किन गरिदैछ जर्मन पर्खाल जस्तै चीनको पर्खाल भत्किने कुरा ?

सन्दर्भ चीनको राष्ट्रिय दिवस

लोकनारायण सुबेदी

२०२० मा राष्ट्रपति शी जीनपिङको हातमा यत्तिका ठूलो शक्ति आयो कि जुन शक्ति चीनका अध्यक्ष माओपछि कसैलाई प्राप्त भएको थिएन पनि भनिदैछ । शी जिनपिङ यतिबेला चीनमा कम्युनिष्ट पार्टी र सरकार दुबैभन्दा माथि र कतिपय बेलामा त देशकै पर्यायकारुपमा देखिएको समेत पश्चिमा मूल्यांकन छ । उनीहरुको निष्कर्श छ – यो स्थिति ठीक त्यस्तै हो जुन फ्रान्समा लुई १४औंलाई लाग्दथ्यो भन्नेहरु पनि छन् । त्यो भनेको ‘आइ एम द स्टेट’ (‘म नै राष्ट्र हुँ’) भन्ने कुरा हो ।

चीनका बारेमा र खाशगरी राष्ट्रपति शी जिनपिङका बारेमा धेरै भ्रामक हल्लाहरू भारत र पश्चिमा सामाजिक सञ्जाल, कतिपय सञ्चार माध्यम र कतिपय कूटनीतिक ब्यक्तित्वहरूले समेत गरे । तर त्यो सबै व्यार्थ ठहरियो । प्रचारकर्ताहरू अहिले त्यसबाट गिरेको शाख जोगाउन अनेक बहाना खोज्दै गरेको देखिदैछ । तर चीन र चीनका राष्ट्रपति शी लगायतका नेताहरूले त्यस्ता फर्जी प्रचारबाजीहरूको कुनै वास्ता गरेको देखिएन । उनीहरू शान्त र सौम्य किसिमले आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तब्य पालन गर्नमा दाँया बाँया नलागी तल्लिन रहेको देखियो । हल्लाहरू सबै पराजित भएर किनारातिर धकेलिए ।

हुन त बिश्वमा अनेक पूर्बानुमान नगरिएका र नसोचिएका अप्रत्याशित घटनाहरु घटित हुने गरेका छन् नै । यो २१औं शताब्दीको आरम्भकै पहिलो बर्षमा पनि त्यस्तै रोमाञ्चकारी र भयावह घटना घटित भएको थियो । त्यो थियो — सेप्टेम्बर ११ को घटना । जुन घटनाले एकै पटक धेरै कुरा बदलिदिएको थियो भने धेरै कुरा अझ बद्लिदै जाने संकेत पनि दिएको थियो । त्यो घटना सही अर्थमा एउटा बिभाजनकारी घटना थियो र त्यसपछि बिश्वले नै एउटा संक्रमणको स्थितिबाट गुज्रनु परेको थियो । त्यसको कारण बिश्वको सबैभन्दा शक्तिशाली देशका राष्ट्राध्यक्षले ह्वाइट हाउसबाट घोषणा गरिरहेका थिए कि – ‘वी आर रेडी टु क्रुसिफाई’ । त्यस घोषणाले वास्तवमा स्यामुअल हण्टिङटनको त्यस कुरामा अनुमोदनको छाप लगाइदिएको थियो कि बिश्व भिन्न सभ्यताहरुको संघर्षको बीचबाट गुज्रिरहेको छ । शायद यो सत्यको एउटा पक्ष थियो, तर दोश्रो केही अरु कुरा पनि थिए जसबाट दुनियाले पछिबाट पूरै या आधा–अधुरो तरिकाले देख्यो पनि जान्यो पनि ।

सेप्टेम्बर ११ पछि इतिहासले फेरि आफुलाई दोहोर्याइरहेको थियो, त्यसमा फरक के मात्रै थियो भने पहिला पूँजीवादी तथा समाजबादी थियो तर अहिले उदारबादी र कट्टरपन्थी(पछि आएर एकथरीले यसलाई पश्चिमा र इस्लामिक अथवा पूर्बी संसारकोरुपमा पनि प्रस्तुत गर्ने गरेका छन्) या यसो भनौ त्यसमा बजारको तानाशाही हुँदाहुदै पनि उदारबाद थियो दोश्रोमा उदारबादको लागि कुनै स्थान थिएन । यसर्थ टक्कर स्वाभाविक थियो । यो टक्कर लामो तानियो तर लडाईलाई निष्कर्ष बिना नै समाप्त घोषित गर्नु परेको थियो ।

