एनएसजेएफ कैलालीलाई उपाधि

धनगढी । कैलालीको धनगढीमा भएको ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जितेको छ ।

आयोजक समेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।
मञ्चका लागि कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे। यस्तै चडेपानी ब्वाइजका राजेश चौधरीले २ गोल गरे । उपाधिसंगै मञ्चले नगद २५ हजारसहित ट्रफी र मेडल पायो भने उपविजेता चडेपानी ब्वाइज पत्रकार समूहले नगद १५ हजार नगदसहित ट्रफी र मेडलमा चित्त बुझायो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महेन्द्र बम, उत्कृष्ट खेलाडी मञ्चकै सीताराम ओझा र उत्कृष्ट किपर चडेपानी ब्वाइज पत्रकार समूहका टंक कुँवर भए ।
यसअघि शुक्रबारैै भएको सेमिफाइनलमा खेलकुद पत्रकार मञ्च कैलालीले नेपाल पत्रकार महासंघ कैलाली र चडेपानी ब्वाइजले अत्तरिया पत्रकार समूहलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

यस्तै, विजेता खेलाडीलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको संयोजक तथा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष गगन अयडीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मुख्य प्रायोजक समेत रहेको निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्त रहेका थिए ।
पन्तसंगै गौरीशंकर डेन्टर क्लिनिक सञ्चालक रतन एसके, डल्लुज फुटसलका सञ्चालक उमेशविक्रम शाह, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, महासंघका पूर्वकेन्द्रीय सदस्य दिलबहादुर छत्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको निसर्ग अस्पताल रहेको थियो भने गौरीशंकर डेन्टर क्लिनिक सहप्रायोजक रहेको थियो । प्रतियोगिता आयोजनामा एसपीए कलेज, मायामेटे अस्पताल, संजिवनी अस्पताल, ज्योती आयल स्टोर, रिया स्पोर्टस हाउस, मिश्र जनरल स्टोर, सिंह जनरल स्टोर, नेपाल वेस्टर्न कलेज, रुसलान, डल्लुज फुटसल लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया