै केही दिनको बिदामा मैले साहित्यिक, सांस्कृतिक र त्यसैसँगै जोडिएर आएका राजनैतिक विषयसँग सम्बन्धित ग्रन्थहरु पठनमा समय बितिरहेको छ ।

मैले भर्खरै प्रकाशित सहिद सुरेश वाग्लेको स्मृतिग्रन्थ, अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत अन्तर्वार्ता संग्रह ‘नयाँ राजनैतिक विश्लेषण’, डा.बालाकृष्ण अधिकारीको माक्र्सवाद र साहित्येतिहास दर्शन, डिपी ढकालको समाजवाद र नेपाल, सुकुम शर्माको परिचयका सन्दर्भमा घनश्याम ढकाल, रणेन्द्र बराली र डिडी अधिकारीको नेपाली दलित साहित्यलेखनको इतिहास, कवि केशव सिलवालको चिवेचरा, अनिल श्रेष्ठको निबन्धसंग्रह टाइगर हिलकी पुनम, शेखर अर्यालको कवितासंग्रह काकालाई चिठी, रुपक अलंकारको महाकाव्य विश्रान्त, भूपाल राईको कवितासंग्रह यारी, डा. गोपाल ठाकुरको भोजपुरी व्याकरण आदि पढ्ने लाइनमा छन् । यस्तै केही कृति दोहोयाएर पढ्ने सोच बनाएको छु ।

प्रतिक्रिया