यसबाट अमेरिकाका अगाडि प्रश्न चिन्ह पनि खडा भयो । यसका अन्य परिणामहरुमध्येको एक अमेरिकी बित्तीय संकट पनि थियो । ‘सब–प्राइम’संकटको नामबाट आएको संकटले अमेरिकी पूँजीवादको आधारलाई धेरै हदसम्म कमजोर तुल्याइदियो । कतिपय अर्थशास्त्रीहरुद्वारा ‘इतिहासको अन्त्य’को कुरा जस्तै अर्थशास्त्रको पनि ‘डिकपलिङ्ग’ को घोषणा पनि गरियो । यही पृष्ठभूमिबाट अहिले चीनको महत्वाकांक्षाको पखेटा पलायो र चीन बिश्वलाई चूनौति दिने स्थितिमा पुग्यो भन्ने निष्कर्श पश्चिमाहरुबाट निकालिदैछ । बर्ष २०२० मा बिश्व जुन चूनौतिहरुबाट गुज्रियो तिनमा चीनले केही अबसरहरुको खोजी गर्यो र आफ्ना उद्देश्यलाई लिएर अगाडि बढ्यो ।

आज अप्रत्यक्ष या लुकेको स्थितिमा नै सही तर उसले दाबी गरिरहेको देखिदैछ कि –‘लिबरल वल्र्ड अर्डर अब ग्लोबल रुलको सुरक्षा र सम्बृद्धि अनुकूल छैन’। चीन चाहन्छ कि ‘चिनीया चरित्रको समाजबाद’लाई त्यसैरुपमा स्वीकार्यता मिलोस्,जुनरुपमा बर्लिन पर्खाल ढलेपछि पूँजीवादलाई मिलेको थियो । यसका लागि चीनले रणनीतिकरुपले काम पनि गरिरहेको छ । वास्तवमा आज अमेरिका बिश्वको एउटा आदर्श ब्यबस्थाको आधारभूमिबाट खस्किदो छ । खाशगरी पछिल्लो राष्ट्रपति निर्बाचन र त्यसको ठिक पछिको स्थितिले अमेरिकी साखलाई नराम्रोसँग बट्टा लगाइदिएको छ ।

त्यसले अमेरिकालाई ‘ग्लोबल लिडर’को सामान्य अबधारणाबाट किनारामा धकेलिदियो । परिणामतः त्यसले चीनका हातमा महान् अबसर प्रदान गर्यो । यसरी २०२० मा राष्ट्रपति शी जीनपिङ्गको हातमा यत्तिका ठूलो शक्ति आयो कि जुन शक्ति चीनका अध्यक्ष माओपछि कसैलाई प्राप्त भएको थिएन पनि भनिदैछ । शी जिनपिङ यतिबेला चीनमा कम्युनिष्ट पार्टी र सरकार दुबैभन्दा माथि र कतिपय बेलामा त देशकै पर्यायकारुपमा देखिएको समेत पश्चिमा मूल्यांकन छ । उनीहरुको निष्कर्श छ – यो स्थिति ठीक त्यस्तै हो जुन फ्रान्समा लुई १४औंलाई लाग्दथ्यो भन्नेहरु पनि छन् । त्यो भनेको ‘आइ एम द स्टेट’ (‘म नै राष्ट्र हुँ’) भन्ने कुरा हो । कोभिडका बिरुद्ध लड्ने आफ्नो प्रबिधि र कौशलतामा सफल भए पछि आज चीन ‘ग्लोबल इकोनोमी लीड’ गर्ने महत्वाकांक्षा लिएर अग्रसर देखिन्छ र बिश्वलाई नै बित्तीय सहयोग गर्ने स्थितिमा पुगिसकेको छ ।

एकथरी मानिसहरु लिबरल वल्र्ड अडर जारी रहने या नरहने सन्देहयुक्त प्रश्न गर्दैछन् भने तिनीहरु नै चीनको उभारलाई लिएर पनि सन्देह र चिन्ता नै गर्ने गर्दैछन् । उनीहरु चीनको बढ्दो उभारलाई चिन्ताजनक मान्दछन् र के ठान्दछन् भने चीनले आफ्नो अर्थब्यबस्थाको माध्यमले आफ्नो शासन ब्यवस्थालाई बिश्व सामु यसरी प्रस्तुत गर्दैछ कि ‘चिनीया चरित्रको समाजबाद’ आजको बिश्वमा त्यसरी नै सर्बोपयोगी भइसकेको छ जसरी १९९०को दशकमा सोभियत  समाजबादलाई ध्वस्त गरेर पश्चिमा या अमेरिकी नेतृत्वको पूँजीवाद भएको थियो । त्यतिबेला एउटा ‘इतिहासको अन्त्य’को पटकथा रणनीतिको रुपमा लेखिए लेखाइएको थियो र प्रसारित गरिएको थियो । प्रष्ट छ, यो काम अमेरिका र उसका मित्र देशहरुबाट गरिएको थियो । आज त्यस्तै एउटा पटकथा पूँजीवादका लागि चीन लेख्न खोज्दैछ । यद्यपि पूँजीवादका प्रचारक जस्तो चीनका प्रचारक देखिएका  छैनन् । पश्चिमा शक्तिको जस्तो बिबेच्य र बौद्धिक दुनियाँमा घूसपेठ पनि चीनको देखिदैन ।यसले गर्दा यो लडाईंमा चीन कत्तिको योग्य योध्दा देखिने र ठहरिने हो हेर्न बाँकी छ । यद्यपि यो कार्यमा चीलाई रुस, तुर्की, इरान आदि देशले साथ दिदै गरेको देखिन्छ तर बिजेता नै बन्ने प्रबीणता बनिसकेको कुरा बाहिर प्रकटरुपमा अझै देखापरेको छैन ।


यो अर्कै कुरा हो कि रुसले केही बर्ष अगाडिदेखि नै २१औं शताब्दीमा हिन्दमहासागरमा फिर्ता हुने घोषणा गरिसकेको छ । यस दिशामा हिजोको अटोमन साम्राज्यको मधूरो इतिहास मस्तिष्कमा रहेको तुर्की पनि अघि बढ्न चाहन्छ । सायद यही कारणले होला अदागान कमाल पाशाको सम्भ्रान्त तुर्कीलाई एउटा तानाशाह मौलबीको तुर्की बनाउन चाँहदा हुन् शायद । अनि इरानले पनि आफुलाई शिया दुनियाको इमाम घोषित गरेर फारसको खाडीमा आफ्नो प्रभुसत्ताको दाबेदारी गर्ने शायद असफल प्रयास गर्न खोजिरहेको  छ । 

यी शक्तिहरु जे भए पनि एक समय बिश्वको एउटा ठूलो हिस्सा र त्यसको लिडरसीपले अमेरिकी राजनीतिक ब्यवस्था र राजनीतिक आदर्शलाई मन पराउँदथ्यो र त्यसको अनुपालन गर्ने कोशिश पनि गर्दथ्यो । उदार र लोकतान्त्रिक दुनियाँ अमेरिकासँग अनुबन्धित या सम्बन्धित जस्तै हुन चाहन्थ्यो । तर आज यो स्थिति बिमारी भएको र रुग्ण जस्तो हुन गएको छ । त्यसैले बिकल्पकोरुपमा बिश्वमा चीन अगाडि आएको देखिदैछ । अब चीनसँग अमेरिकासँग जस्तै राष्ट्रहरु जोडिन चाहन्छन् कि चाँहदैनन् त्यो भने अझै भबिष्यकै गर्भमा छ ।

पश्चिमा शक्तिमा बिश्वास गरिरहेका तर उसको लगातार स्खलन हुँदै गरेको देखिरहेका बिश्लेषकहरु के भन्दछन् भने भलै चीनले सफल आर्थिक मोडल तयार गरेको र बिश्वको ठूलै समुदायले त्यो आर्थिक मोडल र बढ्दो आर्थिक शक्तिप्रति सम्मोहित भएको होस् तर पनि ‘चिनीया चरित्रको समाजबाद’ भने अपनाउन सक्तैनन् । यद्यपि चीनसँग आर्थिक शक्ति भएकाले पश्चिमा लोकतन्त्र र उदारबादलाई अनुपयुक्त बताउन उसले पश्चिमा शक्तिले जस्तै एउटा अर्को ‘इतिहासको अन्त्य’ को प्रचार गर्न र एउटा नबीन मोडल प्रस्तुत गर्न सक्तछ भन्ने ती पश्चिमा बिद्वत बिश्लेषकको निचोड छ ।

तर चीनको यो नबीन बिकास मोडलको इतिहालाई भने अमेरिका लगायत बिश्वका कुनै शक्तिले पनि चूनौति दिन सक्ला भन्ने कुरामा भने उनीहरु बिश्वस्त देखिदैनन् । त्यसैले बर्लिनको पर्खाल भत्किए जस्तै चीनको नयाँ पर्खाल पनि भत्किने कुरामा उनीहरु कुनै निष्कर्श निकाल्न र बिश्वस्त बन्न नसकिरहेको स्थितिबाट गुज्रिरहेको देखिन्छ । यो वास्तवमा चीन निर्बाध अघि बढ्ने बातावरण बिश्व स्तरमै बनिरहेको कुराको द्योतक पनि हो । यस्तो बेलामा कुनै भ्रामक हल्लाले केही तहल्का मच्चाएर भ्रमको पर्दा हाल्न खोजे पनि अन्ततः त्ये हटेर जाने कुरा संसारको कुनै भागमा पनि निश्चित छ । चीनमा पनि अहिले त्यही नै भएको हो ।

प्रतिक्रिया